२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

रोकियो सूर्यविनायक–धुलिखेल सडकको काम


१५९१३ पाठक संख्या
  • २०८० जेष्ठ ३०, मंगलबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभे्रको लागि गौरवको रुपमा अगाडि बढेको अरनिको राजमार्ग खण्ड सूर्यविनायक–धुलिखेल सडक पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ ।

    विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न भनेको हो । सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य तत्काल रोक्न परिपत्र गरिएको पुरातत्व अधिकृतले जानकारी गराएको छ ।

    उनका अनुसार, प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिलालाई संरक्षण गर्नसमेत आग्रह गरिएको छ । यस्तै विभागले राजमार्ग अन्तर्गत पर्ने बनेपा नगरपालिकालाई समेत उक्त कार्य रोक्ने सम्बन्धमा पत्राचार गरेको छ ।

    गत फागुनदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार सुरु गरिएको थियो । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडक खण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो ।
    राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल कूल १५.५ किलोमिटर सडकखण्ड चार लेनमा विस्तार थालिएको हो ।

    सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँका ठेक्का लगाइएको छ भने दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमि रहेको छ । सो सडक निर्माणको लागि ठेक्का तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%३%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार