प्रल्हाद शर्मा हुमागाई
काभ्रे । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण खानाको अभावमा छटपटाइ रहेका छाडा कुकुरलाई बनेपाका युवा रोहित श्रेष्ठ, सर्वश्री अधिकारी र उनका साथीहरूले खाना र पानी खुवाउँदै आएका छन् । उनीहरुले हरेक दिन बनेपाका विभिन्न ठाउँमा पुगेर छाडा कुकुरलाई बिस्कुट, पाउरोटी, केकलगायतका खाना र पानी दैनिकरूपमा खुवाउँदै आएका छन ।
बजार क्षेत्रमा भेटेका जतिलाई खुवाउने र नभेटेकालाई पछि खान मिल्ने गरी भाँडामा हालेर बिजुली र अन्य खम्बामा बाँधेर राख्ने व्यवस्था मिलाएका छन् । बनेपाको पुलबजारदेखि बुडोलसम्म र पनौतीको ढलमले सम्मका बजारक्षेत्रमा रहेका कुकुर, गाईलगायतका पशु चौपायलाई बनेपा नगरपालिका–८ का सर्वश्री अधिकारी र रोहित श्रेष्ठले खाना र पानीलगायतको व्यवस्था गर्दै आएका छन ।
घर, पसल र होटल बन्द भएपछि छाडा रहेका ती पशु चौपायले खाना र पानीसमेत नपाउने अवस्था देखेपछि खाना र पानीको व्यवस्था गर्दै आएको कुकुरको उपचारमा संलग्न हुँदै आएका बनेपाका युवा रोहित श्रेष्ठले बताए ।
त्यससँगै सडकपेटीमा बेवारिसे अवस्थामा रहेका मान्छेलाई समेत खानाको व्यवस्था गर्दै आइरहेको सर्वश्री अधिकारीले बताए । उनले अगाडि भने—आफ्नो ज्यानको कसलाई पो माया नहोला र ? त्यो पनि यस्तो महामारीको बेलामा । तर यी भोक र प्यासले छट्पटिएका सडकमा आश्रित मानव तथा पशुपक्षीलाई पनि त केही गर्नुपर्यो नि होइन त ? उनले भने, “प्रशासनसित अनुमति लिएर हामी सुरक्षित भएर बजारका विभिन्न ठाउँमा पुगेर यस्तो काम गर्दै आइरहेका छौँ ।” बनेपामा अहिले त धेरै मानिसले पनि पशुपक्षीलाई दानापानी दिन थालेको उल्लेख गर्दै उनले हरुले पनि यसको सिको गर्दै अगाडि बढ्न आग्रह गरे । त्यसका लागि बनेपाको बाहिरी र भित्री सडक छेउमा रहेको खम्बामा करिब ८० ठाउँमा त्यसरी भाँडा झुण्ड्याएर राखिएको छ । ती ठाउँमा बेकरीले बचेको पिठो बनाएर दिइरहेका छन् ।
त्यसरी काम गरेर हिँड्दा परिवारले जोखिम मोलेर काम नगर्न आग्रह गरिरहे पनि छाडा पशुले पनि जिउन पाउने अधिकारलाई सुनिश्चित गर्न मैले निरन्तर सहयोग गर्दै आएको उनले बताए । अधिकारीका अनुसार लकडाउन खुकुलो भएकोले अब हामी यसरी खुवाउदै हिड्नु परेन किन कि बनेपाको धेरै पसलहरु खुलेका रहेछन् र धेरैले अब हामीले पसल खोल्यौ तपाईंहरुले पिर नगर्नु हामीले दिन्छौ खानेकुराहरु भन्नूभयो । त्यही भएकोले अब हामी भोलिदेखि खाना खुवाउन हिड्ने छैनौं तर फेरि लकडाउन भयो भने अबश्य हिड्ने छौ ।
यतिखेर हाम्रो लागि मात्रै सोचिरहेका छौँ । त्यसो हो भने सडकमा हाम्रो भरपरेर हिड्ने जनावरको हालत के होला रोहित श्रेष्ठ र सर्वश्री अधिकारीको अभियानमा साथ दिंदै आएका जलजला सुवालले अगाडि भनिन् । यो लकडाउनका बेला सडकका कुकुरहरु के खाएर बाँचेका होलान् यो बारेमा बिरलैले सोचेका होलान् । यो अभियानमा जलजला सुवाल, रोहन पलाञ्चोके, सन्ध्या महत, सिजन मानन्धर, निश्चल हमाल ठकुरी, सुशील मानन्धर, रुपेश प्रधान, सुसन प्रधान, सुविन तामाङ, सृष्टि श्रेष्ठ र सुजन भण्डारीले साथ दिंदै आएका छन् ।
उनीहरुले पिपिइ, ग्लोब्स, मास्क र स्यानिटाइजर प्रयोग गरेर करिब तीन महिना यता सडकका विभिन्न ठाउँ र खम्बामा भाँडासमेत झुण्ड्याएर अरुलाई पनि अभियानमा साथ दिन प्रेरित गर्दै आएका छन । बाईक, गाडीले हानेर अकालमा ज्यान गुमाउन नपरोस् भनेर उनीहरुले बनेपामा १०० बटा सडक कुकुरहरुलाई पहेलो रंगका पेटी घाँटीमा लगाईदिएका छौ । रोहित आफै पनि पेट केयरको काममा भयकाले बिरामी र घाइते कुकुरहरूको उपचार समेत गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस