२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

कोभिड–१९ सँग जुध्न नमोबुद्ध र रोशीको संयुक्त प्रयास, संयुक्तरुपमा आइसोलेसन केन्द्र चलाइने


३११६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २०, सोमबार मा प्रकाशित ३ साल अघि
  • भकुण्डेबेशी–महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध जुध्न नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्त प्रयास सुरु गरेका छन् ।
    दुबै पालिकाबीच सहकार्यमा आइसोलेसन सञ्चालनको सहमति भएको छ । आज भएको छलफलपछि अब नमोबुद्ध नगरपालिकाले आइसोलेसन स्थापना गरेको जनक क्याम्पसमा रोशी गाउँपालिकासँगको सहकार्यमा आइसोलेसन कक्ष विस्तार गरिनेछ । दुबै पालिकाबीच अक्सिजन र पूर्वाधार एवं सुविधाको व्यवस्थासहित ४० शैयाको आइसोलेसन सञ्चालन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । यसअघि नमोबुद्ध नगरपालिकाले अक्सिजनसहित २५ शैयाको आइसोलेसन स्थापना गरेको थियो ।
    अब दुबै पालिका मिलेर ४० शैयाको आइसोलेसन बनाउनेछन् र आइसोलेसन आवश्यक पर्ने दुबै पालिकाका कोभिड–१९ का बिरामी उक्त आइसोलेसन केन्द्रमा राखिनेछ । सम्झौतापत्रमा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले हस्ताक्षर गरेका छन् । दुबै पालिकामा रहेका सीमित जनशक्तिलाई संयुक्त र एकीकृत ढंगबाट परिचालन गर्दै कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउन र आइसोलेसनमा बस्नुपर्ने बिरामीको सेवा थप प्रभावकारी बनाउन दुई पालिकाबीच सहमति गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए ।
    सहमतिअनुसार आइसोलेसनमा दुबै पालिकाबाट एक एक जना चिकित्सक आलोपालो हुनेगरी खटिनेछन् भने कोभिड १९ का बिरामीको संख्याको आधारमा दुबै पालिकाबाट स्वास्थ्यकर्मी खटाइनेछ । यस्तै आवश्यक भौतिक पूर्वाधार जस्तै शौचालय, स्वाब संकलन बुथ, स्थान गृह÷हात धुने स्थल लगायतको अस्थायी रुपमा निर्माण गर्न प्राविधिक लागत अनुमान तयार गरी दुबै पालिकाले आधा–आधा खर्च व्यहोर्ने गरी निर्माण गर्ने, आईसोलेसन सेन्टरको वरपरको सरसफाईको लागि एक जना सरसफाईकर्मीको व्यवस्था गर्ने रसरसफाईकर्मीको न्यूनतम पारिश्रमिक दुबै पालिकाबाट आधा/आधा व्यहोर्ने सहमति भएको छ ।
    आईसोलेसन सेन्टरमा रहेका कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित व्यक्तिहरुको लागि आवश्यक पर्ने खाद्यान्न सामाग्रीहरु, खाना÷खाजा खर्च तथा अन्य खर्चको व्यवस्थापन संक्रमित व्यक्तिहरुको संख्याको मूल्यांकन गरी अनुपातिक ढंगले दुबै पालिकाले व्यवस्थापन गर्ने सहमति पनि दुबै पालिकाबीच भएको छ । आइसोलेसन केन्द्रमा दुबै पालिकाका सम्वन्धीत वडाअध्यक्षको सिफारिसमा बिरामी राख्ने सहमति पनि भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार