२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

आ.व. २०७९/०८० को महाभारतको नीति तथा कार्यक्रम


६८६४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र १४, मंगलबार मा प्रकाशित २ साल अघि
  • छैठौं वर्षको एघारौं गाउँसभामा अध्यक्ष श्री कान्छालाल जिम्बा ज्यूबाट आ.व २०७९/०८० को लागि प्रस्तुत नीति तथा कार्यक्रम

    सभाका सदस्यज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत ज्य, राष्ट्रसेवक कर्मचारी मित्रहरु,

    नेपालको संविधान २०७२ को व्यवस्था अनसार स्थापित स्थानीय सरकारको सफलतापूर्वक सम्पन्न भएको दोस्रो पटकको निर्वाचनबाट विभिन्न राजनैतिक दलका तर्फबाट प्रतिनिधित्व गर्दै जनताको उच्च अभिमतलाई स्वीकार गर्दै यस गरिमामय सभाहलमा उपस्थित हुनुहुने गाउँपालिकाका उपाध्यक्षज्यू तथा सभाका सदस्यज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी पाँच वर्षको यात्रा समृद्धि महाभारत निर्माणका लागि उच्चतम सहकार्यको अपेक्षा सहित यस गाउँसभामा दोस्रो कार्यकालको पहिलो सम्बोधन गर्न पाउँदा म हर्षित छ, साथै स्थानीय निर्वाचन, २०७९ लाई निष्पक्ष, शान्तिपूर्ण, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्नका लागि सक्रिय सहभागीता जनाउनु हुने आदरणीय मतदाताज्यूहरु, निर्वाचन आयोग, सहयोग पुयाउने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायहरु तथा यस प्रक्रियामा संलग्न राजनीतिक दलहरु, विभिन्न संघसंस्थाहरु र आम नागरिक सबैप्रति हार्दिक आभार प्रकट गर्दै स्थानीय तहका दोस्रो पटकको निर्वाचनले स्थानीय तह जनताका नजिकको सरकारको रुपमा स्थापित गर्न थप सफल आधार प्राप्त भएको छ ।

    आम जनचाहाना अनुरुप नागरिकको घरदैलोमा सेवा प्रदान गर्ने आधार स्तम्भका रुपमा रहने स्थानीय तहको निर्वाचनले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीको जगलाई अझ थप मजबुत बनाएको छ । तदअनुरुप हामी स्थानीय सरकार लोकतन्त्रको लाभलाई जनतासामु वितरण गर्दै राज्यको उपस्थितिलाई जनताको घरदैलोमा पुऱ्याउन सदैव प्रतिवद्ध छौं।

    सर्वप्रथमत, नेपालको इतिहासमा लामो कालखण्डदेखि कायम रहेका एकात्मक तथा केन्द्रिकृत राज्य व्यवस्थाको अन्त्य, नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता राष्ट्रिय हित, स्वाभिमान, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाल आमाका १३ हजार भन्दा बढी होनहार सन्तानले जीवनको उत्सर्ग गर्नुभएको ईतिहास हामी सबैमा उजागर छ । त्यस क्रममा यस महाभारत गाउँपालिकाको भूमीबाट कुल बहादुर राना मगर, ज्ञान बहादुर गोले, प्रविना बज्यू, शक्ति, लिला बहादुर मोक्तान (निर्माण), प्रमिला माझी, विमला वाईबा, राजु नेपाली, प्रहार, दिल बहादुर बोम्जन (दिपक), सीमा र विष्णु स्याङतान लगायतका साहासिक योद्धाहरुले बलिदान गर्नुभएका ईतिहास पनि हाम्रो सामीप्यमा आजसम्म ताजै छ, भने लोकतन्त्र प्राप्तिका लागि विभिन्न आन्दोलनमा हजारौंको संख्यामा घाईते एवं अपाङ्ग हुनुभएका ती साहासिक योद्धाहरुको बलिदान हाम्रा सामु जीवित नै छ । यस अवसरमा नेपाल राष्ट्रको रक्षा र अग्रमणका आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता घाईते तथा अपाङ्ग योद्धाहरु प्रति उच्च सम्मान प्रकट गर्दछ ।

    सम्मानित सभाका सदस्य ज्यूहरु,

    संघीय संरचना अनुसार नेपालको बागमती प्रदेश अन्तर्गत काभ्रेपलान्चोक जिल्लाका १३ वटा स्थानीय तहहरु मध्ये जिल्लाको दक्षिणी भेगमा अवस्थित महाभारत गाउँपालिका १८६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह हो । वि. सं. २०७८ को राष्ट्रिय जनगणना (प्रारम्भिक जनसंख्या) अनुसार यस गाउँपालिकाको कूल जनसंख्या १६,१४८ रहेकोमा पुरुषतर्फ ७,९३३ र महिलातर्फ ८,२१५ रकेको छ ।

    आफ्नै छुट्टै भौगोलिक पहिचान रहेको यस गाउँपालिकामा विशेषगरी तामाङ्ग, मगर, नेवार, बाहुन, क्षेत्री, माझी, कामी, सार्की, पहरी, दमाई समूदायका मानिसहरुको बसोबास रही आएको छ । यस गाउँपालिकाको उत्तरी सिमानामा रोशी गाउँपालिका, भूमेचुली, ताराखसेलेक र चैतेपानी जस्ता महत्वपूर्ण महाभारत लेकले घेरिएको छ । पूर्वमा सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका, दक्षिणमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका र महाभारत गाउँपालिकाको सीमानाबाट बगेको कोखाजोर खोला रहेको कुरा यहाँहरु सामु सर्वविदितै छ, भने पश्चिममा खानीखोला गाउँपालिका रहेको छ । यस गाउँपालिकालाई उत्तरी सिमाना बाहेक पूर्वमा राङ्चा खोला, दक्षिणमा कोखाजोर खोला, र पश्चिममा चौखोलाले घेरिएको छ । यस गाउँपालिकाको उत्तरी सिमानामा प्राकृतिक तथा पर्यटकीय रुपमा रहेको सुन्दर “म्हाबर” लेक समुन्द्र सतहबाट अन्दाजी २५०० मि. उचाईमा रहेको छ । यस “म्हाबर” लेकबाट नै अन्तत. यस गाउँपालिकाको नामाकरण महाभारत हुन गएको हो । यस गाउँपालिका भौगोलिक रुपमा अति विकट रहेपनि यहाँको उच्च पहाडहरुमा रहेको महत्वपूर्ण जडीबुटी र खोलानालाहरु यस क्षेत्रको अर्थ उपार्जनका लागि महत्वपूर्ण आधार बन्न सक्छन् भन्ने कुरामा कुनै दुईमत छैन ।

    संघीय संरचना अन्तर्गत राजधानीबाट नजिक रहेपनि विविध कारणले हालसम्म पनि यहाँका अधिकांश जनताहरु कृषि पेशामानै आत्मनिर्भर रहेकोले यहाँको मुख्य आर्थिक स्रोत पनि कृषिमा नै आधारित रहेको छ । यस क्षेत्रको कृषि उत्पादनलाई बजारीकरण गरी केन्द्रीय राजधानीसम्म विस्तार गरी अर्थोपार्जनलाई प्रभावकारी बनाउन उपयुक्त मार्गको खोजीमा हामी निरन्तर प्रयासरत रहेको कुरा म यहाँहरु समक्ष राख्न चाहान्छु ।

    सम्मानित सभाका सदस्यज्यूहरु,

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना पछिको यस महाभारत गाउँपालिकाको छैठौं वर्षको एघारौं गाउँसभा गाउँपालिकाका तर्फबाट समष्टिगत दिगो विकासको लागि आ. व. २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न यस सम्मानित सभामा यहाँहरु समक्ष म उपस्थित भएको छु । यस गाउँपालिकाको दिगो विकासको मार्गचित्ररुपी यस नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ। मलाई आशा एवं विश्वास छ की, यस नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन मार्फत हामीले देखेको आत्मनिर्भर, समुन्नत र समृद्ध महाभारतको सपना साकार पार्न महत्वपूर्ण टेवा पुग्नेछ । नेपालको वर्तमान संविधानले स्थानीय तहलाई स्थानीय सरकारको रुपमा अधिकार प्रदान गरेको परिप्रेक्ष्यमा हामीले यस क्षेत्रका जनतालाई घरदैलोको सरकारको अनुभूति दिलाउनु तपाई हामी सबैको महत्वपूर्ण जिम्मेवारी एवं दायित्व रहेको म अवगत गराउन चाहान्छु । भू-धरातलीय दृष्टिकोणबाट प्राय भू-भागहरु पहाडै पहाडले ढाकिएको भएपनि यहाँ विकासका प्रशस्त संभावनाहरु रहेका छन् । यहाँको भौगोलिक तथा साँस्कृतिक विविधता, कला र संस्कृतिको सम्पन्नतासँगै प्राकृतिक श्रोत साधनको प्रचूरता जस्ता विशिष्टताहरुको सुव्यवस्थित र योजनाबद्ध उपयोगद्वारा महाभारतवासीहरुको जीवनमा देखिने गरी सकारात्मक परिवर्तन ल्याउन प्रस्तुत नीति तथा कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने छ भन्ने मैले पूर्ण विश्वास लिएको छु । यस अवसरमा नीति तथा कार्यक्रममा समावेश भएका विषयहरुको सफल कार्यान्वयनमा आम महाभारतवासीको सुखद तथा उज्ज्वल भविष्य छ, भन्ने कुरामा पूर्ण विश्वस्त छु ।

    सम्मानित सभाका सदस्यज्यूहरु

    पहिलो स्थानीय तहका निर्वाचनसँगै विविध खालको चुनौतीहरु र सम्भावनाका बाबजुद हामीले यस क्षेत्रको भौतिक पूर्वाधार, कृषि, पर्यटन जस्ता क्षेत्रको विकास गर्न नितरन्तर लागिपरेता पनि अपेक्षित उपलब्धी हासिल गर्न अझ थप मेहनत गर्नुपर्ने यथार्थ हामी सामु छ । सम्वृद्ध महाभारत निर्माण गर्न विशेषगरी भौगोलिक विकटतासँगै रहेका गरिबी न्यूनीकरण गर्ने, रोजगारी सिर्जना गर्ने, गुणस्तरीय निशुल्क आधारभूत स्वास्थ्य र शिक्षा लगायत आम नागरिकको जनचेतनाको विकासमा हाम्रो मन, तन र विवेकलाई प्रयोग गर्न आवश्यक देखिन्छ ।

    विकासको मुख्य सम्भावनाको रुपमा रहेको प्राकृतिक श्रोत साधन, सांस्कृतिक विविधता, पर्यटकीय सम्भाव्यता कृषि तथा पशुपालन व्यवसाय लगायत आर्थिक रुपमा सक्रिय जनसंख्याको उपयोग नै आजको महाभारत गाउँपालिकाको प्राथमिकता हुनुपर्छ भन्ने नै हो । एकातिर सीमित स्रोत साधनबाट जनताका असीमित आवश्यकता सम्बोधन गर्नुपर्ने छ भने अर्कोतिर कानूनी तथा प्रक्रियागत कार्यविधि का साथै प्रादेशिक नीति तथा नियम कानूनसँग कतिपय कुराहरु बाझिएका कारण आन्तरिक स्रोत अपेक्षित रुपमा परिचालन गर्न नसकिनुका साथै भू-धरातलीय विकटका कारण आवश्यक भौतिक पूर्वाधारको कमी जस्ता चुनौती हामी सामु अझै रहेकै छ।

    यस सभाका सदस्यज्यहरु,

    अव म यस गरिमामय सभामा महाभारत गाउँपालिकाको आर्थिक वर्ष २०७९।८० सालको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यो विशेष अवसरमा समृद्ध र उन्नत महाभारत निर्माणका लागि महत्वपूर्ण सहयोग गर्नुहुने सवै प्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा समृद्ध महाभारतको लागि तन, मन, वचन र कर्मले लागिरहन सबैमा अनुरोध गर्दै म आफ्नो तर्फबाट निरन्तरताको प्रतिवद्धता पनि व्यक्त गर्न चाहान्छु । साथै यो महान् अभियानलाई सफल पार्न यहाँहरुको रचनात्मक सहयोगका साथै महत्वपूर्ण सल्लाह सुझावको लागि हार्दिक अनुरोध गर्दछु ।

    यस गरिमामय सभाका सदस्य ज्यूहरु म अब आर्थिक वर्ष २०७९।८० सालको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अगाडि हामीले गरेका महत्वपूर्ण कामहरुको समिक्षा गर्न चाहान्छु ।

    सम्मानित सभाका सदस्यज्यहरु

    स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न पछि निर्वाचित भएर नीति तथा कार्यक्रम बनाउदै गर्दा विगत पाँच वर्ष महाभारतको वृत्तचित्र मनसपटलमा झल्किरहको छ । ऐतिहासिक पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर पदभार ग्रहण गर्दै गर्दा गाउँपालिकाको केन्द्र, जग्गा र भवनको टुङ्गो लागेकै थिएन, गाउँपालिकाको प्रशासनिक कार्यदेखि वडा कार्यालयको सेवा कहाँबाट दिने भन्ने प्रश्नको उत्तर थिएन, विद्यालय भवन, स्वास्थ्य भवन लगायत भौतिक संरचना भुकम्पले क्षतविच्छेद अवस्थामा थिए । सडक सञ्जाल र यातायात सेवा चुनौतीपूर्ण नै थियो । यस्तो विषम परिस्थितिमा पनि जनतालाई सेवा सदैव दिइ नै रहयौं । सेवा लिनबाट सेवाग्राही कहिल्यै वञ्चित भएको गुनासो आउन कहिल्यै दिएनौ, यसर्थ यस अवसरमा सहयोग गर्नहुने पूर्व गाउँपालिका उपाध्यक्षज्यू लगायत गाउँसभाका सदस्य, सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुमा हार्दिक नमन व्यक्त गर्दछु।

    विगत पाँच वर्षलाई फर्केर हेर्दा, नीति तथा कानूनको अभावको बाबजुदबाट सुरु गरेको यात्रा सफलता पूर्वक सम्पन्न हुदै आज हामी यहाँसम्म आइपुगेको छौं । जसमा धेरै जसो साना आयोजना हुदै ठूला-ठूला बहुवर्षीय योजना अगाडि बढाउन सफल भएको छौं । संघ सरकार, प्रेदश सरकार तथा स्थानीय सरकारबाट प्राप्त अनुदान मध्ये केन्द्रीय विद्युतीकरणको कार्य तिव्र गतिमा अगाडि बढिरहेको छ भने निकट भविष्यमा अध्याँरोमा बस्नुपर्ने बाध्यताको अन्त्य हुदै उज्यालो महाभारतमा परिणत हुनेछ भन्ने कुरामा विश्वस्त छु । तत्कालीन अवस्थामा यस गाउँपालिकाभित्र शिक्षक व्यवस्थापन चुनौतीको रुपमा रहेता पनि शैक्षिक सुधार कार्यक्रम मार्फत केहि हदसम्म समस्याको समाधान गरिएको छ । सामुदायिक विद्यालयहरुमा स्थायी दरवन्दी अभावको कारणले गर्दा सोचे अनुरुपको शैक्षिक गुणस्तर प्राप्त गर्न सकेको छैन यसको अलाबा केन्द्रीय सरकारसँगको निरन्तर सम्वाद र समन्वय पछि दरवन्दी मिलान र वितरणको कार्य अगाडि बढेको छ । जस अन्तर्गत ऐतिहासिक रुपमा एकै पटक ३२ वटा दरबन्दी वितरणको कुरा यस गरिमामय सभामा सुनाउन पाउँदा अत्यन्त खुशी लागेको छ ।

    जनसुरक्षामा खटिएका प्रहरीहरु असुरक्षित र अव्यवस्थित टहरामा बस्न बाध्य थियो । त्यस अवस्थाको अन्त्य गरी व्यवस्थित र सुरक्षित आवासको व्यवस्था गर्न यस महाभारत गाउँपालिका भित्र ३ वटा प्रहरी चौकी कार्यालय स्थापना भएको छ । जसअन्तर्गत गोकुले र बुढाखानीमा पक्की भवन निर्माण सम्पन्न भई उद्घाटन भईसकेको छ, भने बनखु देवीटारमा सुविधा सम्पन्न पक्की भवन निर्माण सम्पन्न अवस्थामा छ । यस गाउँपालिकाको मुख्य प्रशासनिक सेवालाई प्रभावकारी, पारदर्शिता बनाउन इन्टरनेट लगायत कार्यालय व्यवस्थापन देखि विविध कार्यहरु भएका छन ।

    संघीय राजधानी र जिल्ला सदरमुकाम सम्म जोड्ने मोटर बाटोको ट्रयाक समेत खोल्न कठिन परिस्थितिमा उक्त सडकको कालोपत्रे समेत कार्य गर्ने गरी रु.१ अर्ब ६७ करोड बराबरको बहुवर्षीय योजना अगाडि बढेको कुरा यस गरिमामय सभामा सुनाउन पाउँदा म ज्यादै हर्षित छु । यस कालोपत्रे सडक निर्माण सम्पन्नका लागि विभिन्न विषयगत शाखाहरुसँग आवश्यक समन्वय निरन्तर जारी नै रहेको छ । यसैगरी यस गाउँपालिकाभित्रको राङचा बनखु गोकुले तालढुङगा सडकलाई वैकल्पिक राजमार्गको रुपमा गरिएको प्रस्तावलाई नेपाल सरकारको तर्फबाट स्वीकृत गरी कार्य अगाडि बढेको कुरा यस सभामा प्रस्तुत गर्न पाउँदा म आफैमा गौरवान्वित छु ।

    तपाई हामी सबैलाई थाहा छ की, यस महाभारत गाउँपालिका स्थापित हुदै गर्दा यहाँको आम जनताको जीवनस्तर र विकासको गति न्यून थियो । विगत पाँच वर्षको पहिलो कार्यकालमा हामीले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, यातायात लागयतका समग्र आर्थिक तथा प्रशासन क्षेत्रमा उपलब्धिमूलक परिणामहरु देखा परेका छन् । कतिपय महत्वपूर्ण पूर्वाधारहरुको विकास समयमै पुरा हुन नसकेकोमा विश्वव्यापीरुपमा फैलिएका कोरोना भाइरस (कोभिड १९), निरन्तर रुपमा बढिरहेको महँगी जस्ता कारणहरु रहदारहदै पनि हाम्रो तर्फबाट गरिने प्रयासहरु निरन्तर नै रहिरह्यो ।

    जसअन्तर्गत यस गाउँपालिकाको आफ्नै अत्याधुनिक सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य निकट भविष्यमा सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढिरहेको सर्वविदितै छ । कार्यालय विहीन अवस्थामा रहेका सबै वडाको कार्यालय भवनहरुको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

    गाउँपालिकाको केन्द्रमा नै ईलाका प्रशासन कार्यालय स्थापना गरी नागरिकता प्रमाणपत्र, मतदाता परिचयपत्र वितरण लगायतका महत्वपूर्ण सेवा प्रदान गर्न सफल भएको छौं । हाल आएर गाउँपालिका कार्यालय र सबै वडाको कार्यालयसँगै वडा कार्यालयबाट सबै गाउँबस्तीमा जोड्ने सडक सञ्जाल जोडी यातायात सेवा प्रदान गर्न सफल भएको छ।

    यस सन्दर्भमा २०७२ को विनासकारी भुकम्पले क्षेतविच्छेद विद्यालयहरुको पुननिर्माण भइसकेका छन् भने महाभारतका सम्पूर्ण माध्यमिक विद्यालयलाई सुविधा सम्पन्न बनाउने उद्देश्यका साथ RCC भवन निर्माणको कार्य भइरहेको छ।

    सम्मानित सभाका सदस्यज्यूहरु

    स्वास्थ्य नै जीवन भन्ने कुरालाई आत्मासाथ गरी यस गाउँपालिकामा ८ वडा मध्ये जम्मा ५ वटा स्वास्थ्य संस्था रहेकोमा थप गरेर हाल आएर १२ वटा स्वास्थ्य संस्था स्थापना गर्न सफल भएको छ । अझ महत्वपूर्ण विषय यस महाभारत गाउँपालिका स्थित वडा नं. ८ घर्तिछापमा १० शैयाको अस्पताल स्थापना सँगै पक्की भवन निर्माण कार्य अगाडि बढेको छ । भौतिक पूर्वाधार अन्तर्गत नागरिकलाई सहज सेवाका लागि गाउँपालिका केन्द्र देवीटार जोड्ने तीनखुट्टेमा दुई वटा पक्की पुल निकट भविष्यमै सम्पन्न हुने क्रममा रहेको छ । त्यससँगै हाम्रो निरन्तर संवाद र समन्वयले यस गाउँपालिकाभित्रका विभिन्न स्थानमा थप ९ वटा पुलका लागि बजेट व्यवस्था भइसकेको छ ।

    यसैगरी सुरक्षित र स्वच्छ खानेपानी वितरण गर्ने कार्य अन्तर्गत एक घर एक धाराको लागि गाउँपालिकाको करिब ३२०० घरधुरी मध्ये हाल १८०० घरधुरीलाई खानेपानी वितरणको कार्य अगाडि बढेको छ । गत वर्षहरुमा कृषि क्षेत्रमा बजेटको व्यवस्था भएपनि कृषि सम्बन्धी कर्मचारीको अभावले कृषिमा अपेक्षा अनुसारको कार्यक्रम नभएता पनि कृषि विउ वितरण लगायतका कफी पल्पर मेशिन औजार वितरणका कार्यक्रम सम्पन्न गरेको छ । यस महाभारत गाउँपालिकामा विगतमा सञ्चार सेवा अन्तर्गत टेलिफोन समेत सञ्चालन नभएको अवस्थामा हाल 4G समेतको इन्टरनेट सेवा सञ्चालन भएको छ । यसरी हामी समृद्ध महाभारत निर्माणका लागि पहिलो तथा चुनौतीपूर्ण कठिन यात्रा अत्यन्तै सफल पार्न सहयोग पुयाउनु हुने आम मतदाता ज्यूहरुमा म आफ्नो तर्फबाट हार्दिक नमन व्यक्त गर्न चाहान्छु । यहाँहरुको अपार मायाले गर्दा मलाई काम गर्ने उच्च खालको मनोबल सिर्जाना भएको मैले महशुस गरेको छ । स्थानीय तहहरुको कार्य सम्पादनलाई प्रभावकारी तथा छिटो छरितो ढंगबाट जनमुखी सेवा प्रदान गर्न र गत आर्थिक वर्षमा तयार गरिएको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयन गर्ने क्रममा यस महामारिको कारण समयमै कार्य सम्पादनमा चुनौति थपिएको कुरा यहाँहरुसामु विदितै छ ।

    कोभिड १९ को सन्त्रासबाट आतङ्कित जनतालाई समयमै खोप लगाई सुरक्षितको आभास दिलाएको छ । संघीयता कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको हाम्रो देशमा संघ र प्रदेश सरकारबाट स्थानीय सरकारलाई जति जति सोत, शक्ति र अधिकार बाँडफाँड गर्यो त्यति नै समृद्धिमा सफलता प्राप्त हुन सक्ने कुरामा दुईमत छैन । आफ्नो क्षेत्रअधिकार भित्र रहेको कानूनी र संवैधानिक अधिकार प्रयोग गर्दै गाउँपालिकाभित्र बसोबास गर्ने जनतालाई सरकारको अनुभूति दिन सक्नु महत्वपूर्ण पक्ष हो । स्थानीय तहको निर्वाचनको क्रममा र जनतासगंको विभिन्न समयमा गरेका प्रतिवद्धता हाल आएर पुरा हुर्दै गएको मैले महशुस गरेको छु । गाउँपालिकाभित्र कतिपय शाखागत कर्मचारी अभावका वीच पनि गत आ.व. को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सक्नु पक्कै पनि हामीबीच चुनौतीपूर्ण अवस्था थियो । यसलाई सहज रुपमा कार्य सम्पादन गरी समयमा नै नतिजा दिन सहयोग गर्ने यस गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारी, समाजसेवी, बुद्धिजीवी, राजनीतिक दल, जनप्रतिनिधि लगायत आम जनसमुदायलाई म पुन विशेष धन्यवाद दिदै अव म आगामी आ. व २०७९/०८० को लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

    गाउँपालिकाको योजना तर्जुमा गर्दा अवलम्वन गरिएका क्षेत्रगत नीतिहरु,

    (क) आर्थिक विकास – क. १ कृषि तथा पशुपालन

    * कृषक समूह/ कृषि सहकारीको क्षमता अभिवृद्धि गराई कृषि कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइनेछ।

    * कृषकहरूले उत्पादन गरेको वस्तुको बजारीकरणमा सहजीकरणका लागि कृषि उपज संकलन केन्द्र निर्माण गरिनेछ, साथै विभिन्न संघ संस्थाहरुसँग समन्वय गरिनेछ।

    * प्रत्येक वडामा एक बाली उत्पादनको पकेट क्षेत्र बनाउन; “एक वडा एक उत्पादन”कार्यक्रम संचालन गरिनेछ।

    * स्थानीय स्तरमा नै गुणस्तरीय तरकारी एवम् फलफुलको बिउ तथा विरुवाको सहज उपलब्धता गराउन “एक वडा एक नर्सरी कार्यक्रम” संचालन गरिनेछ।

    * भौगोलिक विशेषता अनुसारको बाली उत्पादनमा जोड दिइनेछ।

    * बढ्दो जलवायु परिवर्तन तथा जोखिम नियन्त्रण गर्न भिरालो जमिनमा “फलफुल खेती विस्तार कार्यक्रम संचालन गरिनेछ।

    * भौगोलिक विशेषताको लाभ उठाउँदै तुलानात्मक लाभका वस्तुहरूको उत्पादनमा जोड दिइनेछ।

    * कृषि बाली बिमा कार्यक्रमलाई विषेश जोड दिइनेछ।

    * कृषि अनुसन्धान र प्रसार सेवालाई थप प्रभावकारी बनाउन नयाँ जात, नयाँ प्रविधिहरूको परीक्षण प्रदर्शन, कृषि मेला प्रदर्शनी, कृषक पाठशाला, कृषक दिवस, कृषक भ्रमण, बाली
    उपचार शिविर लगायतका कार्यक्रम संचालनमा जोड दिईनेछ।

    * कृषकले उत्पादन गरेको बालीको उत्पादनको आधारमा प्रोत्साहन अनुदान उपलब्ध गराइनेछ।

    * “स्वस्थ्य उत्पादन, स्वस्थ्य जीवन” मूल नारा लिई प्रत्येक घरलाई तरकारीमा आत्मनिर्भर हुन “एक घर एक करेसाबारी” कार्यक्रमलाई जोड दिईनेछ।

    * रासायनिक मल र विषादिको प्रयोगबाट हुने हानीलाई कम गर्न “IPM प्रविधिमा” जोड दिइनेछ।

    * कृषि कार्यक्रमहरूको सूचनालाई सधैं कृषक समक्ष पुर्याउन सूचना सम्प्रेषणलाई थप प्रभावकारी बनाईनेछ।

    * यस क्षेत्रमा कृषि विषय अध्ययन गरी बेरोजगार बसेका युवाहारूलाई “व्यवसायिक कृषि उद्यम विकासका लागि प्रस्तावनामा आधारित व्यवसायिक कृषि कार्यक्रम” संचालन
    गरिनेछ।

    * खाद्य वस्तुको आयात घटाउन र बालीहरूको प्रतिस्थापन दर बढाउन कृषकहरूलाई सरल र सुलभ तरिकाबाट उन्नत बिउविजन तथा उत्पादन सामाग्री सहयोग कार्यक्रम संचालन गरिनेछ।

    * प्राङ्गारिक मलको उत्पादन र प्रयोगमा जोड दिन जैविक मल, भर्मिकम्पोष्ट र कम्पोष्ट मलबनाउन जोड दिइनेछ।

    * किसानहरूलाई स्थानीय स्तरमा नै माटो जाँच तथा विश्लेषण गर्न डिजिटल माटो परिक्षणमिनिल्याव स्थापना गरिनेछ।

    * रैथाने तथा स्थानीय जातका बाली उत्पादन वृद्धि गराई बजार प्रवर्द्धन गर्न “रैथाने बाली उत्पादन ” कार्यक्रम संचालन गरिनेछ।

    * कृषि पेशालाई आधुनिकीकरण, व्यवसायीकरण तथा प्रतिस्पर्धात्मक बनाउन आधुनिक कृषि यन्त्रीकरण जस्तै मिनिटिलर, मल्चिङ प्लाष्टिक, प्लाष्टिक पोखरी, थोपा सिँचाइ जस्ता प्रविधिमा अनुदानको सिमा वृद्धि गरिनेछ।

    * कृषकलाई विभिन्न बाली वस्तु उत्पादन र बाली संरक्षणमा टेवा पुयाउने हेतुले प्राविधिक पुस्तिका प्रकाशन गरिनेछ ।

    * मासुमा आत्मनिर्भर हुने गरी बाखा पकेट,बास्वा व्लक कार्यक्रमलाई निरन्तरता दिईनेछ।

    * पशुपंक्षी प्रसार सेवालाई प्रभावकारी ढङ्गले संचालन गर्नको लागि एक गाउँ एक पशु प्राविधिकलाई निरन्तरता दिईनेछ।

    * पशुपंक्षी तथा वाली वीमा र सहुलियत कर्जा, कृषि, पशुपंक्षी तथा मत्स्य उत्पादत तथा उपचार, बाँझोपन तथा रोग नियन्त्रण पशु स्वास्थ्य शिविर, स्थानीय कुखुरा प्रवर्द्धन तथा
    गाईभैसी गोठ सुधार कार्यक्रम सञ्चालन गरिनेछ।

    * घाँसेवाली प्रवर्द्धन, पशुपंक्षी पालन, आहारा व्यवस्थापन, रोग नियन्त्रण जस्ता कृषक अभिमुखीकरण तथा अगुवा कृषक भ्रमण, उत्कृष्ट कृषक पुरस्कार जस्ता प्रोत्साहन
    कार्यक्रमहरु संचालन गरिनेछ।

    * कृषकहरुको क्षमता अभिवृद्धि लाई सहयोग हुने गरि पशुपंक्षी सम्बन्धी प्राविधिक पुस्तिकाप्रकाशन गरिनेछ ।

    . २ उद्योग तथा वाणिज्य

    * युवा स्वरोजगारको वृद्धि गर्न लघु उद्यम विकास कार्यक्रम संचालन गरी उत्पादनमा वृद्धि गरिनेछ ।

    * वेरोजगारहरुको तथ्याङ्क अभिलेख व्यवस्थापन गरी विभिन्न रोजगार तथा सीपमूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

    * आर्थिक विकासमा टेवा पुऱ्याउने व्यवसाय तथा कलकारखानाको स्थापना र संचालनमा प्रोत्साहन गरिनेछ ।

    * साना तथा घरेलु उद्योगीहरुलाई आकर्षण गर्न कार्यक्रमको व्यवस्था गरिनेछ ।

    * स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्यम प्रर्वद्धन गर्न सीपमूलक तालिम व्यवस्था गरी उत्पादन वस्तुको बजारीकरणमा जोड दिईनेछ ।

    * गाउँपालिका क्षेत्रमा संचालित व्यवसायिक फर्महरुको दर्ता तथा नवीकरण कार्यलाई गति दिइनेछ ।

    * सार्वजनिक निजी साझेदारी नीतिको अबलम्बन गर्दै निजी क्षेत्रसँगको सहकार्यमा गर्न सकिने दीर्घकालीन योजनाहरुको अध्ययनको शुरुवात गरिनेछ ।

    * पर्यावरण तथा वातावरण प्रदुषण गर्ने उद्योगलाई संचालनमा ल्याउन प्रतिबन्ध लगाईने छ ।

    क.३ पर्यटन

    * आन्तरिक एंव बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने खालका पर्यटकीय स्थलहरुको पहिचान, संरक्षण र विकास गरिनेछ ।

    *यस गाउँपालिका क्षेत्रभित्रका विभिन्न सम्भावित धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थानहरुको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण प्रक्रिया अगाडि बढाई पर्यटन विकासमा टेवा पुयाउन जोड दिईनेछ ।

    *ऐतिहासिक धार्मिक पर्टकीय क्षेत्रहरुको पुरातात्विक उत्खनन गरी संरक्षण र सम्वर्द्धनमा जोड दिइने छ ।

    *विभिन्न पर्यटकीय स्थानको पूर्वाधार निर्माण गरी होमस्टे, प्राचीन संस्कृतिको अध्ययन केन्द्र, मनोरञ्जनात्मक वातावरणको विकास गरिनेछ ।

    *अन्य सम्भावित पर्यटकीय स्थलहरुसम्म पुग्ने पदमार्ग विस्तार गर्दै ती स्थानहरुमा होमस्टे संचालनका लागि आवश्यक पहल गरी पर्यटन प्रवर्द्धनमा टेवा पुयाइनेछ ।

    क. ४ सहकारी

    * सहकारीसँग सहकार्य गर्ने मूल उद्देश्यका साथ यस गाउँपालिका क्षेत्रभित्र स्थापना भएका सबै सहकारी संस्थाहरुको लगत संकलन, अद्यावधिक र नवीकरण गर्ने कार्यमा विशेष जोड दिदै, उक्त सहकारीहरुलाई लागत साझेदारीमा विभिन्न कार्यक्रमहरु संचालन गर्ने नीति लिईनेछ ।

    * सहकारी माध्यमबाट स्थानीय स्रोत श्रम, साधन सीप र पूँजीको अधिकतम परिचालन गरी आर्थिक, सामाजिक रुपान्तरण गरिनेछ ।

    * सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गर्दै सहकारीहरुको व्यवसायीकरणमा जोड दिईनेछ ।

    * सहकारी संस्थाहरु मार्फत कृषि सामाग्री अन्तर्गत अनुदानको मलहरु लगायत वितरणको कार्यलाई अझ थप प्रभावकारी बनाईनेछ ।

    * गाउँपालिकाभित्र रहेका सहकारी तथा वित्तीय क्षेत्रहरुसँग सहकार्य गरी उत्पादनमूलक कार्यक्रममा लगानीमैत्री वातावरण सिर्जना गरिनेछ ।

    * गाउँपालिकाभित्र रहेका सहकारीले वार्षिक रुपमा कम्तिमा एक सहकारी एक सामाजिक कार्यक्रम गर्नुपर्ने नीति अवलम्बन गरिनेछ ।

    * गाउँपालिकाभित्र रहेका सहकारी संस्थाको अनुगमन तथा नियमन गरी विषयगत कार्यप्रति उत्तरदायी बनाइनेछ ।

    * गाउँपालिका क्षेत्रभित्र सञ्चालन भएका सबै विषयगत सहकारी संघ संस्थाहरुसँग समन्वय गरी लक्षित वर्गका लागि सीप विकास तथा उद्यमशीलता विकास सम्बन्धी तालिमहरु
    संचालन गरी गरिवी र बेरोजगारी हटाउने कार्यको आरम्भ गरिनेछ ।

    क. ५ वित्तीय

    * गाउँपालिका क्षेत्रभित्र संचालित बित्तीय संस्थाहरुलाई विपन्न र पिछडिएको समुदायमा परिचालन गर्न प्रोत्साहन गरिनेछ ।

    * गाउँपालिका क्षेत्रमा संचालित बैंक तथा वित्तीय संस्थाहरुलाई गाउँपालिकामा दर्ता हुन र नयाँ वित्तीय संस्था खोल्नु पूर्व अनिवार्य रुपमा गाउँपालिकाको स्वीकृति लिनु पर्नेछ ।

    * गाउँपालिका भित्र रहेका वित्तीय संस्थाहरुको अनुगमन तथा नियमन गरी विषयगत कार्यप्रति उत्तरदायी बनाइनेछ ।

    क ६. प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा स्वरोजगार कार्यक्रम

    * यस आर्थिक वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम संलग्न सम्पूर्ण श्रमिकहरुको ज्याला रकम अनिवार्य रुपमा बैंक मार्फत व्याक्तिगत खातामा मात्र भुक्तानी गर्न जोड दिईनेछ ।

    * प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि आवश्याक पर्ने निर्माण सामग्री तथा अन्य सामग्री स्थानीय तहको लागत साझेदारीमा गरिने छ।

    क ७ . गरिवी निवारणको लागि लघु उद्यम विकास

    * गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ।

    (ख) सामाजिक विकास

    (ख १) शिक्षा

    • शिक्षा विकासको पनि विकास हो । शिक्षालाइ ज्ञानको मुहान व्यक्ति समाज र राष्ट्रको दिगो विकासको सोपानको रुपमा हृदयगम गरी शिक्षाको प्रगति महाभारतको समृद्धि नाराको साथ सार्वजनिक शिक्षा सुधार गर्ने नीति लिइनेछ ।
    • गाँउपालिकाको आवधिक शिक्षा योजना, शिक्षा नियमावली र कार्यविधि निर्माण गरी शिक्षालाई व्यवस्थित गर्ने नीति लिइनेछ ।
    • स्थानीय आवश्यकताको सिद्धान्त अनुसार स्थानीय पाठ्यक्रम विकास गरी यथाशीघ्र विद्यालयमा कार्यान्वयन गरिनेछ।
    • प्रारम्भिक बालविकास तथा शिक्षालाई गुणस्तरीय पूर्वाधार, बालमैत्री र प्रविधियुक्त सिकाइ बनाइने छ ।
    • डिजिटल सिकाई सामाग्री उपलब्ध गराइ विद्यार्थीले सिक्ने क्षमता अभिवृद्धि गर्न विद्यालयमा इन्टरनेट र अन्य सामाग्रीको व्यवस्था गर्न पहल गरिनेछ ।
    • विद्युतीय प्रणाली मार्फत अध्ययन अध्यापन गर्नका लागि जनशक्ति क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने नीति लिईने छ ।
    • कक्षा ५ को बाह्य परीक्षा वडा स्तरीय र कक्षा ८ को बाह्य परीक्षा गाँउपालिका स्तरीय बनाईने छ ।
    • परीक्षालाइ व्यवस्थित र स्तरीकृत बनाउन परीक्षा केन्द्र र केन्द्राध्यक्ष साथै उच्च स्तरको एक प्रश्नपत्र बैंकको स्थापना गरिने छ ।
    • आवश्यकता भन्दा कम दरबन्दी भएका विद्यालयमा गाउँ शिक्षकको व्यवस्था गर्ने नीति लिइनेछ। पाठ्यक्रम तथा पाठ्यसामाग्रीको तदारुकता साथ कार्यान्वयन गर्ने र शिक्षकहरुका लागि तालिम, सेमिनार र गोष्ठी सञ्चालन गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गरिनेछ।
    • शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी वहन गर्दै पेशा वा जिम्मेवारीप्रति उत्तरदायी बनाउन पेशागत आचारसंहिता बनाई लागू गर्ने र शिक्षक तथा विद्यालय कर्मचारी परिचयपत्रमा निरन्तरता दिइनेछ।
    • गाउँशिक्षा विकास कोषको स्थापना गरी सोही कोषबाट विद्यालयका करार र राहत अनुदान कोटाका शिक्षक (साबिकका उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक समेत) तथा विद्यालय कर्मचारीको संचित बिदा वापतको रकम प्रदान गर्न कार्यविधि मार्फत नीति अवलम्बन गरिनेछ।
    • विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन करार सम्झौता गरी सो कार्यका आधारमा प्रोत्साहन गर्ने नीति अवलम्बन गरिनेछ।
    • विद्यार्थीहरुमा प्रतिस्पर्दाको भावनाको विकास गराउन गाउँपालिकास्तरीय खेलकुद र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ ।
    • छात्रवृत्ति कोषको स्थापना गरी एकद्वार प्रणाली मार्फत विभिन्न किसिमका छात्रवृत्तिलाई एकीकृत रूपमा व्यवस्थित गरी छात्रवृत्तिका लाभग्राहीहरुले यस गाँउपालिकामा अनिवार्य सेवा दिने गरी पहल गरिनेछ।
    • आ.व २०७९/८० मा एक माध्यमिक विद्यालयलाई नमुना तथा आवसीय विद्यालयको रुपमा स्थापना गर्न आवश्यक पहल तथा प्रोत्साहन गरिनेछ। विद्यालयको भौतिक, शैक्षिक र प्रशासनिक पक्षमा सुधार गर्न शिक्षा शाखा वि.व्य.स. र जनप्रतिनिधि सहितको विद्यालय सरोकारवालाको सहभागितामा आधारित अनुगमन गर्ने नीति लिईनेछ।
    • उच्च शिक्षाका लागि सामुदायिक बहुमुखी क्याम्पस स्थापना गर्न पहल गरिनेछ। आधारभूत विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई अध्ययन निरन्तरताको व्यवस्था मिलाउने नीति लिइनेछ।
    • निरन्तर शिक्षाका कार्यक्रमलाई प्राथमिकता दिईनेछ। शैक्षिक तथ्याङ्कलाई एकीकृत रूपमा व्यवस्थित बनाई बार्षिक रुपमा गाउँपालिकास्तरीय शैक्षिक तथ्याङ्क प्रकाशनलाइ निरन्तरता दिइनेछ। माध्यमिक विद्यालयहरुमा शिक्षक कर्मचारीको ई हाजिरीको व्यवस्था गरिनेछ ।
    • सामुदायिक विद्यालयको सुधार महाभारत सरकारको कार्यभार भन्ने नाराका साथ शैक्षिक सुधार र गुणस्तर कायम गर्न अभिभावक शिक्षालाई अभिमुखीकरण गर्ने नीति लिइनेछ ।
    • प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाइ प्रोत्साहन गर्न OJT को लागि आवश्यक सामग्रीको लागि पहल गरिनेछ ।

    (ख २) स्वास्थ्य

    • कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गरी जनताको धनजनको सुरक्षाको लागि खोप कार्यक्रमलाई निरन्तर सञ्चालन गर्न प्राथमिकता दिइने छ ।
    • निर्माणाधीन स्वास्थ्य संस्थाहरुलाई समय सीमा भित्र नै निर्माण गर्न लागाई सेवा सञ्चालन गरिने छ । स्वास्थ्यमा पहुँच कम भएको स्थानमा सामुदायिक स्वास्थ्य केन्द्र खोल्न प्रदेश सरकार तथा संघ सरकार समक्ष समन्वय गरिनेछ ।
    • अति गरिबको सूचीमा परेका दलित ज्येष्ठ नागरिक, असक्त तथा अपाङ्ग, गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ ।
    • नेपाल सरकारले तोकेको औषधि वाहेक जेष्ठ नागरिक, अपाङ्गले दीर्घकालीन रुपमा लिनु पर्ने औषधि सम्बन्धित रोगको चिकित्सक संगको परामर्शमा निःशुल्क वितरण गरिनेछ ।
    • संस्थागत सुत्केरी बढाउन तथा सुत्केरी पोषणका लागि आवश्यक कार्यक्रम संचालन गरिने छ ।
    • विभिन्न सरुवा रोग नियन्त्रणका लागि स्वास्थ्य कर्मीहरुलाई आवश्यक तालिमको व्यवस्था गरिनेछ । सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाको मनोबल उच्च राख्न मासिक बैठकमा यातायात खर्च बढाइनेछ ।
    • विभिन्न स्वास्थ्य संस्थाहरुलाई प्रविधि मैत्री घोषणा गरिनेछ ।
    • ६० वर्ष माथिका महिला स्वयं सेविकालाई दीर्घकालीन सेवा सम्मानबाट पुरस्कृत गरिने छ ।
    • विभिन्न वडाहरुमा एकीकृत स्वास्थ्य सिविर सञ्चालन गरिने छ ।
    • घर्तिछाप स्वास्थ्य चौकीमा सञ्चालित ल्याव सेवालाई विस्तार गरिनेछ ।
    • सबै वडामा वर्थिङ सेन्टर स्थापना गर्ने नीति लिइनेछ ।
    • स्वास्थ्यकर्मीको मनोवल उच्च राख्न क्षमता विकास तालिम सञ्चालन गरिनेछ ।
    • बच्चाको वृद्धि महाभारतको सम्वृद्धि भन्ने नाराका साथ कुपोषित बच्चाहरुका लागि आवश्यक पोषण कार्यक्रममा जोड दिइने छ ।
    • घर्तिछापमा सञ्चालित कोभिड अस्पतालाई निरन्तर सञ्चालन गरिनेछ ।

    (ख ३) खानेपानी तथा सरसफाई

    • “स्वच्छ र सफा पिउने पानी स्वस्थ जिन्दगानी’ भन्ने नारालाई सफलीभूत पार्न गाउँपालिकाका सबै बस्ती र समुदायमा एक घर एक धाराको नीति अनुरुप स्वच्छ रसफा पिउने पानी उच्च प्रथामिकताको साथ अगाडि बढाईने छ ।
    • खानेपानीको मुहान संरक्षण तथा सुरक्षित खानेपानीको लागी जनचेतना मुलक कार्यक्रम संचालन गरिनेछ ।
    • खानेपानी वितरणलाई सहज र प्रभावकारी वनाउन मुहानको एकात्मक अधिकार अन्त्य गर्दै सामुहिक अधिकार स्थापित गरिनेछ ।
    • महाभारतको सान पुर्ण सरसफाई युक्त पालिका हाम्रो अभियान भन्ने मूल नाराका साथ वडा तथा पालिका स्तरमा सरसफाईका विभिन्न कार्यक्रम संचालन गरिनेछ ।
    • वातावरणीय तथा पर्यावरणीय सन्तुलन कायम गर्न आवश्यक नीति लिईनेछ ।
    • गाउँपालिका भित्र उत्पादन हुने फोहरमैला व्यवस्थापन गर्न आवश्यक नीति लिइने छ ।
    • गाउँपालिका भित्र सञ्चालित क्रमागत खानेपानीका योजनाहरुलाई यथाशीघ्र सम्पन्न गरिदै लगिनेछ ।
    • खानेपानीका समितिहरुलाई वातावरण तथा सरसफाई प्रति उत्तरदायि बनाउने खालका नीति अबलम्बन गरिनेछ ।

    (ख ४) संस्कृति प्रवर्द्धन

    • गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जातजातिहरुको भाषा, भेषभूषा, संसकृति तथा सम्पूर्ण धार्मिक, साँस्कृति सम्पदाहरुकीव को संरक्षण तथा संवर्द्धन गर्ने नीति लिईनेछ ।
    • कला, साहित्य र संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक तालिम, प्रतियोगिता, शोध तथा कार्यशाला जस्ता कार्यक्रमहरुको शुरुवात गरिनेछ ।
    • गाउँपालिकाभित्र भएका ऐतिहासिक, पुरातात्विक, धार्मिक, पर्यटकीय सम्पदा, मठ मन्दिर, गुम्बा, पाटी, पौवा, सत्तल, कुवा, पधेरो, ढुङ्गेधारा, अन्तिम दाहसंस्कार गर्ने घाट जस्ता सम्पदाहरुको पुननिर्माण तथा संरक्षण गरिनेछ ।

    (ख ५) खेलकुद तथा मनोरञ्जन

    • “महाभारत गाउँपालिकाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुलनाराका साथ खेलकुद प्रतियोगितालाई निरन्तरता दिइने छ।
    • गाउँ खेलकुद समितिको गठन गरी सम्पूर्ण खेलकुद गतिविधिलाई नियमन र व्यवस्थित गर्दै संस्थागत रुपमा विकास गरिनेछ।
    • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक तथा पुरस्कार प्राप्त गर्न सफल एवं अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भएका खेलाडी वा प्रशिक्षकको सम्मानमा बधाई तथा अभिनन्दन कार्यक्रम गर्ने नीति अवलम्बन गरिनेछ।
    • खेलकुद सम्बन्धी तालिम, प्रशिक्षण, प्रतियोगिता लगायतका क्रियाकलापका लागि गाउँपालिकामा गाउँ खेलकुद विकास कोषको स्थापना गरिनेछ।
    • युवा लक्षित कार्यक्रम तथा युवा क्षमता विकास कार्यक्रम मार्फत युवा परिचालन गर्ने नीति लिइनेछ।
    • टिम, क्लब, संघ संस्था, विषयगत खेल प्रशिक्षण समिति, वडा स्तरीय खेलकुद समितिहरुको व्यवस्थापन गर्ने नीति लिइनेछ।
    • टोल, गल्ली, चोक र सडक आदिलाई स्वच्छ र सफा राख्न खेलकुद संघसस्थालाई परिचालन गरिनेछ।
    • महाभारत खेलकुद समितिले खेलकुद विकास र खेलाडीको स्तरवृद्धि गर्नका लागि आवश्यकता अनुसार विभिन्न खेलहरुको तालिम र प्रशिक्षणको व्यवस्था गरिनेछ।

    (ख ६) लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण

    • गाउँपालिकाभित्र महिला हिंसा न्युनीकरणका लागी आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
    • बालविवाहलाइ निरुत्साहित गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
    • महिला सशक्तीकरण तथा क्षमता बिकास सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
    • महिलाहरुलाई स्वावलम्बी बनाउन आवश्यक सीप विकासका कार्यक्रम सञ्चालन गरिनेछ सामाजिक भेदभावको न्युनिकरण गर्न आवश्यक निति लिईने छ ।
    • लैङ्गिक हिंसा, मानव बेचबिखन लगायतका सबै किसिमका हिंसाहरुको अन्त्यको लागि बिभिन्न सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।
    • आयोजना कार्यान्वयनमा महिलाहरुको सहभागिता बढाउन र निर्णय प्रक्रियामा महिलाको अर्थपुर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक विभेदलाई कम गर्ने नीति अवलम्बन गरिनेछ ।
    • दलित, जनजाति तथा आदिवासीहरुको जीवनस्तरमा सुधार ल्याउन आयआर्जन र सीप विकासका कार्यक्रमहरु संचालन गरिनेछ ।
    • दलित, अल्पसंख्यक, पिछडीएका वर्ग र समुदायहरुको क्षमता अभिबृद्धिका कार्यक्रमहरु संचालन गरिनेछ ।
    • बालश्रम न्यूनीकरण, बाल शोषण अन्त्य, घरेलु बालश्रमिकको पुनःस्थापना तथा जोखिममा परेका बालबालिकाहरुको पुनस्थापना गरी यस गाउँपालिका क्षेत्रलाई बालश्राम उन्मुलन क्षेत्र घोषणा गर्ने गरी नीति तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
    • ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभव र विज्ञतालाई ग्रामीण विकास कार्यमा पूँजीकृत गर्दै उनीहरुको सम्मानित, मर्यादापूर्वक जीवन व्यतित गर्ने वातावरण मिलाउनगाउँपालिकास्तरीय ज्येष्ठ नागरिक समाज गठनका लागि पहल गरिनेछ ।
    • सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी र पारदर्शी ढङ्गले सञ्चालन तथा अनुगमन गर्ने व्यवस्था मिलाइने छ ।
    • लैङ्गिक समानता र सामाजिक समावेशीकरणको नीतिलाई मूलप्रवाहीकरणमा ल्याइनेछ ।
    • आदिवासी, जनजाति, दलित तथा सीमान्तकृत समुदायको अधिकार, सेवा सुविधा, क्षमता विकास र समान अवसरका लागि विशेष प्राथमिकताका साथ योजना तथा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
    • दलित, आदिवासी तथा जनजातिहरुको परम्परागत पेशालाई आधुनिकीकरण गरी जीवनयापनको आधार बनाउन लक्षित कार्यक्रम संचालन गरिने छ ।

    (ग) पुर्वाधार विकास –

    (ग १) स्थानीय सडक, पुल तथा झोलुङ्गे पुल

    • “विकासको मुख्य आधार दिगो पूर्वाधार” भन्ने अभियान लाई अगाडि बढाउंदै पूर्वाधार निर्माणमा दिगोपना सुनिश्चित गरिनेछ । सडक पूर्वाधार गुरुयोजना यथाशीघ्र बनाई कार्यान्वयनमा लगिनेछ ।
    • ग्रामीण सडकहरुको स्तरोन्नती गर्दा अनिवार्य रुपमा नाली निर्माण गर्नु पर्ने नीतिलाई कडाईका साथ कार्यान्वयनमा ल्याईने छ ।
    • गाउँपालिकाको केन्द्र रहेको क्षेत्र देविटार आसपास भविष्यमा बस्ति विकास बढ्दै जाने संभावनालाई मध्यनजर गर्दै यस क्षेत्रको योजनाबद्ध विकासको लागि एकीकृत शहरीविकास योजना तयार गरी कार्यान्वयनमा ल्याईने छ ।
    • ग्रामीण सडकहरुको स्तर निर्धारण तथा मापदण्ड तयार गरी सवै सडकहरुको लगतकट्टा गर्न पहल गरिनेछ ।
    • जिल्ला सदरमुकाम धुलिखेल देखि गाउँपालिका केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गर्ने आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउन पहल गरिनेछ ।
    • गाउँपालिका केन्द्र देखि वडा कार्यालय सम्म जोड्ने सडक व्यवस्थित गर्दै लगिनेछ ।
    • यस गाउँपालिका भित्रको मुख्य मुख्य खोलाहरुमा पक्की पुलको निर्माण गर्न विशेष जोड दिईनेछ ।
    • गाउँपालिका चक्रपथ निर्माणको लागी विस्तृत कार्य योजना अगाडि बढाईने छ ।
    • गाउँपालिका भित्रका सडकहरुलाई मापदण्ड अनुसारको स्तरोन्नतिको कार्यलाई प्रभावकारी बनाईनेछ ।
    • सडक सञ्जाल जोड्न बाँकी गाउँपालिकाको सबै टोलहरुमा जोड्ने सडकलाई विशेष जोड दिईनेछ ।

    (ग २) सिंचाई

    • गाउँपालिका क्षेत्रभित्र रहेको सिंचाई कुलोहरुको मर्मत संभार गरी बाहै महिना सिंचाई सुविधा पुर्याउने कार्यलाई उच्च प्राथमिकता दिईनेछ ।
    • गाउँपालिकाका कृषि योग्य भूमीमा सिञ्चाइको लागि श्रोतको खोजी गदै नहर, कूलोवाट सिञ्चाई हुन नसक्ने स्थानमा लिफ्ट सिञ्चाइ, पलाष्टिक पोखरी जस्ता कार्यक्रमलाई प्राथमिकता दिई क्रमिक रुपमा सिञ्चाई सुविधा पुयाइनेछ ।
    • सम्भावित नयाँ सिंचाई आयोजनाहरु निर्माण गरी थप जग्गामा सिंचाई सुविधा पुयाई कृषि उत्पादनमा बृद्धि गर्दै जाने नीति अबलम्बन गरिनेछ ।

    (ग ३) भवन तथा शहरी विकास

    • गाउँपालिका क्षेत्रमा नयाँ घर निर्माण गर्दा नक्सा पास सहित भवन निर्माण संहिता मापदण्ड -२०७२ लाई पूर्ण रुपमा पालना गर्न अभिप्रेरित गरिनेछ ।
    • गाउँपालिका भित्र रहेका ग्रामीण क्षेत्रलाई क्रमिक रुपमा विकासका पूर्वाधारहरु निर्माण गरी सहरीकरण गरिनेछ ।
    • महाभारत गाउँपालिका क्षेत्रमा रहेको सार्वजनिक जग्गाको अभिलेख तयार गरिनेछ साथै अतिक्रमित सार्वजनिक जग्गा खाली गराईनेछ ।
    • भवन निर्माणलाई व्यवस्थित गर्न गाउँपालिकाको भवन निर्माण संहिता बनाई लागू गरिने छ । साथै व्यवस्थित शहरीकरणलाई प्राथमिकता दिई सोही बमोजिम गुरु योजना निर्माणगरी अधि बढाईने छ ।
    • संघ सरकारसँग समन्वय गरी सुविधा सम्पन्न गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यलाइ यस वर्ष नै सम्पन्न गर्न जोड दिइनेछ।
    • सबै वडा कार्यालयहरुको भवण निर्माण कार्य यसै वर्ष सम्पन्न गरिनेछ ।

    (ग ४) उर्जा

    • यसै आर्थिक बर्ष भित्र प्रत्येक घर धुरीमा केन्द्रीय विद्युत प्रसारणको लागि विशेष जोड दिईनेछ ।
    • गाउँबासीलाई सौर्य उर्जा उत्पादनलाई प्रोत्साहन गरी उज्यालो गाउँपालिका अभियान सञ्चालन गरिनेछ ।
    • गाउँपालिका क्षेत्रका सार्वजनिक चोकहरुमा सौर्य वत्ति जडान गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
    • यस गाउँपालिकाभित्र रहेका महत्वपुर्ण खोलाहरु कोखाजोर, बनखुखोला, चाउखोला जस्ता नदीहरुको विस्तृत सम्भाव्यता अध्ययन गरी विद्युत उत्पादनको कार्यमा जोड दिईनेछ ।

     (घ) वातावरण तथा विपद ब्यवस्थापन –

    (घ १) वन तथा भू – संरक्षण

    • गाउँपालिका क्षेत्रभित्रका सबै सामुदायिक वनको संरक्षण गर्न सामुदायिक वन उपभोक्ता समितिलाई क्रियाशिल बनाईनेछ ।
    • गाउँ क्षेत्रका सामुदायिक तथा सरकारी वनको संरक्षण गर्दै वृक्षारोपण कार्य अगाडि बढाइनेछ भने आवश्यकता अनुसार जडिबुटी विकास कार्यक्रम तथा भू-संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
    • भिरालो भु-बनावट कारण हुनसक्ने भू-क्षय जस्ता प्राकृतिक प्रकोपको जोखिमलाई न्यून गर्न दिगो भु-संरक्षण नीति अवलम्बन गरिनेछ ।
    • डढेलो लगायत वन विनास प्रति नागरिकलाई सचेत गराई वन संरक्षणमा सबैलाई सहभागिता गराइनेछ ।
    • सामुदायिक वन व्यवस्थापन नीतिलाई सहयोग पुग्ने खालका कार्यक्रमहरु कार्यान्वयन गरी सामुदायिक वन उपभोक्त समूहहरुको क्षमता विकासका कार्यक्रमहरु ल्याइनेछ ।
    • पहिरो गएको स्थान तथा पहिरोको जोखिम रहेको स्थानमा आवश्यक पूर्वाधार निर्माण गरी क्षति न्यूनीकरण गर्ने उपाय अबलम्बन गरिनेछ ।

    (घ २) जलाधार संरक्षण

    • वृक्षरोपण र तारवार गरी गाउँपालिका क्षेत्रभित्रका जलाधार संरक्षण गर्ने तथा पानी भकारी (प्लाष्टिक पोखरी) निर्माणका लागि आवश्यक योजना संचालन गरिनेछ ।

    (घ ३) वातावरण संरक्षण र जलवायु परिवर्तन

    • “सफा र सुन्दर महाभारत स्वच्छ र हरियाली’ भन्ने नारासहित वातावरण संरक्षणका विविध कार्यक्रमहरु संचालन गरिने छ ।
    • परम्परागत कुवा, धारा पंधेरा जस्ता पानीको श्रोतहरुको बिशेष संरक्षण गरिने छ । जलवायु परिवर्तन अनुकुल क्षमता बढाउन बिभिन्न कार्यक्रमहरु संचालन गरिनेछ ।
    • महाभारत गाउपालिकाका हरेक योजना तथा कार्यक्रमहरुमा वातावरण तथा पर्यावरण र जलवायुमैत्री पूर्वाधार विकासमा जोडदिइनेछ ।
    • जलवायु परिवर्तनको प्रभावबाट पर्ने असरहरुबाट बच्ने उपायका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिनेछ ।

    (घ ४) फोहरमैला तथा ढल व्यवस्थापन

    • फोहोरमैला व्यबस्थापन सम्बन्धि विविध कार्यक्रम संचालन गरिनेछ ।
    • साझेदार संस्थाहरुसँगको सहकार्यमा प्लाष्टिकजन्य वस्तु वातावरणीय दृष्टिकोणमा हानिकारक हुन भन्ने कुराको चेतना अभिवृद्धि गराउदै यसको विकल्पको खोजी गरी प्रयोगगर्न प्रोत्साहित गरिने छ ।
    • गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरुमा फोहरमैला तथा ढल व्यवस्थापनलाई उच्चप्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरिनेछ ।

    (घ ५) विपद व्यवस्थापन

    • विपद् व्यवस्थापनलाई स्थानीय सरकारको मुख्य जिम्मेवारीको रुपमा लिईनेछ ।
    • सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि गाउँपालिकाका सबै वडामा जनचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
    • विपद् पश्चात आइपर्ने जोखिमबाट बाँचनका लागि पूर्व तयारी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
    • नेपाल रेडक्रस सोसाइटी लगायत अन्य सरोकारवाला निकायहरुसँगको सहकार्यमा विपद् व्यवस्थापन कार्ययोजना तयार गरी कार्यान्वयन गरिनेछ ।
    • गाउँपालिकाबाट सडक निर्माण लगाएतका बिकास निर्माण कार्य संचालन गर्दा वातावरणीय्रप्रभाव मूल्याङकन गरी वातावरण मैत्री बनाईनेछ ।

    (ङ) संस्थागत विकास, सेवा प्रवाह र सुशासन

    (ङ १) सामान्य सेवा

    • “स्थानीय सरकार जननिकटतम सरकार’ बनाउन गाउँपालिका र सम्बन्धित वडाबाट प्रदान गरिने सेवालाई छिटो, छरितो नागरिक मैत्री बनाईनेछ ।
    • गाउँपालिकाको प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पेशागत, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउँदै लगिनेछ ।
    • गाउँपालिकाभित्रका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्ने परिपाटीको विकास गरी पूर्ण जिम्मेवारी बहन गर्ने कर्मचारीको उचित मूल्याङ्कन गरी पुरस्कृत र नगर्ने कर्मचारीलाई कारवाही गर्ने परिपार्टीको विकास गरिनेछ ।
    • कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता विकासका लागि आवश्यक तालिम तथा भ्रमणको ब्यवस्था गरिनेछ ।

    (ङ ३) सूचना प्रविधि तथा सञ्चार

    • नेपाल टेलिकम लगायत अन्य सेवा प्रदायकसँगको सहकार्यमा ग्रामीण क्षेत्रका सबै स्थानमा गुणस्तरीय मोबाइल फोन तथा इन्टरनेट सेवाको सुनिश्चिताको लागी पहल गरिनेछ ।
    • गाउँपालिकाका सबै वडाहरुलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयहरुमा आवश्यक जनशक्ति तथा संचार पूर्वाधार ब्यवस्थापनमा जोड दिईने छ ।
    • गाउँपालिकाको सबै वडा कार्यालय तथा सामुदायिक विद्यालयहरु र स्वास्थ्य संस्थाहरुमा निशुल्क इन्टरनेट सेवा सुविधाका लागि कार्य अगाडि बढाईनेछ ।
    • युवा पुस्तालाई सक्षम र सबल बनाउनका लगि सूचना र प्रविधिको माध्यमबाट लोकसेवा तयारी कक्षा सञ्चालन गरिनेछ ।
    • सूचना र प्रविधिको माध्यबाट गाउँपालिकामा सेवाग्राहीको गुनासो सम्बोधन गरिने परिपार्टीको विकास गरिनेछ ।
    • गाउँपालिको प्रत्येक वस्तीहरुमा बाहै महिना चल्ने टेलिफोन सेवाको लागी आवश्यक पहल गरिनेछ ।
    • गाउँपालिकामा रहेका सबै सर्वजनिक सेवा प्रवाहलाई आम नागरिकमा सुसुचित बनाउन आवश्यक व्यवस्था गरिनेछ ।

    (ङ ५) स्थानीय तथ्याङ्क संकलन र अभिलेख व्यवस्थापन (सामाजिक सुरक्षा तथा पञ्जीकरण)

    • गाउँपलिकाको समग्र सूचना संकलन गरी गाउँपालिकाको पाश्वचित्र बनाई अद्यावधिक गर्दै लगिनेछ ।
    • साविक गाविस हुँदा बखतदेखिका अभिलेखहरुलाई कम्प्युटराईज गरी सुरक्षित राख्ने प्रयत्न गरिनेछ ।
    • सबै वडाहरुमा इन्टरनेट जडान गरी व्यक्तिगत घटना दर्ता अनलाईन प्रणालीबाट सुचारु गरिने छ ।
    • सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई व्यवस्थित गर्न अनिवार्य बैंकिङ प्रणालीबाट वितरण र वर्षमा कम्तिमा एक पटक भुक्तानी शिविरको व्यवस्था मिलाइनेछ ।

    (ङ ६) सुशासन प्रवर्द्धन

    • गाउँपालिकाका प्रशासनिक कार्यहरुलाई पारदर्शी बनाईने छ ।
    • डिजिटल नागरिक वडापत्र, गुनासो सुन्ने प्रभावकारी संयन्त्रको व्यवस्था गरी नागरिकलाई सुशासनको अनुभूत दिलाउने गरी कार्य सञ्चालन गराईने छ ।
    • योजना सञ्चालित अनिवार्य रुपमा स्थानीयको लागत सहभागिता गर्नुपर्ने नीति अवलम्बन गरिने छ ।
    • प्रत्येक योजना तथा कार्यक्रममा उपभोक्ताहरुको छुट्टै अनुगमन समिति, प्रत्येक वडामा वडा समिति र गाउँपालिकामा गाउँपालिका उपध्यक्षको संयोजकत्वमा गठित अनुगमन समिति गरी तीन तहको अनुगमन संयन्त्रवाट सवै योजना तथा कार्यक्रमहरुको अनुगमनको व्यवस्था मिलाइनेछ ।
    • नागरिक बडापत्रका बारेमा सेवाग्राहीलाई सचेत गरिदै लगिनेछ ।
    • सूचनाको हक सम्बन्धी कानून बमोजिम सेवाग्राहीले मागेका विवरणहरु समयमै उपलब्ध गराइनेछ ।
    • गाउँपालिकाबाट संचालित योजना तथा कार्यक्रमहरुको सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई र सामाजिक परिक्षणका कार्यहरु नियमित रुपमा गरिनेछ ।
    • गुनासो सुन्ने र समाधान गर्ने परिपाटीको विकास गरिनेछ । निर्वाचित पदाधिकारी तथा कर्मचारी प्रशासन संयन्त्रलाई सबल, सक्षम, समावेशी, जवाफदेही, सदाचारी, पारदर्शी र वित्तीय जोखिम युक्त बनाइनेछ ।
    • गाउँपालिकाद्वारा प्रवाह हुने सेवा तथा राजश्व संकलनमा पारदर्शिता जवाफदेहिता रनागरिकमा सन्तुष्टि कायम गर्ने उद्देश्य राख्ने नीति लिईनेछ ।
    • वित्तीय व्यवस्थापनको जवाफदेहिता र क्षमतामा अभिबृद्धि गर्न लेखाङ्कन प्रणालीलाई चुस्त दुरुस्त र कम्प्युटराईज गरिनेछ ।
    • कार्यक्रम तथा बजेटको आय व्यय विवरण सजिलै देखिने ठाउँमा टाँस गर्नुका साथै सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन गरिनेछ ।

    यस गाउँपालिकाबाट हुने सम्पुर्ण कारोवारहरु बैकिङ्ग प्रणाली मार्फत मात्र हुनेछ ।

    • सार्वजनिक खरिद प्रणालीलाई प्रतिस्पर्धी, पारदर्शी र गुणस्तरीय बनाउदै लगिनेछ ।
    • भ्रष्टाचारजन्य क्रियाकलाप प्रति शुन्य सहनसिलताको अवधारणा मार्फत सुशासनमा टेवा पुर्याइनेछ।
    • बेरुजुलाई नियन्त्रण गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाईनेछ ।

    (ङ ७) अनुसन्धान, विकास र विविध

    • गाउपालिकाको समग्र विकासका लागि सामाजिक संघ संस्थाहरुसँगको सहकार्यलाई जोड दिइनेछ ।
    • गाउँपालिकामा कार्यक्रम स्वीकृत गराएका संघ सस्थाहरुसंग आवश्यक सहकार्य र साझेदारीमा कार्यक्रम सञ्चालन गरिनेछ भने, गाउँपालिकामा समन्वय नगरी यस क्षेत्रमा कार्यक्रम सञ्चालनको लागि रोक लगाइनेछ ।
    • गाउँको आन्तरिक आय अभिबृद्धि गर्न आन्तरिक आय सुदृढीकरण कार्य योजना अनुरुप करको दायरालाई बढाउँदै सहभागितामूलक कर नीति अवलम्बन गरिनेछ ।
    • स्थानीय सरकार सञ्चालनको मूल आधार स्थानीय आय भएकाले गाउँबासी, उद्योग वाणिज्य संघ, स्थानीय विद्यालय सहकार्य गरी कर सचेतना तथा अभिबृद्धि कार्यक्रम मार्फत कर अभियानलाई अघि बढाइनेछ ।

    राजनीतिक सामाजिक तथा आर्थिक उपलब्धीलाई संरक्षण गर्दै थप समुन्नत बनाउने महाभारतको हित, गौरव, सम्मान र स्वाभिमान वृद्धि गर्ने र विकास निर्माणलाई तीव्रता दिने अठोटका साथ आ.व. ०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छु ।

    प्रस्तुत नीति तथा कार्यक्रमले महाभारतलाई सम्वृद्ध बनाउने मार्गदर्शक दस्तावेजको रुपमा लिएको छु । गाउँपालिकालाई सम्वृद्ध बनाउन सबै पालिकावासीको आ-आफ्नो ठाउँमा उतिकै महत्वपूर्ण भूमिका छ । यो नीति तथा कार्यक्रम सरकारी, गैरसरकारी, निजी, सहकारी लगायत विकासका सबै साझेदार वा पक्षधरको लागि मार्गचित्र हो । यसर्थ महाभारत गाउँपालिकाको विकास निमार्ण कार्यमा आ-आफ्नो क्षेत्रबाट सहयोग पुयाउन र रचनात्मक सल्लाह, सुझाव दिन हामी गाउँपालिकावासीलाई हार्दिक आग्रह गर्दछौं । हामीले गाउँपालिकावासीबाट प्राप्त रचनात्मक सल्लाह, सुझावलाई सधैं आत्मसात गर्नेछौं । विकास निर्माणका कार्यमा हामीहरु सबैको एउटै दृष्टिकोण हुनुपर्छ भन्नेमा हामी दृढ छौं । केन्द्रीय, प्रादेशिक, क्षेत्रगत र स्थानीय योजनावीच तादाम्यता कायम गरी पालिकाको सर्वाङ्गीण विकास र समृद्धिको स्पष्ट दृष्टिकोण सहितको दीर्घकालीन योजना निर्माणको पथमा हामी छौं ।

    अन्तमा, महाभारतको समग्र विकासमा योगदान गर्ने राजनीतिक दल, राष्ट्रसेवक, शिक्षक कर्मचारी, निजी सहकारी र सामुदायिक क्षेत्र, श्रमिक वर्ग, नागरिक समाज, सञ्चार जगत लगायत सम्पूर्ण महाभारतवासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै गाउँपालिकाको दीगो विकासका हरेक अभियानमा निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछु ।

    कान्छालाल जिम्बा

    अध्यक्ष महाभारत गाउँपालिका

    धन्यवाद।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार