काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले महिला तथा बालिकाउपर हुने हिंसाविरुद्ध शून्य सहनशीलता अनपाइ त्यस्ता गतिविधिमा संलग्न तत्वलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जनताको भरोसा र विश्वास बोकेको सदस्यबाट नै कानून उल्लंघन हुनु क्षम्य नभएकाले बिना हिचकिचावट त्यस्ता व्यक्तिमाथि कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
‘आर्थिक अनियमितता, महिला तथा बालबालिकाउपर हुने हिंसाविरुद्धको हरेक क्रियाकलापविरुद्ध शून्य सहनशीलता अपनाइ आपराधिक तत्व निस्तेज पार्न डटेर लाग्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन गर्न चाहन्छु’, ६४ औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले भने, ‘जनताको भरोसा र विश्वास बोकेको कानून कार्यान्वयन गर्ने संगठनको सदस्यबाट नै कानून उल्लंघन भएको र आर्थिक अनियमितता गरेको कार्य कदापि क्षम्य हुँदैन । त्यस्तालाई कारवाही गर्न हुनै हिच्किचावट हुनेछैन ।’
प्रतिक्रिया दिनुहोस