२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

नमोबुद्धमा वडा कार्यालय र स्वास्थ्य चौकी भवनको शिलान्यास


२७०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष १८, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ५ कानपुरको वडा कार्यलय र स्वास्थ्य चौकी कार्यालयको भवन एकसाथ शिलान्यास गरिएको छ । नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले आज आयोजित एक कार्यक्रमका बीच वडा कार्यालय र स्वास्थ्य चौकीको भवन शिलान्यास गरेका हुन् ।

    नमोबुद्ध नगरपालिकाले सबै वडा कार्यालयको भवन निर्माण यही आर्थिक बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित वडा नं. ५ मा पनि वडा कार्यालयको सुविधासम्पन्न भवन निर्माण गर्न लागेको हो । यसअघि वडा नं. २, ३, ६, ७, ८, ९, १० र ११ को वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेको छ भने यही बर्षभित्र सक्नेगरी वडा नं. ४ को भवन निर्माण भइरहेको छ । यस्तै वडा नं. १ को भवन निर्माणको प्रक्रिया पुरा गरेर केही समयमै निर्माण थाल्ने तयारी भइरहेको छ ।

    वडा नं. ५ कानपुरमा वडा कार्यालय भवनसँगसँगै स्वास्थ्यचौकी भवन पनि निर्माण हुने भएपछि उक्त वडामा स्वास्थ्यको दुईवटा भवन हुने भएको छ । कानपुरको बोहोरेमा पनि ग्रामीण स्वास्थ्य केन्द्रको भवन निर्माण भैरहेको र निर्माण कार्य अन्तिम चरणमा पुगेको वडाध्यक्ष बुद्ध सिं तामाङले जानकारी दिएका छन् ।

    आज शिलान्यास भएको वडा नंं. ५ को दुई वटै भवन निर्माण दुई महिनामा सम्पन्न हुने निर्माण व्यवसायीले जानकारी दिएका छन् । नगर प्रमुख शर्माले तोकिएको समयमा निर्माण सम्पन्न गरेमा निर्माण व्यवसायीलाई नगरबाट सम्मान गरिने बताए । उनले आफ्नो कार्यकालमा नगरका सबै वडामा वडा कार्यालय र स्वास्थ्य संस्थाको भवन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको र त्यसमा सफलता हासिल गरेको पनि बताए । भवन निर्माणपछि नागरिकलाई अझै सहजरुपमा सेवा प्रदान गर्न सकिने तिमल्सिनाले बताए ।

    वडा नं. ५ को वडा कार्यालय निर्माणका लागि गतिशिल निर्माण सेवा हेटौडासँग भ्याटबाहेक ३९ लाख ७१ हजार ६ सय ४२ रुपैयाँमा ठेक्का सम्झौता भएको छ भने स्वास्थ्य चौकी भवन निर्माणका लागि राज कन्स्ट्रक्सन काठमाडौंसँग भ्याटबाहेक २१ लाख ८१ हजार २ सय ३५ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । भवन शिलान्यास पश्चात नगरप्रमुख शर्माले कानपुर माविको नव निर्मित भवनको पनि अवलोकन गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार