काभ्रे जिल्लाका भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले किसानहरुलाई बाख्रा वितरण गरेका छन् । गत आर्थिक वर्षको साझेदारीमा बाख्रा प्रबद्र्धन कार्यक्रम अन्तर्गत उपाध्यक्ष श्रेष्ठले बाख्रा वितरण गरेका हुन् ।
गाउँपालिकाको ४ वटा वडालाई बाख्रापालन पकेट क्षेत्र बनाएर साझेदारीमा बाख्रा प्रबद्र्धन कार्यक्रम सञ्चालन गरेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । सो क्षेत्रमा ३ सय १५ वटा बाख्रा वितरण गर्ने गाउँपालिकाको योजना मुताविक हालसम्ममा ३ वटा वडाका किसानलाई वितरण गरिसकेको उनले बताए ।
‘गाउँपालिकाले व्यवसायीक र आधुनिक ढंगले बाख्रापालन गर्न किसानहरुलाई उत्प्रेरित गर्न ४ वटा वडालाई बाख्रापालनको पकेट क्षेत्र बनाएर ‘साझेदारीमा बाख्रा प्रबद्र्धन कार्यक्रम’ सञ्चालन गरेको हो ।’ उपाध्यक्ष श्रेष्ठले भने, ‘यो कार्यक्रम वडा नं. १, २, ५ र ८ मा सञ्चालन गरेका छौं ।’
आर्थिक रुपमा बाख्रापालन किसानहरुलाई आत्मनिर्भर बनाउने र स्वरोजगार बनाउने तथा किसानका घरमा गाउँपालिका छ भन्ने प्रत्याभूति किसानलाई दिन यो कार्यक्रम सञ्चालन गरेको श्रेष्ठले बताए । ‘किसानलाई उत्पादनमुखी, आत्मनिर्भर र स्वरोजगार बनाउने जिम्मा सरकार कै हो । स्थानीय सरकार सञ्चालनमा हामी छौं । त्यसैले साँच्चिकै किसानलाई उहाँहरुको साथमा गाउँ सरकार छ भन्ने प्रत्याभूति दिलाउनु पनि छ ।’ उनले भने, ‘यो कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने बहुवर्षिय योजना हो । यो अवधिमा हाम्रो लक्ष्य पूरा गर्ने छौं ।’
यस अघि ५ वटा वडामा एक एक वटा उन्नत जातको बोयर ५ वटा वितरण गरिसकेको छ । चालु आर्थिक वर्षमा सबै वडामा बोयर बोकाको व्यवस्था गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाबाट अनुदानमा उन्नत जातको बाख्रा पाएपछि स्थानीय किसान खुशी भएका छन् । आर्थिक रुपमा विपन्न परिवारको लागि बाख्रा वितरणले आर्थिक सम्पन्नको आसा जागेको उनीहरु बताउँछन् । ‘केही न केही उन्नति गरेर आर्थिक रुपमा आत्मनिर्भर हुने मन त छ नि ।’ एक किसानले भने, ‘तर कसरी आत्मनिर्भर बन्ने भन्ने चिन्ता थियो । गाउँपालिकाले अनुदानमा बाख्रा वितरण गरेपछि केही न केही आशा जागेको छ ।’
प्रतिक्रिया दिनुहोस