काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले केही अपवादमा बाहेक आर्थिक विकास विकास मित्र बचत तथा ऋण सहकारी संस्था लगायतका पाँचखालमा विगत देखि सञ्चालनमा रहेको सहकारी विवादमा नरहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको १७ औं बाषिर्क साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख खरेलले उक्त धारणा व्यक्त गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख खरेलले भन्नुभयो “ सहकारीहरुको उदय नहुँदा सानासाना पुँजीलाई धान चामलको धोक्रामा लुकाएर राख्नुपर्ने अवस्था थियो । जव सहकारीको उदय भयो छरिएर रहेको पुँजीलाई सहकारीमा बचत गर्दा सुरक्षित भयो ।” जव घरका अभिभावकले सहकारीमा बचत गर्नुहुन्छ तव पुँजीको साथै छोराहरू समेत सुरक्षित भएको नगरप्रमुख खरेलले बताउनु भयो ।
करिब तीन दशकदेखिको सहकारी आन्दोलनले आर्थिक क्रान्ति ल्याएको छ ‚ सहकारीले व्यवसायको लागि लगानी गर्ने कर्जालाई कोसियारीको साथ चलाउनु पर्छ । सहकारी वा बैकमा कर्जा लिएर विलासिताका सामाग्री खरिद गर्ने वा मोज मस्ती गर्ने हो भने सहकारीको कर्जाले पिरोल्छ । सहकारीमा लिएको कर्जा सदुपयोग गरेर कर्जा चुक्ता गर्ने अठोट लिएर अगाडि बढ्दा सहज हुन्छ । आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको साथमा पाँचखाल नगरपालिका रहेको नगरप्रमुख खरेलले बताउनु भयो ।
संस्थाको अध्यक्ष सरोज सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिको प्रवक्ता अप्सरा ( ढुंगाना ) सिपखान ‚ पाँचखाल सहकारी सञ्जाल प्रतिनिधि शिवहरी लामिछाने‚ प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशव प्रसाद काफ्ले‚ स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओंकार श्रेष्ठ ‚ प्रतिष्ठा कृषि सहकारी संस्था अध्यक्ष ज्ञान बहादुर थापा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाको प्रगति प्रतिवेदन संस्थाका सचिव नारायण प्रसाद ढुंगाना ‚ आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष राजन कार्की र लेखा प्रतिवेदन लेखा संयोजक बद्री प्रसाद आचार्यले प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस