काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउनै मुस्किल हुनेछ । संक्रमितको बढ्दो संख्यालाई लिएर चिकित्सकले पर्याप्त सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।
हाल काठमाडौं उपत्यकाभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, वीर अस्पताल, स्टार अस्पताल र त्रिवि शिक्षण अस्पतालमा संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १५ जना संक्रमित आइसियूमा उपचाररत छन् ।
सरकारले लक्षणविहीन संक्रमितलाई होम आइसोलेसनमा बस्न सकिने बताएको थियो । तर, अब बिस्तारै दैनिक लक्षण देखिएपछि बिरामीहरु अस्पताल पुग्ने गरेको र कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि हुने गरेको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस