रुपन्देही, कपिलवस्तु, बाँके — भारतका विभिन्न सहरबाट प्रदेश ५ का सीमावर्ती जिल्लाका दशगजामा आएर अलपत्र नेपालीलाई यहाँका स्थानीय तहले क्वारेन्टाइन स्थल निर्माण गरेर भित्र्याउन थालेका छन् । रूपन्देहीले भारतमा १४ दिन क्वारेन्टाइन अवधि पूरा गरेकालाई बुधबारबाट ल्याउन थालेको छ । यहाँ ल्याएर विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा राखेर उनीहरूमा कोरोना भए/नभएको पीसीआर परीक्षण गरिने प्रशासनले जनाएको छ ।
भारतको नौतनवास्थित क्वारेन्टाइनमा २१ दिन बसेका ५ सय १० जनालाई बुधबार साँझ स्वदेश ल्याइएको हो । बुधबारै जिल्ला प्रशासन रूपन्देहीमा बसेको बैठकले सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकामा व्यवस्थापन गर्ने गरी पहिलो चरणमा पाँच सयभन्दा बढीलाई भित्र्याउने निर्णय गरेको थियो । उक्त समूहमा विभिन्न जिल्लाका बासिन्दा छन् । भारतका विभिन्न सहरबाट सीमा क्षेत्रमा आउने बढ्दै गएकाले एकैपटक सबैलाई ल्याउन समस्या भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । ‘सीमा आएका सबै क्वारेन्टाइनमा नबसेकाले जोखिम छ,’ उनले भने, ‘कसरी ल्याउने ? छलफल गरेर ल्याउनेछौं ।’ कहिले कति जनाको उद्धार गर्ने भन्ने निश्चित नभइसकेको उनले बताए । कोरोना संक्रमितको संख्या जिल्लामा पनि वृद्धि भइरहेको छ । त्यसैले राम्रो व्यवस्थापन गरेरमात्रै उद्धार गरिने पन्थले बताए ।
बुधबार ल्याइएका सबैलाई तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकामा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको छ । तिलोत्तमाले २ सय ३३ जनालाई ल्याएको छ । उनीहरूलाई तिलोत्तमा–१५ को मधवलीया मावि र शंकरनगरको दुर्गादत्त मावि क्वारेन्टाइनमा राखिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए । उनले भने, ‘मधवलीयाको क्वारेन्टाइनमा झन्डै १ सय ८० जनालाई राख्न मिल्छ ।’ सबैको पीसीआर परीक्षण नगरुन्जेल यहाँ राखिने र रिपोर्टका आधारमा सम्बन्धित जिल्ला पठाइने उनले जनाए । भारतीय सरकारले रेल सेवा सुरु गरेपछि सीमासम्म आएर धेरै जना अलपत्र परेका छन् । ‘धेरै छलफलपछि ल्याउन सफल भयौं,’ उनले भने । सीमाबाट लुकीछिपी आएका व्यक्तिमा कोरोना देखापरेकाले क्वारेन्टाइनमा बसेर १४ दिन कटाएकालाई पहिलो लटमा ल्याएको उनले बताए ।
सिद्धार्थनगरका नगर प्रमुख हरिप्रसाद अधिकारीले भैरहवाको प्रतिमान निमा स्मृति अध्ययन प्रतिष्ठान र शैक्षिक तालिम केन्द्रमा क्वारेन्टाइनमा २ सय ७७ जना जना राखिएको बताएका छन् । प्रवासी नेपाली राख्नका लागि लीलाराम उमावि र भैरहवा उमाविलाई क्वारेन्टाइनस्थल बनाइएको छ । ‘हामीले २ सय ७७ जना राख्न नगरभित्रका दुई विद्यालयमा क्वारेन्टाइनस्थल तयार गरेका छौं,’ उनले भने, ‘भारतमा नेपाली अलपत्र पर्दा सहयोग गर्नु हाम्रो दायित्व हो ।’ सीमावर्ती भारतको नौतनवाको क्वारेन्टाइनमा अवधि पूरा गरेर पनि स्वदेश आउन नपाएपछि उनीहरूले केही दिनदेखि उद्धारका लागि दबाब दिँदै आएका थिए । भारतीय प्रशासनले उनीहरूलाई लैजान बारम्बार आग्रह गरिरहेको थियो । त्यसपछि प्रशासनले स्वदेश ल्याएर कोरोना परीक्षण गर्ने योजना बनाइएको थियो । पीसीआर परीक्षणका लागि प्रशासनले केन्द्रबाट आवश्यकताअनुरूपको किट माग गरेको छ । नौतनवामा क्वारेन्टाइन अवधि पूरा गरेका नेपालीको संख्या ९ सय हाराहारीमा छ । यसबाहेक १ हजारभन्दा धेरै जम्मा भइसकेका छन् । १ हजार जनालाई ल्याएर व्यवस्थापन गर्न प्रशासनले जिल्लाका १६ स्थानीय तहलाई थप २ सय जना अट्ने क्षमताको क्वारेन्टाइन निर्माण गर्न लगाएको थियो ।
कपिलवस्तुको दशगजा क्षेत्रमा आएर अलपत्र धेरैले लामो समय खुला आकाशमुनि रात बिताएका थिए । एक सातायता हुरी र पानीले चुट्न थालेपछि सीमावर्ती स्थानीय तहले आफ्नो क्षेत्रमा ल्याउँदै विद्यालय र सामुदायिक भवनमा राखेका छन् । एकैपटक धेरै जना आउन थालेपछि स्थानीय तहलाई व्यवस्थापनमा समस्या भइरहेको छ । एउटै क्वारेन्टाइनमा पाँच सय जनाभन्दा बढी छन् । गाउँपालिकाले खाना व्यवस्थापन गर्न नसकेपछि केही स्थानमा घरबाटै पुर्याउन थालिएको छ । कपिलवस्तुमा बुधबारसम्म ३० संक्रमित पुगेका छन् । तीनमा अधिकांश यसरी सीमाबाट लुकीछिपी आएर क्वारेन्टाइनमा बसेका हुन् । रोजगारीका लागि भारतका विभिन्न सहरमा गएकाहरू दशगजामा आएर रोकिएका थिए । गत वैशाख २१ गतेदेखि उनीहरूले मुलुक प्रवेश गर्न पाएका थिएनन् । लकडाउनका कारण भारतबाट दु:खकष्ट सहँदै आएकाहरू अलपत्र परेका थिए । सरकारले सीमामा आवागमन पूर्ण रूपमा रोक लगाएपछि रोकिएका थिए । दशगजास्थित मसानघाट, खोला छेउछाउमा कष्टकर दिनरात बिताएका थिए । झाडी र बुट्यानमा रुमाल, तन्ना बिछ्याएर भोकभोकै बसेका थिए ।
प्रतिक्रिया दिनुहोस