काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाईराख्नुपर्ने चुनौती थपिएको बताएका छन् ।
हालै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै उनले भ्रमणको सफलता सँगै खतरा पनि बढेको बताएका हुन् । सञ्चार केन्द्र नेपालले शनिबार राजधानीमा भएको अन्तरक्रियालाई सम्बोधन गर्दे उनले सबै ठूला राष्ट्रका आआफ्ना किसिमका स्वार्थ हुने भएकाले ती स्वार्थ पूरा गर्ने माध्यम बन्नबाट आफूलाई जोगाईराख्नु मुख्य चुनौती भएको बताए ।
नेपालले पञ्चशिलको सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसँगको सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, “धेरै माया गर्यो भने खत्रै हुन्छ जस्तो । किन भने सबका आफ्ना आफ्ना हितहरु हुन्छन् । हरेक ठूला राष्ट्रहरुका आफ्ना स्वार्थ हुन सक्दछन् । नेपाल यी सबै चिजबाट जोगिनुपर्छ । नेपालको स्वतन्त्रता, स्वभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कामय हुनुपर्छ ।”
प्रतिक्रिया दिनुहोस