२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

तेमाल गाउँपालिकाको बजेट ५० करोड ८९ लाख,नीति तथा कार्यक्रम र बजेट पारित


४८३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ अषाढ १०, सोमबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाको १५ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष दलमान थोकरले प्रस्तुत गरेको बजेट सर्वसम्म ढंगले पारित गरेको छ ।

    अध्यक्ष तामाङले चालु आर्थिक वर्षको समिक्षा र आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैगरि उपाध्यक्ष दलमान थोकरले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेका थिए ।

    गाउँसभामा उपाध्यक्ष थोकरले ५० करोड ८९ लाख ६८ हजार ८ सय रुपैयाँ बजेट पेश गरेको छ । उनका अनुसार आर्यतर्फ वित्तिय समानीकरण अनुदान (संघीय सरकार)बाट ८ करोड ८६ लाख, संघीय सशर्त अनुदान २३ ल करोड ८७ लाख, समपुरक अनुदान ६५ लाख, वित्तिय समानकरण अनुदान ८४ लाख २९ हजार, प्रदेश शसर्त अनुदान २ करोड २२ लाख ६८ हजार, समपुरक अनुदान १ करोड, विशेष अनुदान ७० लाख, राजस्व बाँडफाँड संघ ८ करोड ६२ लाख, राजस्व बाँडफाँड प्रदेश २ करोड २ लाख ७१ हजार ८ सय, राजस्व बाँडफाँड स्थानीय १ करोड २० लाख, आन्तरिक आय ९० लाख रहेको छ ।

    चालु आर्थिक वर्षको समिक्षा

    तामाङले पूर्वाधार विकास क्षेत्रमा धेरै उपलब्धि हासिल गरेको बताए । चालु आर्थिक वर्षमा ०.२४७ किलो मिटर पक्की सडक निर्माण, ३३.०५ किमि सडक स्तरोन्नति र २९.२५ किमी नयाँ ट्र्यक सडक निर्माण, गोरेटो बाटो २ किमी निर्माण गरेको बताए । विभिन्न वस्ती र पर्यटकीय क्षेत्रहरुमा सर्वयाम गाडी चल्ने सडक पूर्वाधार विस्तार गरेको समिक्षामा उल्लेख छ ।

    यसैबीच चालु आर्थिक वर्ष भवन निर्माण १९ वटा, मन्दिर गुम्बा निर्माण ३४ वटा, सत्तल निर्माण १४ वटा, खेलमैदान निर्माण तथा मर्मत ८ वटा र पार्क वा चौतार निर्माण ७ वटा रहेको अध्यक्ष तामाङले बताए ।

    त्यसैगरि चालु आर्थिक वर्षमा खानेपानी तर्फ १ हजार ५० घरधुरीमा स्वच्छ खानेपानी पुगेको र १३.६ हेक्टरमा सिंचाइ सुविधा पुगेको बताए ।

    स्वास्थ्य क्षेत्रमा निक्कै प्रगति भएको अध्यक्ष तामाङले बताए । १५ शैयाको अस्पताल निर्माण प्रक्रिया अगाडी बढेको, आँखा, दाँत र ठूलो आन्द्राको क्यान्सर सम्बन्धी निःशुल्का शिविर सञ्चालन गरेर ३ हजार २ सय ४८ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराएको उनले बताए ।

    के छ आगामी वर्षको नीति तथा कार्यक्रममा ?

    अध्यक्ष तामाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमा सडक पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।

    सडक पूर्वाधार विकास

    सडक पूर्वाधार क्षेत्रमा प्रत्येक वडा कार्यालय देखि गाउँपालिका कार्यालय जोड्ने रणनीतिक सडकलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । सडक पूर्वाधारमा निक्कै महत्वका साथ तेमालबासीले हेरिहेको यो योजनाले सर्वयाम गाडी सञ्चालन हुने सडक पूर्वाधारको निर्माण भएको तामाङले बताए ।

    शिक्षा नीति

    यसैबीच तेमाललाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने नीति लिएको छ । जस अनुसार ‘उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका हाम्रो पहिचान’ नारा आगाडी सारेको छ । अध्यक्ष तामाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय शिक्षा पूरा गर्न प्रोत्साहन दिने, दरबन्दी मिलन र शिक्षक सरुवालाई व्यवस्थापन गर्ने लगायतका विषयहशरु समावेश गरिएको छ ।

    भाषिक तथा साँस्कृतिक नीति

    गाउँपालिकालाई खुल्ला बहुसाँस्कृतिक संग्राहलयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने नीति लिएको छ । गाउँपालिकामा बोलिने सबै भाषाहरुको संरक्षण गर्ने, आन्तर्राष्ट्रिय तामाङ साँस्कृतिक केन्द्र स्थापना लगायतका नीति लिएको अध्यक्ष तामाङले बताए ।

    युवा नीति

    त्यसैगरि युवाहरुलाई खेलकुदमा जोड्ने, रोजगारमा जोड्ने र उद्यमशील क्षमता विकास कार्यक्रमहरु सञ्चालन गरिने अध्यक्ष तामाङले नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

    स्वास्थ्य नीति

    यसैबीच अध्यक्ष तामाङले नगारिकको पहुँच सुनिश्चित हुने गरी गाउँ पालिका क्षेत्र भित्र चिकिस्तकीय र प्रयोगशाला सेवा तथा अनुसन्धानात्मक कार्यक्र सञ्चालन गर्न अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने नीति लिएको छ ।

    मुटु रोग, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रवन्ध मिलाउने नीति लिएको छ । जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, विभिन्न रोगसँग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने उनले बताए ।

    गाउँसभामा पालिकाकाे प्रवक्ता तथा वडा नं ७ का वड अध्यक्ष इन्द्रलाल तामाङ, ९ नं वडा अध्यक्ष चन्द्रबहादुर लामा,  वडा नं १ का वडा अध्यक्ष ईन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार