२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

प्रधानमन्त्रीले विज्ञको सुझाव नमान्दा कोरोना नियन्त्रण भएन -गगन


२५०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गरेको खर्चको हिसाब मागेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय माग गरेर कांग्रेसले सरकार कोरोना रोकथाममा असफल भइसकेको र भ्रष्टाचारमा लिप्त भएको बताएको हो ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबारको बैठकमा ९ अर्ब ८७ करोड कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा खर्च भएको बताएका थिए । सांसद गगन थापाले थापाले भने, ‘१० अर्ब खर्चको हिसाब चाहिन्छ । ५ पीसीआर मेसिन र २५ हजार पीसीआर किट किनेर १० अर्बको हिसाबकिताब देखाउनुपर्दैन ?’ मन्त्रालयमा भएको अनियमितता एउटा कर्मचारीलाई सरुवा गरेर उन्मुक्ति संसदले दिन नसक्ने थापाको भनाइ थियो ।

    सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद, अदालत, नागरिक, विज्ञका कुरा नसुनेकाले कोरोना भाइरसले महामारीको रूप लिन लागेको बताए । थापाले भने, ‘सरकारले संसदमा छलफल भएको सार्वजनिक महत्त्वको प्रस्ताव र सांसदले दिएका सुझाव, संसद, अदलत, प्रेस, नागरिक कसैका कुरा सुनेन । यो सबै नसुन्दा आजको अवस्था आएको छ । सरकारलाई काम गर्न अदनाल, संसद, नागरिक, प्रेस कसले रोकेको हो ? कसैले रोकेको होइन, प्रधानमन्त्री ओलीको अकर्मण्यताले रोकेको हो ।’

    पीसीआर परीक्षणको दायरा बढाउन भनेर सर्वोच्च अदालतले दिएको आदेशको अवज्ञा गर्दै सरकारले पीसीआर परीक्षण न्यून गर्ने भनेर गरेको निर्णयको कांग्रेसले आलोचना गरेको छ । सांसद थापाले भने, ‘परीक्षण गर्न गरिदिने अनि नेपाललाई कोरोनामुक्त भन्दिने ।’

    संसदीय समितिहरू र सर्वोच्च अदालत, विज्ञहरूले आरडीटी विधिबाट परीक्षण कम गर्न भनेको अवस्थामा पनि स्वास्थ्य मन्त्रालयले त्यसलाई अटेरी गरेकोमा पनि कांग्रेसले जवाफ मागेको छ । ‘आरडीटी परीक्षण विश्वससनीय छैन भनेर विज्ञ र मन्त्रालयका अधिकारीले भन्दा पनि र नेपालको संक्रमणको अवस्थालाई थेग्दैन भन्दा पनि जबर्जस्ती आरडीटी परीक्षण गर्ने अपराधको जिम्मा कसले लिने ?,’ थापाले भने ।

    त्यस्तै, कोरोना संक्रमणबाट मृत्यु भएकाको परीक्षण नगर्ने भनेर गरिएको निर्णय किन गरियो भनेर पनि कांग्रेसले जवाफ मागेको छ । विदेशमा अप्ठ्यारोमा परेका नागरिक उद्दार गर्ने भनिएपनि अहिले कुन एयरलाइन्सबाट ल्याउने भन्ने विवादमा सरकार अल्मलिएकोमा कांग्रेसले आलोचना गरेको छ ।

    सांसद थापाले सरकारले अर्थतन्त्रलाई अगाडि बढाउन कदम नचालेको बताउँदै भने, ‘कृषक, मजदुर, साना र ठूला उद्योगीले प्रधानमन्त्रीको गीतबाट राहत पाउँदैनन् ।’ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिलाई संसदले नचिन्ने र संसदमा चिनाउनका लागि पनि थापाले माग गरेका छन् । पोखरेलले संसदमा आएर जवाफ दिनुपर्ने थापाको भनाइ थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार