दिनेश राज खरेल
काभ्रे,बनेपा । काभ्रे बनेपामा रहेको विद्यासागर अंग्रेजी सेकेण्डरी स्कूलले विद्यार्थीहरु मार्फत् सचेतना, सरसफाई तथा फोहोरमेला मुक्त समुदाय अभियान सञ्चालन गरेको छ ।
विद्यालयको उक्त अभियान विद्यालय रहेको वनेपा नगरपालिका वडा नं. ११ र पुण्यमाता खोला परिसरमा केन्द्रित रहेको छ । विगत २ महिनादेखि सञ्चालन भएको अभियानले तीन महिनामा पूर्णता पाउने छ । साथै यो अभियान निरन्तर सञ्चालनमा रहने बताइएको छ ।
ब्रिटिस काउन्सिलको सोसियल एक्सन प्रोजेक्ट अन्तर्गत विद्यालयले अभियान सञ्चालन गरेको हो । अभियानलाई सफल पार्न रोट्रयाक्ट क्लब अफ बनेपा, डिभाइन युथ क्लब, मञ्जु श्री फाउण्डेशन बनेपा नगरपालिकाले सहकार्य र साझेदारी गरेका छन् ।
विद्यालयलाई सहयोगी संस्थाहरुले विभिन्न सामग्री उपलब्ध गराएका छन् । डिभाइन युथ क्लबले २ सय थान पन्जा र ५ सय थान माक्स प्रदान गरेको थियो । विद्यालय मार्फत् नै फोहोरमैला बाल्टिन पनि समुदायमा वितरण गरिएको छ । किताबी ज्ञानमा मात्र सीमित रहेका विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा साथै प्रयोगात्मक कक्षामा सहभागी गराउन पनि उक्त अभियानले सहयोग गरेको सहभागी शिक्षक शिक्षिकाको भनाई छ ।
समुदाय सरसफाई तथा फोहोरमैला संकलनबाट संकलित फोहोर बनेपा नगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ । सरसफाई तथा फोहोरमैला संकलनमा संलग्न विद्यार्थी भन्छन्– यो अभियानले टोल समुदाय सफासुग्घर राख्नुपर्छ भन्ने चेतना विकास भएको छ । साथै विद्यालय वरिपरिको वातावरण स्वच्छ र सफा देखिन्छ ।
सोसियल एक्सन प्रोजेक्ट विद्यालयमा भित्र्याउन भूमिका खेल्नुहुने विद्यालयकी इन्टरनेशनल कोअर्डिनेटर शोभा श्रेष्ठ भन्नुहुन्छ– विद्यालयले गरेका विविध सामाजिक सुधारका कार्यको प्रभावले गर्दा ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कूल अवार्ड पहिलो २०१७÷२० र दोस्रो २०२१÷२४ प्राप्त गरेको छ । यसले हामीलाई वातावरणमैत्री बन्ने कार्यमा प्रोत्साहन मिलेको छ । आगामी दिनमा पनि यस्ता कार्य गरेर समुदायलाई सचेत र सजग गराउन सहयोग गरिरहने छौं ।
प्रतिक्रिया दिनुहोस