भकुण्डे–कोरोना महामारीका कारण समस्यामा परेका काभ्रेको नमोबुद्ध नगरपालिकाका विपन्न परिवारलाई राहत वितरण गरिएको छ । समाजसेवी वाङचुक राप्तेन लामाको समन्वयमा एलिभेट नेपालको सहयोगमा प्राप्त राहत नमोबुद्ध नगरपालिकाले नगरका सबै वडाका विपन्न परिवारलाई वितरण गर्न सुरु गरेको हो ।
शुक्रबार पहिलो चरणमा नगरपालिकाका वडा नंवर १, २, ४, ७ र ११ का विपन्न परिवारलाई राहत वितरण गरिएको छ । राहत प्याकेजमा प्रति परिवार २५ किलो चामल, ५ किलो दाल, ५ प्याकेट तेल तथा २ प्याकेट नुन रहेको छ । नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकामा औपचारिकरुपमा राहत वितरणको सुरुवात गर्नुभएको थियो । कोभिड संक्रमणको समस्यालाई ध्यानमा राख्दै सम्वन्धीत वडाबाटै राहत वितरण गर्ने व्यवस्था मिलाइएको थियो । बाँकी वडाका विपन्न परिवारलाई केही दिनभित्रै अर्को चरणमा राहत वितरण गर्ने नगरपालिकाले जनाएको छ ।
लामो समयदेखि नमोबुद्धमा स्वास्थ्य सेवामा समर्पित वाङचु्क राप्तेन लामाले कोभिड १९ को महामारीका कारण काम नपाएर समस्यामा परेका विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले राहतका लागि समन्वय गरेको बताउनुभयो । यसअघि पनि लामाले नमोबुद्ध नगरपालिकामा पिपिई सेट, स्यानिटाइजर र मास्क सहयोग गर्नुभएको थियो । आगामी दिनमा पनि नगरपालिकाका विपन्न वर्गलाई सहयोग गर्ने लामाले बताउनुभयो । राहत वितरण कार्यक्रममा वडा नंवर १ का अध्यक्ष कर्म ग्याल्बो लामा, २ का अध्यक्ष सन्जीव ढकाल लगायतले सहयोगी दाताप्रति अभार प्रकट गरेका गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस