पाँचखाल-पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
‘स्मार्ट सिटी’ बनाउने विषयमा नगरपालीका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाण्डौंबीच विभिन्न सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड काठमाडौंका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।
नगरपालिकाले सार्वजनिक निजी साझेदारीमा पाँचखाल नगरपालिकामा ‘स्मार्ट सिटी’ (सबल, सक्षम, समाबेशी र सम्बृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने विषयका समझदारीपत्रमा हस्ताक्षर गरेको पाँचखाल नगरप्रमुख महेश खरेलले जानकारी दिए ।
पाँचखाल नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत रहेको ‘स्मार्ट सिटी’ निर्माण गर्न आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन, वित्तीय तथा प्राबिधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, जग्गा एकीकरण, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट पाँचखाल नगरपालिकामा सुविधासम्पन्न स्मार्ट सिटी परियोजना निर्माण, विकास तथा कार्यान्वयन गर्ने उद्धेश्यले विभिन्न सात वटा बुँदालाई मुख्या आधार बनाएर समझदारी पत्रमा हस्ताक्षर गरिएको नगरप्रमुख खरेलको भनाई छ ।
सम्झौता पत्र यस्तो छ
सार्वजनिक निजी साझेदारीमा पाँचखाल नगरपालिकामा
स्मार्ट सिटी (सबल, सक्षम, समाबेशी र सम्बृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं संचालन सम्बन्धी
पाँचखाल नगरपालिका, काभ्रेपलाञ्चोक
र
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाण्डौं
का बीच गरिएको
समझदारीपत्र
यो समझदारीपत्र २०७८ साल साउन महिना ११ गते निम्न पक्षहरू बीच सम्पन्न गरियो।
जबकी,
नगरपालिकामा रहेको सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा संचालनबाट नगरबासीहरुको लागि दैनिक जनजीवनमा सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक विकासलाई सहयोग पुर्याउन पूर्वाधार लगानीमा पर्याप्त विकास हुनु पर्ने आवश्यकतालाई ध्यानमा राखी पाँचखाल नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत रहेको “पाँचखाल नगरपालिकामा स्मार्ट सिटी निर्माण गर्ने” कार्याक्रमलाई मुर्त रुप दिन र उक्त परियोजना निर्माण गर्न आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन, वित्तीय तथा प्राबिधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण (Market Sounding), परामर्शदाता तथा विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, जग्गा एकीकरण (Land Pooling), बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट पाँचखाल नगरपालिकामा सुविधासम्पन् स्मार्ट सिटी परियोजना निर्माण, विकास तथा कार्यान्वयन गर्न पक्षहरू आपसमा सहकार्य गर्न चाहन्छन् ।त्यस कारण, पक्षहरुको साझा चासो र उदेश्यहरुलाई ध्यानमा राखी पक्षहरू बीच निम्न सहमतिहरू गरिएको छ:
बुँदा १ उदेश्य:
१.१ यो समझदारीपत्रको उदेश्य पाँचखाल नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत रहेको “स्मार्ट सिटी निर्माण” गर्न आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन , वित्तीय तथा प्राबिधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण (Market Sounding), परामर्शदाता तथा विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, जग्गा एकीकरण (Land Pooling), बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट पाँचखाल नगरपालिकामा सुविधासम्पन्न स्मार्ट सिटी परियोजना निर्माण, विकास तथा कार्यान्वयन गर्न मद्दत गर्ने ।
१.२ यस समझदारीपत्रको उदेश्य अनुरुप “स्मार्ट सिटी” निर्माण गर्न यस प्रकृतिको कार्य अनुभब भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फर्म/कम्पनीहरु सँग
सम्भावित परामर्शदाता, निर्माणकर्ताको रुपमा रही कार्य गर्न परामर्शदाता र निर्माणकर्ताको पहिचान तथा प्रचलित खरिद व्यवस्था बमोजिम खरिद सम्झौता सम्मको कार्य गर्न सहयोग र सहकार्य गर्ने।
१.३ यस समझदारीपत्रको उद्देश्य केवल पक्षहरुको पारस्परिक सहयोगको चाहना व्यक्त गर्न आपसी सहमति हो र कुनै पनि पक्षमा कुनै पनि प्रकारको कानुनी दायित्व सृजना हुने छैन।
बुँदा २ सहकार्यको कार्यसिमाः
२.१ आफ्नो सम्बन्धित उदेश्यको दायरा भित्र रही पक्षहरूले निम्न क्षेत्रहरूमा संयुक्त रूपमा सहकार्य गर्ने छन् ।
क. बुँदा१ मा उल्लेख गरिए अनुसार परियोजनाको विकास र कार्यान्वयन गर्ने ।
ख. विश्लेषणात्मक प्रतिवेदनहरू, प्रकाशनहरू, प्राविधिक सामग्रीहरू, विशेषज्ञ सेवाहरू र यस समझदारीपत्रको उदेश्यसँग सम्बन्धित अन्य जानकारीको आदानप्रदान गर्ने।
२.२ सहकार्यको विस्तृत कार्यसीमा र यसको विस्तृत विवरण दुवै पक्षको आपसी सहमतिमा सहिछाप गरेको बैठकको लिखित माइन्युट वा सम्झौता वा आगामी दिनमा गरिने थप पत्राचारद्वारा तयार गरिनेछ ।
बुँदा ३ पक्षहरुको भूमिकाः
३.१ नगरपालिका
क. नगरपालिकाले प्रस्तावित “स्मार्ट सिटी” निर्माण गर्न आवश्यक हुने सम्र्ण नीतिगत र कानूनी व्यवस्था गर्ने,तालुक निकायबाट आवश्यक नीतिगत एवं कानूनी स्वीकृति प्राप्त गर्ने तथा निफ्रालाई नगरपालिकाको तर्फबाट उक्त नीतिगत तथा कानूनी व्यवस्थाको अधिनमा रही स्वीकृति एवं सिफारिस प्रदान गर्ने ।
ख. परियोजनाको अध्ययन, विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन तयारी, बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनौट तथा वित्तीय श्रोतको व्यवस्थापन जस्ता कार्यहरु गर्न आवश्यक व्यवस्थापकीय सहयोग तथा समन्वय गर्ने।
ग. प्रस्तावित “स्मार्ट सिटी” निर्माण गर्न आवश्यक पर्ने जग्गाको उपलव्धता तथा सोको एकिकरण गर्ने कार्यमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने ।
घ. स्थानिय सरकारको हैसियतले परियोजना को सुरुवाती एवं निर्माणको चरणमा मध्यस्तकर्ता, विवाद समाधानकर्ता र समन्वयनकर्ताको भूमिका निर्वाह गर्ने।
ङ. परियोजनासँग सम्बन्धित उपयुक्त मञ्चमा (अर्थात् सम्मेलन, गोष्ठी, कार्यशाला आदि) मा निफ्रालाई आमन्त्रित/सहभागी गर्ने गराउने।
३.२ भूमिका: निफ्रा
क. “स्मार्ट सिटी” निर्माण गर्न सम्बन्धित् कार्य अनुभब भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फर्म /कम्पनी सित सम्भावित परामर्शदाता, निर्माणकर्ताको रुपमा रही कार्य गर्न परामर्शदाता र निर्माणकर्ताको पहिचान गर्न सहयोग गर्ने।
ख. परियोजनाको अध्ययन, विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन तयारी, बजारीकरण तथा विकासकर्ता वित्तीय श्रोतको व्यवस्थापन जस्ता कार्यहरुमा सहकार्य गर्ने।
ग. परियोजनाको लगानी खाका तयारी तथा जोखिम व्यवस्थापन जस्ता कार्यहरुमा सहकार्य गर्ने।
घ. परियोजनामा लगानी जुटाउन वित्तीय सल्लाहकार वा नेतृत्व प्रबन्धकको भुमिका निर्वाह गर्ने।
३.३ पक्षहरुले यस समझदारीपत्रका उद्धेश्यहरुलाई कार्यान्वयन गर्न र सहज समन्वयका लागि आ-आफ्ना तर्फबाट तोक्न सम्पर्क व्यक्तिलाई नियुक्ति गर्न सहमत छन् ।
३.४ बुँदा ३,१र ३,२ बमोजिमका भूमिकाहरू पक्षहरूको आपसी लिखित सहमतिबाट समय-समयमा संशोधन एवं परिमार्जन गर्न सकिनेछ ।
बुँदा ४ जानकारीको आदान-प्रदान र गोपनीयता
४.१ प्रभावकारी समन्वय नियमित सूचनाको आदानप्रदानमा निर्भर रहेको कुरालाई दुवै पक्षहरुले मान्यता दिनेछन्। जानकारीको आदान-प्रदान आन्तरिक नीतिहरूको आधारमा सम्भव भएको हदसम्म पक्षहरूले गोपनीयतालाई कायम राख्दै आवश्यक जानकारी खुलाउन उचित व्यवस्था गर्नेछन्।
४.२ एकपक्षबाट अर्को पक्षले प्राप्त गरेको डाटा र जानकारी सहित सबै पत्राचारको गोपनीयता यस प्रकृतिको कार्यमा प्रचलित कानून एवं प्रचलित अभ्यास गरिनेछ ।
बुँदा ५ समझदारीपत्रको अवधिः
५.१ पक्षहरुले सहिछाप गरी सम्पन्न गरिएको मितिबाट यो समझदारीपत्र कार्यान्वयनमा आउनेछ र समझदारी भएको एक बर्षको अवधिको लागि मान्य हुनेछ ।यस समझदारी गरिएको एक बर्षमा समझदारीपत्र आवश्यकताको आधारमा नवीकरण गरिनेछ।यदी समझदारीपत्र नवीकरण नगरिएमा आगामी बर्षहरुको लागि स्वत: नविकरण/खारेजी हुनेछ । एक पक्षले अर्को पक्षलाई तीस (३०) दिनको लिखित सूचना दिएर यो समझदारीपत्र अन्त्य गर्न सक्नेछन् ।
बुँदा ६ विविधः
यस समझदारीपत्र अन्तर्गत क्रियाकलापहरू सञ्चालन गर्दा हुने कुनै पनि खर्च पूर्णरूपमा जुन पक्षले भुमिका निर्वाह गर्न/कार्य पुरा गर्न भएको/गरेको हो सोही पक्षले स्वंयम् व्यहोर्नेछ र जबसम्म अर्को पक्षले त्यस्तो खर्च वहन गर्न सहमति/स्वीकृति दिंदैन तबसम्म त्यस्ता खर्चहरूको लागि अर्को पक्ष उत्तरदायी हुनेछैन ।
बुँदा ७
यो समझदारीपत्रलाई समय-समयमा पक्षहरूको आपसी सहमतिबाट संशोधन गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस