विष्णु आभूषण
कुनै काम परेकोले त्यो दिन म उच्च रमणीय लेकाली बस्तीमा पुगेर आफ्नो गाउँ फर्किने क्रममा थिएँ । पुरानो शैलीका पातला सुन्दर घरहरू, अलि माथि घना जंगल, बीचबीचमा रहरलाग्दा घाँसे चौर, चौरमा बुट्टा आकारका लेकाली सुन्दर भुईफूलहरू र सफा मौसममा मन एकतमासको भैरहेको थियो । एकाएक कुनै परिचित आवाजले मलाई आहट गरयो । आवाज आएतिर मैले दृष्टिगोचर दिएँ—हो रहेछ, मैले चिनेको एकजना मित्र म भएतिर आउँदै थिए ।
त्यो गाउँको सम्मानित व्यक्तित्वमा गनिन्छन् उनी । पेशा शिक्षक हो उनको । राजनैतिक चिन्तन उनको शोख हो । धेरैदिनपछिको हाम्रो भेटले सम्भवतः हामी दुवैलाई आल्हादित बनायो । नजिकै उनको घर छ भन्ने मलाई थाहा छ । उनको आग्रहमा म उनको पछि लागेँ । झन्डै १० मिनेटको पैदल यात्रापछि हामी उनको गाउँको आकर्षक घरमा थियौँ । सरसफाइमा मनग्गे ध्यान पु¥याइएको आभाष मिल्थ्यो । ढुंगामाटोबाट बनाइएको घर भए पनि बसौंबसौं लाग्ने वातावरण र बनौट थियो । घरभित्र उनले आहट दिँदै आफैले फलाएको आलु उसिन्न लगाए र आफू कुराको चुरो तान्न थाले । हरियो दूबोलाई कलात्मक ढंगले सजाएर गलैचा रूप दिइएको आँगनमा आमनेसामुन्ने प्लास्टिकको कुर्सीमा बसेर हामी विगत र वर्तमानको व्यक्तिगत एवं राजनैतिक विषयहरूमा रमाउन थाल्यौँ । उनले वर्तमान राजनैतिक अवस्थाप्रति पातलो असन्तुष्टि पोखिहाले—‘दाइ, देशमा ठूलो राजनैतिक परिवर्तन त भयो । तीनवटा सरकार पायौँ । तर मुलुकमा भनेजस्तो विकासचाहिँ हुन सकेन ।’
उनको संकेत हुनसक्थ्यो, बस्तीमा गरीबीले जकडिएको गाउँलेको दारुण अवस्था, गाउँमा डोजरले खनिएको सडक वर्खामा हिलाम्मे भएर पैदल यात्रुले भोग्नु परिरहेको सकस, काठको पोलमा तार टाँगेर विद्युत् लाइन पुगे पनि छिनछिनमा हावाहुरीले पोल ढालेर विद्युत् अवरुद्धता भोगिरहनु परेको नैरन्तरको दुर्दशा यस्तै अनगिन्ती समस्याहरूप्रति उनको संकेत हुनसक्थ्यो । मैले पनि उनका असन्तुष्टिको चित्तबुझ्ने जवाफ आफैभित्र भेटिरहेको थिइनँ । तर, उनले कुरो अर्कैतिर मोडिहाले, ‘अनि दाइ, आजकाल के गर्दै हुनुहुन्छ नि ?
सामान्य दिनचर्या बिताइरहेको, कोरोना संक्रमणका कारण धेरै हिँडडुल गर्न सम्भव नभएको तर आज विशेष काम परिदिएकोले अलि माथि लेकाली गाउँ पुगेर फर्किदै गरेको बताएँ । यतिखेरसम्म दुईवटा थालीमा पोटिलापोटिला आलु र कचौरामा सिलटिमुर मिसाएर बनाएको नूनखोर्सानीको वास्नादार अचार आइपुग्यो । भोकले आन्द्रा बटारिन लागेको रै’छ । तातो बाफ छाड्दै गरेको आलु र सिलटिमुरको वास्नामिश्रित अचार देखेर यस्तो महसुस भयो । नजिकै कलधाराको पानीले हात पखालेर कुर्सीमा पुनः आसन जमाउँदै आलुको बोक्रा उप्काउन थालिहालेँ । उनले पनि मभन्दा छिटो बोक्रा उप्काइएको आलु अचारमा चोबेर मुखमा हालिसकेका थिए । दूध हालेको ठूलो काँचको ग्लासमा तातो चिया पनि आइसकेको थियो । चियाको चुस्कीसंगै तातो आलुको स्वाद निकै अविस्मरणीय क्षण थियो त्यो ।
मित्रले कुरा अगाडि बढाए, ‘देशमा जताततै भ्रष्टाचार मौलायो दाइ । यसरी दिनदहाडै भ्रष्टाचार गर्ने जोसुकै होस्, मृत्युदण्डको कानूनी व्यवस्था हुनुपर्छ । सडकमा भ्रष्टाचार, शिक्षामा भ्रष्टाचार, स्वास्थ्यमा भ्रष्टाचार अनि विकास कसरी सम्भव छ ?
लेकाली ताजा हावापानीका कारण उनको रक्तरन्जित पुष्ट चेहरामा यस्ता विषयवस्तुको उठानसँगै गालाबाट अहिले नै रातो रगत चुहिएला जस्तो देखिन्थ्यो । आफू पनि सामान्य राजनैतिककर्मी हुनुको नाताले उनको त्यो भनाइले मनभित्र नजानिदो पीडा दिइरहेजस्तो लाग्यो ।
मैले उनलाई सान्त्वना दिने चेष्टामा बिस्तारै बोल्न थालेँ—‘सरको भनाइप्रति मेरो असहमति छैन । तर के गर्ने हाम्रो समाजको मानसिक धरातललाई पनि बिर्सिनु हुन्न । हामी सकारात्मकभन्दा नकारात्मक कुराहरूप्रति बढी आखा पु¥याउछौं । यसो त विकास भनेको कुनै जादुको छडी घुमाएजस्तो पनि त होइन नि । धिमा गतिमै भए पनि हाम्रा बाबुबाजेका पालामा भन्दा कैयौ गुना भौतिक पूर्वाधारहरू हामीले पाएका छौँ, सेवासुविधाहरू भोग्न पाएका छौं । यति हुँदाहुँदैै पनि जुन गतिमा विकास जनताले खोजेका हुन त्यो भने सम्भव भएको छैन । यसका लागि देश र जनताप्रति सबै राजनैतिककर्मीहरू इमानदार र नैतिकवान् हुनु जरुरी छ । मुलुकमा भइरहेको विकृतिविसंगति निर्मूल गर्न राजनीति नै सङ्लो र सरकारको गतिविधि पनि पारदर्शी हुनुपर्छ । मुलुकको समृद्धिमा व्यक्तिको उन्नति खोजिनुपर्छ । म पनि तपाईसँग सहमत छु सर । भ्रष्टाचारको समूल जालो ताडिनुपर्छ । राज्यको स्रोतसाधन राजनैतिक स्वार्थका लागि दुरुपयोग हुन दिनुहुन्न । यसका लागि जनता नै सचेत हुनु जरुरी छ । जनता निरीह र लाचार हुनुहुन्न, भोटबैंकका रूपमा आफूलाई सीमित गराउनुहुन्न ।’
कुराको गहिराइमा मभित्र थपिएको आवेगसंगै थालीभरिको आलुको संख्या निकै छिटो घट्दै गएको हामीले थाहै पाएनौँ । उनी मतिर एकोहोरो हेर्दै आलु र अचार मुखमा हालिरहका थिए । छरपष्ट विषयवस्तुमाथि भावनात्मक संवेगमा बग्दै केही क्षण यसरी नै हामी आलोपालो आआफ्ना कुराहरू पस्किरह्यौं ।
दिन निकै घर्किसकेको थियो । त्यहाँबाट फर्केर आफ्नो गाउँ आइपुग्न मैले अलि तल मध्यपहाडी लोकमार्ग भेट्नुपरथ्यो । जहाँबाट छिटपुट रूपमा साना सवारीसाधानहरू स्थानीय यात्रुहरूलाई लिएर सदरमुकाम आउनेजाने गरिरहन्थेँ । सदरमुकामबाट आधा घन्टा हिंडेर म आफ्नो घर पुग्न सक्छु । कुनै विषयवस्तुको निष्कर्षमा नपुग्दै हामीबीच भैरहेको कुराकानीलाई छोट्याउने संकेत गर्दै नाडीमा बाँधिएको घडी हेरेँ । उनले भने, ‘दाइ, आज यतै बसौँ न । अझ धेरै गफिनु मन छ हजुरसँग ।’
मैले भने, ‘धीतमर्ने गरी गफिन फेरि आउनेछु सर । आजलाई विदा पाऊँ ।’
उनले अप्ठेरो मान्दै निकै भावुकताका साथ नितान्त निजी कुरो पोखेर अन्ततः मलाई बिदाइ गरे—‘ के गर्ने दाइ , राजनीतिमा हजुरले धेरै दुःख गर्नुभयो, हण्डर खेप्नुभयो । पद पाउँदा पनि व्यवस्थापनमा ध्यान दिनुभएन । अहिलेको राजनीति चर्को छ । कसरी धान्न सक्नुहुन्छ । अगाडिपछाडिका साथीहरूले त्यही पदमा पुगेर राम्रो प्रगति गरे । होइन हौ दाइ मौका पर्दा सोझो भएर होइन, केही त गर्नै पर्दो रहेछ ।’
उनको पछिल्लो अभिव्यक्ति सुनेर म सर्लङ्ग भएँ , मानौ, मैले टेकेको धरातल दुई फिट तल भासिएको हो । केहीछिनअघि गरिएको राजनैतिक विश्लेषण र जनता तथा राष्ट्रप्रतिको उनको चिन्ता अनि अहिलेको यो अभिव्यक्ति सुनेर साँच्चि नै मैले टेकेको धरातल हल्लिएको हो कि जस्तो लाग्यो । उनीसँग छुटेर घर नपुगेसम्म मेरो मस्तिष्कमा यही प्रश्नले घर गरिरह्यो, ‘हामीले टेकेको मानसिक धरातलमा उभिएर देशमा पन्पिरहेको विकृति ÷विसंगतिका विरुद्धमा के हामी साँच्चि नै लड्न सकौँला रु लडेर विजयी बन्न सकौँला ।’
प्रतिक्रिया दिनुहोस