जनप्रतिनिधिहरुको एकीकृत धारणाका कारण कर्मचारीहरुलाई काम गर्ने हौसला मिलेको छ । पाँचखाल नगरपालिकाले चालु प्रकृतिका खर्चमा भारी कटौती गरि लक्ष्य वमोजिमका कार्य सिमित स्रोत साधनवाट सम्पन्न गरेका कारण आर्थिक अनुशासन कायम गराउन भर मग्दुर प्रयत्न गरिएको छ । कोभीडको महामारीमा समेत सिमित स्रोतवाट दीर्घकालीन महत्व राख्ने पूजीगत कार्यक्रमका योजनाहरु लक्ष्य वमोजिम समयमा नै सम्पन्नको चरणमा पुर्याउनु, आफैलाई कोभिड लागि विरामी पर्दा समेत नगर प्रमुखवाट योजना सम्पन्न गराउन निरन्तर लागि पर्नु भएको अवस्था,उप प्रमुखज्युवाट प्रत्येक योजनाको अनुगमनमा गइ सुधार गर्नु पर्ने पाटो तुरुन्त सुधार गर्न लगाएर मात्र अन्तिम मुल्यांकन हुदै आएको छ । प्रमुख प्रशासकिय अधिकृत भिजन र मिसन सहित प्रस्तुत हुनु, सम्पन्न भएका विकास निर्माणका कार्य गुणस्तरीय गर्ने गरि नियमित अनुगमन गर्ने यो नै सकारात्मक पक्ष हो जसको कारण पाँचखालको भविश्य सुनौलो रहेको छ ।
काभ्रे जिल्लाको साबिक होक्से गाउं विकास समिति वडा नं ३ हालको पाँचखाल नगरपालिका वडा नं ७ को ऐतिहासिक एवं पुरातात्वीक स्थानको रुपमा परिचित अती रमणिय स्थल श्रीरामपार्टीमा पिता कुञ्जनमणी धिमाल तथा माता लक्ष्मीदेवी धिमालको कोखबाट २०२८ साल आषाढ २० गते जन्मनु भएका बिदुरकुमार धिमाल मिलनसार सालिन साथै भद्र हुनुहुन्छ । विभिन्न स्थानिय तहको लामो अनुभवका साथमा हाल पाँचखाल नगरपालिकाको लेखा प्रमुखको रुपमा रहेर कार्य गर्दै आउनु भएका धिमाल नगरमा हुने खर्चलाई मितव्ययी र कम खर्च गर्दै चुहावट रहित ढंगबाट विकास निर्माणको लागि खर्च गर्ने मनसायका साथ अगाडी बढ्नु भएको छ ।
नगरको बिभिन्न भैपरीआउने खर्चलाई कम गर्दै विकास निर्माणमै लगाई नगरको बिकासको लागी निरन्तर रुपमा अगाडी बढ्नुपर्छ भन्ने मान्यताका साथमा अगाडि बढ्नु भएका लेखा प्रमुख धिमालले एम.पिए, एमबिएस र विएड सम्म अध्ययन पुरा गर्नु भएको छ । २०५० साल पुष २८ गते जिल्ला विकास समितिको कार्यालय दोलखामा लेखापालबाट रोजगारीको सुरुवात गर्नुभएका धिमालले दोलखा जिविस,स्थानिय विकास मन्त्रालय हुदै रसुवा, नेपालगञ्ज, डोल्पा, हुम्ला, बझाङ्ग, दुर्गम क्षेत्र विकास समिति ललितपुर, ललितपुर महानगरपालिका एवं चौतारा साँगाचोक गडी नगरपालिका हुदै २०७७ मंसिर ७ गतेबाट पाँचखाल नगरपालीकामा लेखा प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । २०७४ साल जेष्ठ २ गते उपसचिव (लेखा) मा बढुवा हुनुभएका धिमालले आफ्नो जन्मभूमीमा सेवा गर्ने अवसर पाउनु भएको छ । उहाँले देशका बिभिन्न स्थानमा कार्य गर्दै आउनु भएको अनुभवको आधारमा पाँचखाल नगरपालीकालाई के कसरी अगाडी बढाउने भन्ने बिषयमा निरन्तर रुपमा अगाडी बढ्दै आउनु भएको छ ।
कोरोनाको महामारीमा समेत सेवाग्रहीहरुलाई सेवा दिन सहज रहोस भनि सेवा ग्राहिको समस्यालाई मध्यनजर राख्दै निरन्तर दैनिक रुपमा काम गर्दै आउनु भएका धिमालसंग समसामयिक बिषयमा ईश्वरी राजकुमार मैनाली (आइ.आर.कें.मैनाली) ले गरेको कुराकनी अंश‘..
तपाई पाँचखाल नगरपालिकाको लेखा प्रमुख भएको नाताले नगरमा आन्तरिक स्रोतको अवस्था बारेमा बताईदिनोस न ।
पाँचखाल नगरपालिकाको आन्तरिक आयको अवस्था अन्यत्र स्थानिय तहको तुलनामा कम रहेको छ । पाँचखालमा यस आर्थिक बर्षमा १८ करोड ८७ लाखको आन्तरिक स्रोत जुटाउने लक्ष थियो तर ३ करोड ३६ लाख मात्रै उठेको छ । लक्षमा पुग्नको लागि १५ करोड ५८ लाख उठाउनु पर्ने हुन्छ । कोभिडकको कारणले गर्दा साथै प्रदेश सरकार र संघिय सरकारबाट प्राप्त हुने सवै एक्टिभिटिज बन्द भएकोले गर्दा माथिल्लो निकयहरुबाट प्राप्त हुने र आन्तरिक राजश्व समेत घट््ने अनुमान गरिएकोे छ । प्रदेश वाँडफाँड वाट हालसम्म प्राप्त भएको १२ करोड ५१ लाख (४० प्रतिशत) मात्र प्राप्त भएको छ । उठ्नबाँकी मध्ये संभावित करिब ३ करोड उठ्न सक्छकी भन्ने अनुमान गरिएकोे छ । तशर्थ हाम्रो आन्तरीक आय अत्यन्त न्युन रहेको छ र बिशेष गरी हाम्रा यस नगरपालीकामा रहेको दहत्तर बहत्तरको ठेक्का संञ्चालनमा ल्याउन नसकेको कारणले गर्दा अरु पालिकाहरुको भन्दा आन्तरीक आय कम भएको छ ।
जिल्लामा रहेको कतिपय स्थानिय तहमा बेरुजु धेरै देखिन्छ, पाँचखाल नगरमा बेरुजुको अवस्था कस्तो रहेको छ ?
धन्यवाद, असाध्यै समसामयिक बिषय उठाउनु भयो । हामी सवैका लागी यो बिषय बस्तु अलि सान्दर्भीक पनि छ । विभिन्न आथिक वर्षको वेरुजुको अवस्थाको बारेमा अध्ययन र बिश्लेशण गरेर मात्र थप विवरण दिदा अझै राम्रो हुन्छ । आर्थिक बर्ष ०७६—०७७ को आन्तरिक लेखा परीक्षण यसै नगर पालिकाका आलेप शाखावाट भएको थियो । अन्तिम लेखा परिक्षण संवैधानिक अंग श्री महांलेखा परीक्षकको कार्यालयबाट भयो । २०७७ मंसिर ७ गतेबाट मैले पाँचखाल नगरमा लेखाको जिम्मेवारी सम्हाले, मैले जिम्मेवारी वहन गरे पछि फागुन महिनामा मलेप डोर (अडिटरहरु) आउनु भएको थियो । हाराहारी ८५ करोड खर्च भएको से्रस्ताबाट लेखापरिक्षण सम्पन्न भयो । जसमा १ करोड ४७ लाख ७० हजार नियमित गर्नुपर्ने,पेश्की वाँकी र केहि रकम अशुल उपर गर्नु पर्ने बेरुजु देखिएको छ ।
आर्थिक कार्यविधि ऐन, २०५५ ले वेरुजु भन्नाले प्रचलित कानुनवमोजिम पुर्याउनुपर्ने रीत नपुर्याई कारोवार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा वेमनासिव तरिकाले आर्थिक कारोवार गरेको भनी लेखा परीक्षण गर्दा औल्याएको वा ठहर्याइएको कारोवारलाई मानेको छ । वेरुजुको किसिम हेर्दा असूलउपर गर्नुपर्ने, प्रमाण जुटाई नियमित गर्ने र पेश्की वेरुजु भनेर मुख्य ३ वटामा राखेर हेर्ने गरिएको छ । गत आर्थिक बर्षको कुल खर्चको १.७४ प्रतिशत बेरुजु देखिएको छ । कुनैपनि खर्चको बेरुजु देखिनु राम्रो हैन, तर राम्रो पक्ष नभएको भएतापनि कुल अङ्कको तीन प्रतिशत भन्दा कम अंङ्क बेरुजु देखिनेलाई कानुनमा उल्लेखित सिमा भन्दा कम बेरुजु देखिएको मानि तालुक मन्त्रालयको स्वमुल्यांकन कार्यविध र जारी निर्देशिका-LISA _ का आधारमा समेत मुल्यांकन हुनै नै छ । र सो मुल्यांकनवाट पाँचखाल नगरपालिका उतिर्ण हुने विस्वास लिएको छु । चालु आर्थिक बर्षको बेरुज संघिय तथा प्रदेश सरकारले तयार गरेको कानुनमा व्यवस्था भएअनुसार तीन प्रतिशत भन्दा कम बेरुजु अङ्कलाई बेरुजुको सिमा ननाघेको भनि मूल्याङकन गर्ने हुँदा हामी सन्तोषजनक नै छौं । गत आ.व को बेरुजु मध्ये पेस्कि बेरुजु ५३ लाख ५२ हजार रहेको छ । जुन कुल बेरुजु अंङ्कको ३६ प्रतिशत रहेको छ । उक्त वेरुजु चालु आर्थिक वर्षमा फछ्र्यौट हुने हुँदा सो वेरुजु अंक समेत घट्न जान्छ ।
तत्कालिन गाविस देखि हाल सम्म ०७५—०७६ सम्मको बेरुजु ६ करोड ४६ लाख ३८ हजार , यो बर्ष १ करोड ४७ लाख थपिएकामा हामीले चालु आर्थिक वर्षमा रु २५ लाखको पेश्की वेरुजु मलेपवाट फछ्र्यौट गरि सकेका छौ । देखिएको धेरै जसो बेरुजु नियमित गर्नुपर्ने प्रकृतिका छन् । मलेवाट थपिएको वेरुजुलाइ आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ९९ वमोजिम वेरुजु नरहनु पर्ने कारण प्रमाण पुष्ट्याइ सहित प्रतिकृया लेखेर मलेप कार्यालयमा पठाइ सकेका छौ र त्यसमा केहि वेरुजु घट्न सक्ने विस्वास लिएका छौ ।
आर्थिक कार्यविधि नियमावली २०६४ को नियम १०० तथा १०१ मा प्रचलित कानूनको रित पु–याउनु पर्नेमा सो रितसम्म नपु–याई अनियमित भएको तर सरकारी हानी नोक्सानी भएको नदेखिएकाले कार्यालय प्रुखख र विभागिय प्रमुखको सिफारिसमा पेश भएको वेरुजु अंक लेखा उत्तरदायी अधिकृत(सचिव) ले यथा सम्भव कारण सहित नियमित गर्न सक्ने र सोही आधारमा मलेपले वेरुजु सम्परीक्षण गर्न सक्ने गरि केन्द्रिय स्तरका निकायका लागि मन्त्रालयका सचिबलाई उक्त अधिकार रहेको हुन्छ, तर स्थानिय तहमा रहेको बेरुजु नियमित गर्ने गरि अधिकार भएको कुनैपनि कानुन स्पष्ठ नभएकोले प्रदेश तथा संघिय कानुन बमोजिंम त्यस्तो अधिकार दिएर सरकारी हानि नोक्सानी नभएको तर तोकिएको कार्य नियम अनुसार सम्पन्न भैसकेको कुनै कागजात मात्रै नपुगेको कारणले गर्दा बेरुजु नियमित गरी महांलेखा परिक्षकको कार्यालय समक्ष पेश गरि समपरिक्षण गर्न सकिने व्यवस्था भएमा स्थानिय तहमा थुप्रिएर रहेका बेरुजुहरु नियमित गर्न सक्ने र बेरुजु घट्न सक्ने फेरीस्ता दर्साउन चाहन्छु ।
पाँचखाल नगरमा आन्तरीक स्रोत कमी भएको भएता पनि विकास निर्माणको कार्य भने राम्रो भएको छ, भन्ने सुन्नमा आएको छ, नगरको वजेट परिचालनको अवस्थाको वारेमा जानकारी गराउनोसन ।
धन्यवाद, यो बिषयबस्तु चाही मैले संकलन गरेर राखेको छु । म आफुपनि नगरवासि भएको नाताले साथै लेखा प्रमुख भएको नाताले वजेट तथा निकाशाको र खर्चको अवस्था कस्तो छ, भन्ने बिषयमा नियमित रुपमा अपडेट भैराखेको छु । योजना शाखाका साथिहरु, प्राबिधिक शाखाका साथिहरुसंग सोधेर अपडेट रहेर उहाँहरुबाट डाटा लिएर खर्चको बिश्लेषण गरेर बसेको हुन्छु । तसर्थ बिकास निर्माणको अवस्था, संञ्चालित योजनाहरुको अवस्था र खर्चको अवस्था मा ठेक्का पट्टाबाट संञ्चालित योजनाहरु ३९ रहेका छन् । जसमध्य २७ योजनाहरु सम्पन्न भई सकेका छन् । १२ ओटा योजनाको कार्यहरु भईरहेको छ साता १० दिन भित्र कार्य सम्पन्न हुने ढंगबाट कार्य अगाडी बढिरहेको छ । कालो पत्रे गर्ने काम ८.५ किलोमिटरको लक्ष रहेको छ, जसमा ६ किलोमिटर सम्पन्न भैसकेको छ । २.५ किलोमिटरको कार्य बर्षातको कारणले केही ढिलो भएको छ ताथापि सम्पन्न गर्नको लागि प्राबिधिक साथीहरु कम्मर कसेर लाग्नु भएको छ । १३ ओटा योजना कालोपत्रे गर्ने लक्ष थियो, ९ ओटा योजना सम्पन्न भइ सक्यो । मैले बताएको योजनाहरु नगर स्तरिय ठुला योजनाहरु हुन्, वडा स्तरिय स—साना योजनाहरु पनि सहज ढंगबाट अगाडी बढेको छ । २ ओटा खानेपानी योजना रहेको छ, जसबाट ९५० घरधुरीले उपभोग गर्ने छन् । जुन योजनाको ७० प्रतिशत कार्य सम्पन्न भएको छ, बाँकी काम केही दिनमै सकिने जानकारी प्राप्त भएको छ ।
आन्तरिक स्रोत कम भएको नगरमा आर्थिक क्षेत्रमा सुधार ल्याउनको लागि भावि योजना केही छ की ?
मैलेचाही आर्थिक व्यवस्थापन चुश्त दुरुस्त गर्नको लागि आदरणिय नगर प्रमुखज्यु उप प्रमुखज्यु प्रमुख प्रशासकिय अधिकृतज्युवमट समेत हाम्रो सिमित स्रोतवाट असिमित योजनाहरुमा कसरी खर्च व्यवस्थपन मिलाउने भन्ने चिन्तन पाएको छु । हामीले कानुनी दायारामा रहेर केही सोच बनाएको छौं । स्वभावैले पाँचखाल नगरपालिका आर्थिक अनुसासनमा उच्चतम नमुना नगरपालिका रहेको व्यहोरा आर्थिक बर्ष ०७५—०७६ मा प्रदेश सरकारबाट पुरस्किृत भएबाट प्रमाणित भएको छ ।
अझै थप खुलस्त गर्न चाहन्छु , स्थानिय तहमा प्रचलित कानुन बमोजिंम रहेका बिभिन्न बिषयगत समितिहरु, बिभिन्न प्रकारका पदपुर्तीहरु, धेरै योजनाको कार्यक्रमको उप प्रमुखज्यु लगायतका सदस्यले अनुगमन मुल्यांकन गर्नु भएको छ । विभिन्न समितिका बैठकहरु वसेका छन । कानुन बमोजिंम बिभिन्न प्रकारका वैठकको खर्च गर्न मिल्ने रकमहरु खर्च नगरेर वचत गरिएको छ । कुनैपनि जनप्रतिनिधि एवं कर्मचारीलाई भुक्तानी गरिएको छैन । ताकि कोभिडको महामारीमा कुनैपनि दिन कार्यालयमा अनुपस्थित नभई सदैब दिनरात नगरको हितमा कसरी कामगर्न सकिन्छ भनि चिन्तित रहिरहेका छौं । यसै सन्दर्भमा आदणिय नगर प्रमुख बाट स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विदेशी मित्रहरुलाई अनुरोध गरेर धेरै स्वास्थ्य सामाग्री नगरपालिकामा ल्याउनु भएको छ जसवाट नगरपालिको लाखौ रुपैया जोगिएको छ ।
नगरको आय बृद्धिको लागि थप योजना केही छ की ?
पाँचखाल नगरपालिकामा दहत्तर बहत्तरको ठेक्का लगाउन नसकेका कारण आन्तरिक स्रोत कमि हुनुको प्रमुख कारण हो । सुनकोशी खोलामा दहत्तर बहत्तर ठेक्काको बिषयमा सम्मानित अदालतमा मुद्धा परेकोले रोकिएको छ, हामीलाई आशा छ, यो बिषय चाडै टुंगिने छ । नगरपालिकाले गरेको IEA / EIA को रिपोर्ट बमोजिंम ठेक्का लगाई आय संकलन हुने छ । हाम्रा स्वाभिमानि पाँचखाल वासिको व्यवसाय नगरमा समेत कनेक्सन गराई व्यवसायीहरुलाई करको दायरामा ल्याउंदा त्यसबाट पनि राजश्व संकलनमा केहि बृद्धि हुने अनुमान गरेका छौ । घरवहाल कर, सम्पत्ती कर लगायतका करहरु समय सापेक्ष पाँचखाल वासि दाजुभाई दिदिबहिनिहरुलाई मर्का नपर्ने गरी करमा समायोजन गरी आन्तरिक आय बृद्धि गर्न सकिने अनुमान गरिएको छ ।
चालु आ.वमा पाँचखाल नगरमा घाटा बजेट प्रस्तुत गरीएको छ भन्ने सुन्नमा आएको थियो, सो घाटा बजेटलाई कसरी व्यवस्थापन गरीयो ?
कानुनत घाटा बजेट होईन, असल नियतले गरेको काममा आन्तरिक आय लक्ष अनुसार पुर्ती नहुँदा केही समस्या भएको हो । सो समस्यालाई कसरी समाधान गर्ने भनेर आदरणिय नगरप्रमुख, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत साथै हामीहरु समेत बसेर छलफल गरेका छौं । यस बिषयमा मेरो तर्क चाही आन्तरिक आयमा समय सापेक्ष वैज्ञानिक तवरवाट समायोजन गरी आय क्षेत्रहरु बढाउन सकिने छ । सञ्चालित योजनाहरुलाई नियम अनुसार ईविडिङ्ग गरी रकम बचत गर्नसक्ने अवस्था समेत देखिन्छ । उपभोक्ता समितिहरुबाट गरेको काममा जति रकम विनियोजन गरिन्थ्यो उतिनै खर्च हुने प्रचलन छ तर इविडिङ्ग मार्फत कार्य गर्दा विनियोजित रकमको ४५ प्रतिशत सम्म विलो गएर बाँकी रहेको रकम अपुग भएको बजेटमा पुर्ती भएकोे छ । ईविडिङ्ग मार्फत विकास निर्माणको कार्य गराउंदा झण्डै १० करोड बच्नगई पुर्ती भएको छ । त्यसैगरी नियमित रुपमा चल्दै आएका प्रशासनिक खर्चमा कम गरी (जस्तै बिभिन्न खाले भत्ताहरु, बिबिध प्रकारका तालिम, गोष्टि ,सेमिनार विविध खर्च) नगरको हितको लागि अगाडी बढ्दा समेत बचत गरी पुर्ती गर्ने जमर्को गरेका छौं ।
संघिय सरकारले विनियोजन गरेको वजेटमा पाँचखाल नगरलाई गाउंपालिकाको भन्दा पनि थोरै वजेट विनियोजन गर्नाको कारण के होला ?
यसै बिषयलाई लिएर पाँचखाल नगरको बारेमा नकारात्मक संदेस वाहीर गएको आभास भएको छ । तर त्यसरी नकारात्मक संदेस वाहिर जानुपर्ने कुनै कारण नै छैन, किनकि संघिय सरकारले सुत्रमा आधारित वजेट पठाउने गरेको हुन्छ । स्थानिय तहमा वजेट पठाउंदा भूगोल, जनसंख्या, शिक्षा, भौतिक निर्माणको अवस्था लगायतलाई आधार मानेर वजेट विनियोजन गरेको हुन्छ । त्यसैअनुसार हामीले रकम प्राप्त गरेका छौं, हामीले प्राप्त नगरेको वजेट भनेको संघिय सरकारबाट संञ्चालन प्राप्त हुने बिशेष अनुदान (विशेष कार्यक्रमहरु संञ्चालन गर्न माग गरेको योजनाहरु) र समपुरक अनुदान (संघिय सरकारबाट जति रकम हामीलाई दिइन्छ त्यतिनै रकम नगरको तर्फबाट व्यहोरेर विकास निर्माणको कार्यलाई वल पुग्दछ) को वजेट पाँचखाललाई उपलब्ध नहुँदा बजेट कम देखिएको हो । किन नगराएको हो भन्ने बिषयमा मलाई जानकारी छैन, तर सो वजेटको लागि नगरको तर्फबाट केन्द्र र राष्ट्रिय योजना आयोग लगायत जहांजहां पठाउनु पर्ने हो नियम अनुसार नगरका योजना शाखा, प्राबिधिक शाखाले योजना पठाउनु भएको थियो तर सो सम्बन्धि वजेट भने आउन सकेन । तर प्रदेश समपुरक वजेट भने प्राप्त हुने गरि वजेट विनियोजन गरिएको छ ।
पाँचखालको जनप्रतिनिधिहरुबाट लेखा (आर्थिक) सञ्चालनको बारेमा के कस्तो सहयोग पाउनु भएको छ ?
मेरो आफ्नो नोकरी २७ बर्षको अवधिमा धेरै अनुभवहरु संकलन गर्ने अवसरहरु पाए । जस मध्ये स्थानिय निकायमा रहेर काम गर्ने अवसरहरु समेत, जसको आधारमा पाँचखाल निकै राम्रो पाएको छु । कतिपय स्थानिय तहमा कार्यपालिका सदस्यहरुबाट वजेट तथा कार्यक्रमकोे बिषयलाई लिएर धेरै विवादहरु गर्ने गरेको पाएको थिए । तर पाँचखालमा विकास निर्माणको कार्यको लागि कसैको पनि विवाद भएको पाईन, त्यो धेरै सकारात्मक हो । पाँचखालमा जनप्रतिनिधिहरु विच रहेको सुमधुर सम्बन्धले गर्दा हामी कर्मचारीलाई पनि काम गर्न निकै हौसला मिलेको छ । नगरको बिकासको लागि पाँचखालका जनप्रतिनिधिहरु एकजुट, एकमन भएर अगाडी बढेको पाईन्छ, जसको कारण पाँचखालमा विकास निर्माणको कार्य राम्रो भएको छ । आर्थिक प्रशासन शाखालाई पनि जनप्रतिनिधिहरुले मार्गदर्शन दिदै घाटा भएको वजेटलाई कसरी पुर्ती गर्ने भनेर चिन्तन मनन गर्दै हामीहरुसंग पनि सरसल्लाह गर्दै अगाडी बढ्ने देखि लिएर पाँचखालका जनप्रतिनिधिहरुले अत्यन्त उदाहरणिय कार्य गर्दै अगाडी बढ्नु भएको छ , उहाँहरुलाई बिषेश धन्यवाद दिन चाहन्छु ।
पाँचखाल नगरवासिलाई अन्तमा केही भन्नु छ की ?
खासै केही छैन, म आफैपनि पाँचखाल वासि हुं, पाँचखालको हितको खातिर मेरो व्यक्तिगत तर्फबाट मैले जे—जे गर्नुपर्छ गर्न तयार छु । नगरवासिहरुले पनि आफ्नो नगरको हितको लागि चाल्नुपर्ने कदमहरुमा कन्जुसाई गर्नु हुदैन भन्ने अनुरोध गर्दछु । नगरवासिले तिर्नुपर्ने करहरु समयमै तिर्दा विकास निर्माणको कार्यमा सहज हुने साथै जरिवानाबाट जोगिने र सभ्य नागरिकको पहिचान समेत हुनेछ ।
म पनि नगरवासिको हैसियतले मसंग भएका ज्ञान, शिप, जोश जाँगर सवै चलाएर पाँचखाललाई समुन्नत नगर बनाउनको लागि मैले जो—जो लाई सहयोग गर्नुपर्ने हो (नगर प्रमुख, कार्यपालिका, नगरवासिहरु) सवै नगरवासिहरुलाई मेरो व्यक्तिगत तर्फबाट होसेमा हैसे गर्ने नै छु । म पाँचखाल नगरमा रहेपनि नरहेपनि (अन्यत्र सरुवाभएर गएपनि) पाँचखाल नगर र मेरो मातृभूमिको लागि म सदैव सदभाव रहने नै छ । पाँचखालले जे जति नजप्रतीनिधि पाएका छन् त्यो पाँचखालको भविश्य निर्माता जस्तो लाग्छ, त्यो पाँचखालको भाग्य हो । मेरा कतीपय स्थानिय तहमा गएका साथीहरु जनप्रतीनिधिकै कारण स्थानिय तह छोड्न आतुर छन् । तर याहा जनप्रतिनिधिज्युहरु र कर्मचारीहरु वीच सुमधुर सम्वन्ध रहेको मैले पाएको छु । फजुल खर्चलाई कम गर्ने, विकास निर्माण गुणस्तरीय गर्ने यो नै सकारात्मक पक्ष हो जनप्रतीनिधिहरुको जसको कारण पाँचखालको भविश्य सुनौलोे रहेको देखेको छु । धन्यवाद ।।
प्रतिक्रिया दिनुहोस