१९ पुस, मनाङ । मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात भएको छ । हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानीको अभाव सिर्जना भएको छ ।
पहिलोपटकको हिउँ पग्लन नपाउँदै पुनः हिमपात पर्नाले कर्मचारी, सर्वसाधारण र पर्यटकले सास्ती झेल्नुपरेको हो । बुधबार बेलुकीदेखि शुरु भएको हिमपात केही समय परेर रोकिए पनि बिहीबार बिहान ७ बजेदेखि पुनः शुरु भएको र बेलुकी १० बजेसम्म बाक्लो हिमपातले जनजीवन कष्टकर बनेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध भएको छ भने खानेपानीको समेत अभाव भएको छ । सडकभरि दुई/तीन फिट हिउँ जमेको छ, पानीको मुहान जमेको छ, बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन, उनले भने, ‘अत्यधिक चिसो छ, यहाँको तापक्रम माइनस १२ पुगेको छ हिटर र दाउरा बालेर बस्न बध्य भएका छौँ ।’
प्रतिक्रिया दिनुहोस