काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।
पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार पाँचौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ५४ हजार ५३१ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।
यसअघि (आइतबार ) वैशाख १२ मा भारतमा दोस्रो धेरै ३ लाख ४९ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ७३ लाख ६ हजार ३०० पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ४२ लाख ९६ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख १४ हजार ५४४ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ९५ हजार ११६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ८०६ जनाको मृत्यु भएको छ ।
दिल्लीमा मात्रै ३५० को मृत्यु
भारतको राजधानी नयाँ दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ३५० जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप २२ हजार ९१३ जनामा नयाँ संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । संक्रमण बढेपछि दिल्लीमा लकडाउन लम्ब्याइएको छ ।
भारतको राजधानी दिल्लीमा भरिएका अस्पतालहरूले बिरामी फर्काउँन थालेका छन् । सङ्क्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ ।
आउँदो मे १ तारिखसम्मका लागि लकडाउन घोषणा गरिएको हो । संक्रमणमा दैनिक नयाँ रेकर्ड हुँदै गएको भारतमा केरला, उत्तर प्रदेश, दिल्ली, गुजरातलगायत राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् ।
अमेरिकासहितका मुलुकबाट स्वास्थ्य सामग्री सहयोग
कोरोना भाइरसको महामारीबाट अतिप्रभावित भएको भारतलाई विश्वका विभिन्न मुलुकहरूले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
भारतमा आस्ट्राजेनेका खोप निर्माणमा आवश्यक पर्ने कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले हटाइदिएको छ।
बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको छ । बेलायतले ४९५ अक्सिजन कन्सन्ट्रेटर उपकरण ( जसले हावाबाट अक्सिजन तान्नसक्छ) तथा १२० नन इन्भेजिभ भेन्टिलेटर तथा २० म्यानुअल भेन्टिलेटर पठाउँदै छ। युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि सहयोग पठाउँन थालेको छ ।
फ्रान्सले भारतमा अक्सिजन आपूर्ति गर्ने बताएको छ भने युरोपेली युनियनले पनि अक्सिजन तथा औषधि पठाउने बताएको छ । भारतसँग तनावपूर्ण सम्बन्ध रहेको पाकिस्तानले पनि सहयोग गर्न सक्ने बताएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको अवस्था चाँडै सुध्रियोस् भनेर प्रार्थना गरेको जनाएका छन् ।
भारत सरकारले अक्सिजन उत्पादनमा बढोत्तरी गर्न देशभरि ५०० वटा कारखाना खोल्न अनुमति दिएको बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस