१ कात्तिक, धुलिखेल । काभ्रेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पाँचखाल नगरपालिका घर भई बनेपा बस्दै आउनुभएका ७३ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार राति धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
दमको समस्याबाट पीडित उनलाई मङ्गलबार अस्पताल भर्ना गरिएको थियो ।यसैगरी कोरोना सङ्क्रमणबाट गत बिहीबार बनेपाका ७० र ५० वर्षीय दुई पुरुषको मृत्यु भएको थियो । दुवै जना मधुमेहका रोगी थिए । ५० वर्षीय पुरुष विगत एक महिनादेखि अस्पतालमा उपचाररत रहेको थियो भने ७० वर्षीय पुरुषको डायलासिसअघि कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा मृत्यु भएको हो ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टका अनुसार ५० वर्षीय मृतकका भाइको पनि १० दिनअघि कोरोना सङ्क्रमणबाट नै मृत्यु भएको थियो । यस्तै, बेथानचोक गाउँपालिकाका ७५ वर्षीय कोरोना सङ्क्रमित एक वृद्धाको उपचारको क्रममा गत बुधबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको थियो ।
अहिलेसम्म कोरोना सङ्क्रमणबाट काभेमा १३ जनाको मृत्यु भइसकेको छ, जसमध्ये आठ पुरुष र पाँच महिला छन् ।
प्रतिक्रिया दिनुहोस