राजेश वञ्जारा ,
काभ्रेपलाञ्चोक
हालै बागमती प्रदेश, विशेष गरी काभ्रेपलाञ्चोक र रोशी नदी क्षेत्रमा आएको बाढी र पहिरोले हाम्रो प्राकृतिक वातावरण कति कमजोर हुँदै गएको छ भन्ने कुरालाई फेरि एकपटक छर्लङ्ग पारेको छ। भिषण वर्षाले बाढी निम्त्याएकोमा त कुनै दुइमत छैन, तर यसका वास्तविक कारण भने मानव गतिविधिसँग गहिरो रूपमा जोडिएको कुरालाई नजरअन्दाज गरिनु मुर्खतापूर्ण हुनेछ । योजनाबिना अन्दाधुन्द रुपमा गरिएका सडक निर्माण, ढुंगा-गिटी तथा नदिजन्य पदार्थको उत्खनन् र कमजोर पूर्वाधार विकासजस्ता गतिविधिहरूले बाढी र पहिरोलाई थप चर्काइदिएका छन्। यसलाई बुझ्न ‘सर्प खेल प्रभाव’ (Snake Game Effect) निकै उपयुक्त देखिन्छ, जहाँ साना क्रियाकलापहरुको प्रभाव जोडिँदै गएर ठूलो क्षति पुग्न गएको देखिन्छ ।
सर्प खेल प्रभाव: साना समस्याबाट ठूला विपत्ति
हामीले नोकियाका पूराना मोडलका मोवाइल सेट वा भिडियो गेममा खेल्ने सर्प खेलमा सर्प एकदमै सामान्य रूपमा आहारा खाँदै बढ्दै जान्छ, तर विस्तारै बढ्दै जाँदा सर्प ठूलो हुँदै जान्छ र ठाउँ सकिँदै जान्छ र अन्तमा यसले आफैँलाई खान पुग्छ र खेल खतम हुन्छ । ठीक त्यसैगरी, मानव हस्तक्षेप, जस्तै सडक निर्माण, ढुंगा-गिटी उत्खनन, र कमजोर पूर्वाधारले साना-तिना समस्या सृजना गरे पनि समयसँगै यी समस्याहरू जोडिँदै जाँदा ठूलो विपत्तिमा परिणत हुन्छन् र मानव खेलाडीको खेल समाप्त हुन्छ । काभ्रेको पहाडी भूभागमा डोजरले काटिएका सडकहरू, प्राकृतिक स्रोतको दोहन र अव्यवस्थित पूर्वाधारका कारण आज यी स्थानहरू पहिरो र बाढीको जोखिममा छन्।
रोशी नदी क्षेत्रमा ढुंगा उत्खननको असर
रोशी नदी क्षेत्रमा भइरहेको प्राकृतिक स्रोतहरूको अत्यधिक उत्खनन, विशेष गरी ढुंगा र गिटीको उत्खनन् गर्दा डोजर, ड्रिलर, ट्रिपरको प्रयोगले जमिन कमजोर बन्नु तथा क्रसर सञ्चालनबाट निस्किएको माटोको थुप्रोका कारण विद्यमान समस्या सिर्जना भएको देखिन्छ। यसले प्राकृतिक भूगोललाई मात्र परिवर्तन गरेको छैन, नदीले पानीको प्रवाह व्यवस्थापन गर्न सक्ने क्षमतामा समेत गम्भीर प्रभाव पारेको छ।
सर्प खेलमा सर्प लम्बिँदै गएर चुनौती बढ्ने जस्तै, ढुंगा उत्खनन् गर्दा जमिन कमजोर हुँदै जान्छ, जसले भू-क्षय र नदीमा थुप्रिने गेग्रिन, ढुङ्गा, डस्ट र गिट्टीको मात्रा बढाउँछ।
रोशी नदी, महाभारत पर्वत झृङ्खलाको उत्तरढलोट भएको निकै ठूलो जलाधार भएको क्षेत्रबाट उत्पत्ति हुन्छ । यो काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना, खोपासी जलविद्युत आयोजना लगायतका आयोजनाको महत्त्वपूर्ण जलस्रोत हो । यही क्षेत्रमा भइरहेको ढुंगा उत्खनन् र माटोको थुप्रोका कारण बाढीको बितण्डाबाट गुज्रिनु परेको छ।
यस नदीमा माटो र गिट्टी थुप्रिएपछि पानीको वहन क्षमता घटेको देखिन्छ, जसले गर्दा हालसालै भएको भिषण वर्षातमा यस क्षेत्रमा खहरे र नदीहरु सजिलै बगेर बगरतिर कटान गर्दै बाहिर निस्किन पुग्छन् । यसका साथै अव्यवस्थित सडक निर्माणका कारण गएको पहिरो, हिलो र माटोले नदीलाई अझै ठूलो र सघन बनायो । केही महिना अगाडि भएका बर्षातले कूलो नहरहरु पुरेतापनि त्यसको व्यवस्थापनका लागि दशैँ कुर्ने प्रचलनले गर्दा सडक सरसफाइ हुन सकेको थिएन । सँगसँगै भिरालो र अव्यवस्तित खेतीका कारण भएको भूक्षय र पहिरोले समेत यसमा केही भूमिका खेलेको देखिन्छ । ग्रामिण क्षेत्रमा भएका पानी पुनर्भरण गर्ने पोखरी र तलैयाहरु समेत पुरेर खेतिपाती तथा प्लटिङ गर्नुले पनि नदिको शक्ति बृध्दि गर्यो । यस घटनाले केही बर्ष अघि सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदिमा गएको विनाशकारी बाढीको झझल्को दिन्छ ।
यसरी जलस्रोत, जलासय र जलाधारलाई समयमै व्यवस्थापन नगर्दा सर्प खेलमा सर्पको आकार र लम्वाई बढेको जस्तै बर्षातमा पानीको बहावको आकार बढ्दै गएर भिषण रुप लिएको देखिन्छ ।
कमजोर पूर्वाधार: ढल निकास र सडक सुदृढीकरणको अभाव
अर्को ठूलो समस्या भनेको यो क्षेत्रको कमजोर पूर्वाधार हो। सडक छेउका पर्खालहरू कमजोर सामग्रीले बनाइएका छन्, जसले ठूलो वर्षा र पानीको चाप धान्न सक्दैनन्। यसले पहिरो र बाढीको जोखिमलाई अझै बढाउँछ। त्यसैगरी, धेरैजसो स्थानीय सडकहरूमा उचित ढल निकास प्रणाली छैन, जसले गर्दा वर्षाको पानी सिधै पहाडमा बग्छ र पहिरो निम्त्याउँछ।
धेरै ठाउँमा बिना योजना र प्राविधिक मुल्याङ्कन सडकहरू बनाइन्छन्। यी सडकहरू हिलोमै रहन्छन् र वर्षातको समयमा सजिलै भत्किन्छन्। यस्ता सडकहरूमा समयमै मर्मत सम्भार नगर्दा, वा सुदृढीकरण नगर्दा, सानो वर्षाले पनि ठूलो क्षति पुर्याउँछन्।
सरकारको भूमिका: विपद् व्यवस्थापनमा कमजोरी
तिनै तहका सरकारहरूले संविधानले निर्दिष्ट गरेको हदसम्म विपद् व्यवस्थापन र पूर्वाधारको विकासमा भएका कमी कमजोरीको जिम्मेवारी लिनुपर्ने हुन्छ । संघीय सरकारका अलावा सीमित स्रोतसाधनका बाबजुत स्थानीय तहले गरेका प्रयासहरु पर्याप्त छैनन्। सडक निर्माण, स्रोत व्यवस्थापन, र पूर्वाधारको कमजोरीबारे थाहा हुँदा-हुँदै पनि, धेरैजसो स्थानीय तहहरूले समयमै सुधार गर्न सकेका छैनन्। स्थानीय नेतृत्वको अदुरदर्शीता, सही योजना तर्जुमा र बजेट कार्यान्वयन प्रणालीको अभाव, प्रभावकारी विपद् पूर्वतयारीको अभाव र जनचेतना अभावले गर्दा स्थिति अझ बिग्रिएको छ।
हालैको बाढीमा, केन्द्रिय सरकारसँगसँगै स्थानीय प्रशासन र स्थानीय तहहरुको ढिलाइ र उचित व्यवस्थापनको अभावले धनजनको क्षति उल्लेख्य रुपमा बढायो । स्थानीय तहहरूले पहिले नै विपद् व्यवस्थापनका उपायहरू अपनाई विपद्को पूर्वतयारी गर्नुपर्नेमा त्यसो नगरी हाल सीमित राहत वितरणमा ध्यान केन्द्रित गरेका छन्।
सबै क्रियाकलापको जोड: सानाबाट ठूलो विपत्तिसम्म
मूलतः बागमती प्रदेशमा भरखरै देखिएको यो बाढीपहिरोले योजना बिना गरिएको विकास, कमजोर स्रोत व्यवस्थापन, र पूर्वाधारको कमीले कसरी विपत्तिलाई निम्त्याउँछ भनेर स्पष्ट रूपमा देखाउँछ। सर्प खेलमा जस्तै, प्रत्येक नयाँ क्रियाकलापले थप चुनौतीहरू सिर्जना गर्छ, अव्यवस्थित सडक निर्माण, उत्खनन, र कमजोर पूर्वाधारले यस क्षेत्रका भिरालो पहाडी र नदी तटीय भूभागलाई बाढी र पहिरोको लागि अझ बढी असुरक्षित बनाएको छ। ढुंगा र माटोको थुप्रोले नदीलाई साँघुरो बनाएको छ, जसले बाढीको क्षमतामा कमी ल्याएको छ र भारी वर्षाले क्षति बढाएको छ।
यी सबै समस्या एकआपसमा जोडिएका छन्। अव्यवस्थित सडकले भू-क्षय गर्छ, जसले नदीमा माटो थुप्रिन्छ, र बाढी निम्त्याउँछ। बाढीपहिरोले कमजोर पूर्वाधार भत्काउँछ, जसको पुनःनिर्माण गर्दा बिना योजना गरिन्छ र अनि सोही समस्या फेरि दोहोरिन्छ। दोजरको दोहनबाट निम्तिएको बाढी पहिरोका कारण थुनिएका सडकहरु खोल्न हामी फेरी अन्धाधुन्द हतारहतार दोजरकै प्रयोग गरिरहेका छाैँ । मानाैँ दशैँ यसपटकमात्रै आएको हो र अन्य विकल्प हामीसामु केही छैन । केही मिडियाकर्मी र सञ्चारमाध्यमहरुले अन्धाधुन्द सडक खोल्ने कामको यति ठूलो कभरेज गरिरहेका छन् कि मानौँ निकै अद्भूत कार्य भईरहेको छ ।
समाधानको बाटो: दिगो विकासको आवश्यकता
यो बाढीपहिरोले दिगो पूर्वाधार र योजनाबद्ध विकासको खाँचोलाई बलियो रूपमा उठाएको छ। अब सरकारहरूले उचित भूमि प्रयोगको योजना बनाउने, गुणस्तरीय पूर्वाधारमा लगानी बढाउने र प्राकृतिक स्रोतको उत्खननमा कडा नियम लागू गर्ने समय आएको छ। सडकहरू दीर्घकालीन रूपमा सञ्चालन हुने गरी निर्माण गरिनुपर्छ, जसमा उचित ढल निकास र बलियो पर्खालहरूको व्यवस्था हुनु आवश्यक छ।
त्यस्तै, विपद् व्यवस्थापन संघीय सँगसँगै स्थानीय सरकारको पनि प्राथमिकतामा पर्नुपर्छ। बाढी लगायतका प्रकोपको प्रारम्भिक चेतावनी प्रणाली, जनचेतना कार्यक्रम, र जलवायु-सम्बन्धी पूर्वाधारमा लगानीले भविष्यमा यस्ता विपत्ति रोक्न सकिन्छ।
विशेषगरी स्थानीय तहहरूले यस्ता संकटलाई रोक्न अग्रसर हुनुपर्छ र दीर्घकालीन तथा दिगो विकासमा ध्यान दिनुपर्छ। यदि अब स्थानीय सरकारले दिगो विकासका उपायहरू अपनाएन भने, आगामी दिनहरूमा अझै ठूलो विपत्ति निम्त्याउने सम्भावना छ।
अब दीर्घकालीन वातावरणीय स्थिरतामा ध्यान दिनुपर्ने समय आएको छ । हाम्रो पूर्वाधारलाई जलवायु परिवर्तन र मानव गतिविधिका चुनौतीहरूसँग जुध्न सक्षम बनाउनु अति जरुरी भइसकेको छ । यसबाट देशमा स्थिरता र सकारात्मक शान्ति स्थापनाको मार्ग समेत प्रशस्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस