२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

कांग्रेस उम्मेदवारले स्वीकारे हार


१०६८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख ११, सोमबार मा प्रकाशित १ साल अघि
  • तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार्दै मतदाता प्रति आभार व्यक्त गरेका छन् ।

    जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग १० हजार मत अन्तरले पछि परेका उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ ।

    चुनावी घरदैलोका क्रममा विगतप्रतिको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्दै उनले सानो खुशी पनि दिलाएको महसुस भएको बताएका छन् ।

    उनले ठूला आदर्शभन्दा नागरिकका व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो राजनीतिक यात्राका क्रममा जनतासँगै रहेर काम गरेको बताएका छन् ।

    भट्टराईको स्टाटस

    हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ । पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो ।

    ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ । यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ ।

    मलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु ।

    चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुशी पनि दिलाएको महसुस गरें । साथै, मप्रति विश्वास नगर्नुहुनेप्रति पनि आभार प्रकट गर्दछु ।

    सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

    उही तपाईंको
    गोविन्द

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार