वरिष्ठ गायक, संगितकार एवं चित्रकार धेरै जसो एउटा मान्छेले एउटा मात्र क्षेत्रमा दक्षता पाउँछ ।
वरिष्ठ गायक, संगितकार एवं चित्रकार
धेरै जसो एउटा मान्छेले एउटा मात्र क्षेत्रमा दक्षता पाउँछ । तर एउटै व्यक्ति गायक, संगितकार र चित्रकार पनि बनेको छ भन्दा अनौंठो पनि लाग्छ । नेपाली सांगितीक क्षेत्र, जहाँ सयौं व्यक्तित्वहरु उदाए, अस्ताए र अझै यो क्रम जारी नै छ । त्यहि क्षेत्र जहाँबाट उनले आफ्नो पहिचान बनाए, दुनियाँलाई चिनाए र आफू चिनिए सबै सामू । सानै उमेर देखि गितसंगितमा लागेका उनी हुन् , चर्चित गायक, संगितकार एवं चित्रकार नरेन्द्र प्यासी । राजधानीको खिचापोखरीमा वि.सं. २०२२ सालमा जन्मिएका उनी ०३० सालमै रेडियो नेपालबाट स्वर परिक्षा पास गरेपछि विधीवत रुपमा साँगितीक फाँटमा प्रवेश गरेका हुन् । यो समय सम्ममा उनले करिव ३ सय जति गित गाएका छन् । पछिल्लो पटक वास्ना एल्बमले उनलाई निकै चर्चामा पु¥यायो । केहि समय अघि मात्र आफ्नो सांगितीक नाकको डाँडी जोगाउनका लागि वाणी एल्बम निकालेका प्यासी विगत ५ वर्ष देखि अमेरिकामा छन् । यसपटक २ महिनाको विदामा नेपाल आएका बेला उनीसँग मध्यमार्गका विशेष संवाददाता ज्ञानमणि नेपाल कालोटोपीले कलाक्षेत्र र अन्य विषयमा रमाइलो कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश ः
० तपाईंको परिचय दिनुस न ।
नरेन्द्र प्यासि, गायक, संगितकार एवं चित्रकार । भुषाल परिवारमा जन्मिएँ । प्यासी उपनामले परिचित छु ।
० कहिले देखि गित गाउन थाल्नुभयो ?
सानै देखि रुचि थियो । विद्यालयहरुमा कार्यक्रम हुँदा गीत गाउने गरिन्थ्यो । ०३० सालमा रेडियो नेपालबाट स्वरपरिक्षा पास गरेपछि मैले गित गाउन थालेको हुँ ।
० पहिलो गित कुन थियो ?
“बिना बादल असिनापानी , फेरि माया लाउली बैमानी ” बोलको गित मैले पहिलो पटक गाएको गित हो ।
० गित गाउने प्रेरणा कसले दियो ? अहिले सम्म कति गितहरु गाउनु भएको छ ?
बुबाको प्रेरणाले म गित गाउँन थालेको हुँ । अहिले सम्म ३ सय जति गित गाएँ होला कि ..!
० अहिले प्रविधीको विकास भएको छ । पहिले र अहिलेको गित गाउने तरिकामा कस्तो फरक पाउनु भएको छ ?
पहिला त निकै समस्या थियो । अहिले जस्तो सजिलो थिएन । त्यतिबेला लाइभ गाउँदा सम्पूर्ण बाजा भर्ने र गाउने एकैचोटिमा गर्नुपथ्र्यो । अहिले म्युजिक ट्रयाक तयार भइसकेपछि गाइन्छ । यो सबै आधुनिक प्रविधीको कारण हो ।
० विगत ५ वर्ष देखि देश बाहिर हुनुहुन्छ । अरु पनि थुप्रै कलाकार विदेश पलायन भएका छन् । पहिलो पुस्ताका कलाकार र गितकारहरु यसरी विदेशिनु पर्ने बाध्यता के आइप¥यो ?
सबै जना कलाकार बाहिर गयो मात्र भन्छन् तर अहिले सम्म किन ऊ बाहिर गयो भनेर कसैले पनि चासो दिएका छैनन् । अहिले बिदेशिनु सबैका लागि बाध्यता भइसकेको छ । यो कसैको पनि रहर होइन । त्यसैले रहरले भन्दा पनि करले बिदेशिन बाध्य पारेको हो भन्ने कुरा बुझ्न आवश्यक छ ।
० राष्ट्रका गहना मानिएका सर्जकहरु यसरी विदेशिदा देशलाई ठूलो घाटा छ । स्वदेशमा केहि विकल्प थिएनन् र ?
तपाईंले कलाकारहरुलाई गहना भन्नुभयो तर मलाई गहना हुन् जस्तो लाग्दैन । गहना त जहाँ पनि किन्न पाइन्छ । बेच्न पनि पाइन्छ । तर कलाकारलाई कसैले पनि किनबेच गर्न सक्दैन । उनीहरु गहना होइनन् गहन हुन् । आवश्यक पर्दा लगाउने र आवश्यक नपर्दा फुकालेर थन्क्याउन मिल्ने गहना जस्तो कलाकार हुनै सक्दैन । र कलाकार विदेशिनु भनेको देशको लागि घाटा हो । महत्व बुझेर उनीहरुलाई स्वदेशमै रहने वातावरण बनाएको भए रोजगारीको विकल्पमा विदेशिनुलाई कसैले पनि संकल्प बनाउँदैनथ्यो होला नि । कुनै पनि वस्तु हराउनु भन्दा त्यो सामानको हिफाजत गर्न सक्ने हो भने हराउने नै थिएन भन्ने बुझ्नु पर्छ ।
० तपाईंको अनुभवमा गित संगित के हो ?
गितसंगित भनेको देखिने र छुने वस्तु होइन । यो त सुनेर अनुभूती गर्ने चिज हो जस्तो लाग्छ मलाई त ।
० हिजोआज अरुका गितहरु चोर्ने विकृति वढेको छ । त्यस्ता मान्छेलाई के भन्नुहुन्छ ?
नक्कल गर्नु पर्छ तर अक्कल पु¥याएर गरेको नक्कल मात्र राम्रो हुन्छ । कसैले सिधै अरुको सिर्जना चोरेका छन् । यो गलत हो । संगितका १२ स्वरमा कतै न कतै त छुन्छ तर त्यसबाट बचेर फरकधारमा पनि त ढाल्न सकिन्छ नि । अरुको रचना चोर्नेलाई संगितको ज्ञान नभएको भन्छु म त । यदि ऊ सँग प्रशस्त ज्ञान थियो भने अरुको रचना चोर्नेतिर ध्यान नै दिंदैनथ्यो नि ।
० नेपालको समसामयिक राजनितीक घटनाक्रम प्रति तपाईंको धारणा के छ ?
मलाई राजनितीमा खासै रुचि छैन र राख्दिन पनि । बरु राजनितीमा लाग्नेहरु चाहिं गितसंगितमा अभिरुची राख्छन् । तपाईं आफैं भन्नुस् न राजनिती र संगितमा कति भिन्नता रहेछ भनेर ।
० देशको अस्थिर राजनितीले कलाक्षेत्रलाई कस्तो प्रभाव पार्छ ?
संगित श्रृजना भनेको शान्त र स्थिर समयमा मात्र संभव छ । अस्थिरताले कुनै पनि क्षेत्रमा राम्रो गर्दैन । राजनितीक अस्थिरताले संगित मात्र होइन, सबैक्षेत्रलाई लथालिंग पारिदिन्छ । यस्तो वातावरणमा कसैले राम्रो गर्नै सक्दैन ।
० अबको पुस्ताले कला र गितसंगित क्षेत्र रोजेर यसमा आफ्नो भविष्य बनाउँछु भन्यो भने त्यो संभव छ कि छैन ?
पहिलेको तुलनामा अहिले संगित र कला क्षेत्रको विकास त भएको छ । तर अझै पनि त्यसक्षेत्रमा लागेकाहरुको आर्थिक विकास जति हुनु पर्ने थियो , त्यति हुन सकेको छैन । अरु देशमा व्यवसायिक कलाकारिताको विकास भइसकेको छ । तर नेपालमा भने यसमै लागेर बाँच्न सक्ने अवस्था अझै बनेको छैन ।
० आफू गायक हुनुहुन्छ । आफैंलाई मन पर्ने गायक र गीत चाहिं कुन हो नि ?
आफ्ना छोराछोरी सबैलाई सबै मन पर्छ भने जस्तै मेरा गितसंगित पनि जति छन् ती सबैलाई म उत्तिकै माया गर्छु । मलाई मन पर्ने गायक दीप श्रेष्ठ हुन् ।
० एउटा गायकले साँच्चै नै गायक बन्न के के गर्नु पर्ने रहेछ ?
धेरै कुराहरुमा विचार पु¥याउनु पर्छ । चरित्र, अनुशासन, व्यवहार साथै भगवानको आर्शिवाद र गुरुको शिक्षाले मात्र अगाडि वढ्न सकिन्छ । साथै लगनशिलता र मिहिनेत पनि चाहिन्छ ।
० गितसंगित क्षेत्रका अतिरिक्त तपाईंको रुचि के हो ?
यसका अतिरिक्त चित्रकला मेरो अर्को मन पर्ने विषय हो । म चित्र पनि बनाउँछु ।
० चित्र बनाउने सोच चाहिं कसरी आयो नि फेरी ?
हामी सानैमा टुँडिखेल घुम्न जान्थ्यौं । त्यहाँ एकजना चित्रकार सधैं आउँथें । अनौंठा चित्र बनाउँथें । त्यो देखेर मलाई पनि चित्र बनाउने रहर जागेर आयो । विस्तारै बालमन्दिरबाट चित्रकलाको तालिम लिने अवसर पनि पाएँ । अहिले यसमा पनि दक्षता पाएको छु ।
० व्यस्तताका बाबजुद पनि समय दिनु भयो , समय र संवादका लागि धन्यवाद ।
मलाई माया गरेर सम्झनुभयो । मेरा कुराहरु पाठक, दर्शक र श्रोता माझ पु¥याउन सहयोग गर्नुहुने तपाईं र तपाईंको मिडियालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
प्रस्तुती ः ज्ञानमणि नेपाल कालोटोपी
प्रतिक्रिया दिनुहोस