काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. २ काफलडाँडामा अवस्थित तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
अवलोकन भ्रमण कार्यक्रममा चार मन्त्रीको सहभागिता रहेको थियो । जसमा बागमती प्रदेश अर्थ मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थबहादुर लामा, उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको उपस्थित रहेको थियो ।
तिनधारे झरना अवलोकन पश्चात आयोजित कार्यक्रममा बागमती प्रदेश अर्थ मामिला तथा योजना बहादुर सिं लामाले तिनधारे झरना संरक्षण संवर्धनका लागि बागमती प्रदेश प्रतिबद्ध रहेको बताउनु भयो । झरना काभ्रेको मात्र नभएर बागमती प्रदेशकै गौरबको पर्यटकीय स्थल बन्न सक्ने उहाँको तर्क रहेको छ ।
खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ बहादुर लामाले पर्यटकीय स्थल तिनधारे झरनाको विकासको लागि सदैव लाग्ने बताउनु भयो । देशकै पर्यटकीय स्थलको रुपमा विकास गरेर लैजानुपर्ने बताउनु भयो । दाप्चा–फलामेसँघु–काफलडाँडा तिनधारे झरनासम्म सडक स्तरोन्नती हुने ठोकुवा गर्नुभयो । ‘तिनधारे झरनासम्म आई पुग्न दाप्चा–फलामेसाँघु–काफलडाँडा सडक स्तरोन्नती हुन्छ । पहिलो फेजमा दाप्चा–फलामेसाँघु स्तरोन्नती हुन्छ र त्यसपछि फलामेसाँघु–काफलडाँडा देस्रो फेजमा स्तरोन्नती तथा पिज हुने छ ।’ मन्त्री लामाले बताउनु भयो ।
कार्यक्रममा उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले आफ्नो मन्त्रालयले सक्ने र मिल्ने जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । तिनधारे झरना क्षेत्र विकासका लागि सम्भव हुने जुनसुकै सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले तिनधारे झरनाको प्रवद्र्धनगरेर आर्थिक उपार्जनमा लाग्नु पर्ने बताउनु भयो । त्यसका लागि बागमती प्रदेश सरकारले सहयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामा , रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा , रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबा , रोशीका समाजसेवी सार्कीमान वल , वडाध्यक्ष हस्तमान लामा लगायतका बक्ताहरुले आ—आफ्नो धारणा राख्नुभएको थियो । मिक्साङ वाईबाले सञ्चालन गरेको कार्यक्रममा रोशी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष श्रीदास लामाले स्वागत मन्तव्य राख्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस