पाँचखालमा कर्मचारी र जनप्रतिनिधिहरू बीचको सम्बन्ध सौहार्द्रपूर्ण रहेको छ जसका कारण सवै कर्मचारीले दत्त चित्त लगाएर कार्य गरेका छन् जसको परिणाम काभ्रे जिल्लाका सबै नगरपालिकाको भन्दा न्यून बेरुजु देखिएको अवस्था छ‚ । नगर कार्यपालिकाको बैठकबाट नगरमा देखिएका समस्याहरूको सामूहिक प्रयासमा समाधान हुने परिपाटिको विकास भएको छ ।
नगरपालिका प्रमुखको पहलमा यस नगरपालिकालाई हरित बसोबास योग्य सहरको रुपमा विकास गर्ने‚ महिला विशेष औद्योगिक ग्राम‚ Healthy Panchkhal, पाँचखाल नगर कृषि सहर जस्ता केही महत्वकाङ्क्षी परियोजनाहरूको परिकल्पना गरी कार्यान्वयन हुने चरणमा छन् ।नगरपालिका जनप्रतिनिधिहरू र कर्मचारी मात्रको नभई सबै नगरवासीको साझा सरोकारको विषय हो । नगरपालिकाले असल नियतले गरेका केही गतिविधिहरूमा यथार्थ कुरा नबुझी सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक सूचना र सन्देश प्रवाह नगरिदिन सबैमा अनुरोध गर्दछु ।
सूर्य प्रसाद गौतम
प्रमुख प्रशासकीय अधिकृत
प्राचीन कालमा विराट राजाको राजधानी र मध्यकालमा विजयपुरमा विजयनारायण पछि पाल्पाली सेन राजा भएको इतिहास बोकेको साविक बाहुनी गा.वि.स. वडा नं ९ ‚ हाल कोशी प्रदेश मोरङ जिल्ला बेलबारी नगरपालिका वडा नं ८ मा पिता जनक लाल गौतम तथा माता वेदमायाँ गौतमको कोखबाट २०३० साल फागुन १२ गते जन्मनु भएका सुर्य प्रसाद गौतग मिलनसार ‚ सालिन सहयोगी साथै भद्र व्यक्तिको रुपमा परिचित गौतम हाल मध्यपुर थिमी नगरपालिका वडा नं १ मा वसोवास गर्नुहुन्छ ।
२०६३ साल असोज ९ गते शाखा अधिकृत (रा.प.तृतिय) को रुपमा उद्योग मन्त्रालयबाट नोकरीको सुरुवात गर्नुभएको गौतम हाल पाँचखाल नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहनु भएको छ । श्री घिर्नाथ सन्फूल विश्वास माध्यमिक विद्यालय बालुवाही डागीहाट मोरङ बाट एस.एल.सी उत्तीर्ण गर्नुभएका उहाँले एम. ए‚ एम.बि. एस सम्म अध्ययन गर्नु भएको छ । उद्योग मन्त्रालय अन्तरगत बिभिन्न कार्यालयहरूमा ९ वर्ष ‚ निर्वाचन आयोगमा ३ बर्ष ‚ स्वास्थ्यमा १ वर्ष र स्थानीय तहमा ४ वर्षको अनुभव सङ्कलन गरिसक्नु भएका गौतम कुशल प्रशासकको रुपमा परिचित हुनुहुन्छ ।
खोजमूलक अध्ययन ‚ गीत सङ्गीतमा धेरै रुचि साथै असहायलाई साथ सहयोग गर्ने र मुलुकमा जारी भएका राम्रा कानुनहरू अक्षरशः व्यवहारमा उतार्न विषयमा निकै लगनशील व्यक्तित्व पाँचखाल नगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गर्दै रहनु भएका गौतमसँग समसामयिक विषयमा सम्पादक ईश्वरी राजकुमार मैनालीले गरेको कुराकानी अंश‘.. ।
तपाईँले पाँचखाल नगरपालिकाको जिम्मेवारी सम्हालेपछि नगरमा दीर्घकालिन ढङ्गका के कस्ता उपलब्धीहरू हासिल गर्न सफल हुनुभएको छ ?
– मैले गत आ.व को २०७९ साल फागुन १० गते बाट यस नगरपालिकामा कार्यभार सम्हालेको हुँ । नगरपालिकामा आवधिक योजना‚ मध्यकालीन खर्च संरचना‚ नगर प्रोफाइल आदि अनिवार्य प्रकृतिका Document समेत तयार नभएकोले चालु आ.व मा यस प्रकारका Document तयार गर्ने कार्यक्रम स्वीकृत भएको छ । यसका अतिरिक्त नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक‚ ऐलानी एवम् पर्ति जग्गाको लगत तयार गरी त्यस्ता जग्गालाई नगरको आम्दानीको दिगो श्रोत बनाउने‚ नगरक्षेत्रका सामुदायिक वनमा औषधिजन्य‚ फलफूलजन्य तथा काष्ठजन्य बिरुवाहरूको वृक्षारोपण गरी बनको दिगो उपयोग गर्ने तथा नगरपालिकामा स्थायी बसोबास गर्ने अति विपन्न जनसमुदायको लगत तयार गरी त्यस्ता परिवारको स्वास्थ्य बिमा नगरपालिकाको तफर्बाट निशुल्क गर्ने गरी कार्यक्रम अगाडि बढाइएको छ ।
स्थानीय तहलाई मजबुत पार्न आन्तरिक स्रोतको व्यवस्था राम्रो हुनुपर्छ‚ सो को विषयमा तपाईँले के कस्तो तयारी गर्नुभएको छ ?
– स्थानीय तह आफैमा सक्षम हुन आन्तरिक स्रोत पर्याप्त हुनुपर्छ । त्यस्ता स्रोतहरूको अधिकतम उपयोग गरी आन्तरिक आम्दानी बढाउन सकिन्छ । तर यस नगरपालिकामा एकीकृत सम्पत्ति कर‚ व्यवसाय कर‚ बहाल कर जस्ता सीमित प्रकारका स्रोतहरू मात्र रहेकोले अपेक्षित रुपमा आन्तरिक स्रोत बढाउन चुनौति देखिएको छ ।यस परिप्रेक्षमा नगरपालिकाले उपलब्ध स्रोत साधनको प्रयोग माफर्त स्थानीय रोजगारीको प्रवर्द्धन गरी जनताको जीवनस्तरमा परिवर्तन ल्याउने सोचका साथ दुना टपरा बनाउने मेसिन समुदायलाई निशुल्क उपलब्ध गराउने‚ आलु तथा गोलभेडाको प्रशोधन गर्ने मेसिनको खरिद गर्ने एवम् बहुउपयोग गर्न सकिने कोर्ड स्टोरेज स्थापना गर्ने कार्यक्रम तय गरिएको छ ।
पाँचखाल नगरपालिकामा भावी दीनहरूका लागि अविष्मरणीय साथै अन्य पालिकाहरूका लागि मार्ग निर्देश हुने ढङ्गको केही योजना बनाउनु भएको छ ?
– यस नगरपालिकामा महिला केन्द्रित उद्योगग्राम संघीय सरकारको लगानीमा वडा नं ७ मा स्थापना हुने भएको छ । नगर क्षेत्रका सामुदायिक वनहरूलाई वनजन्य उत्पादनको हव बनाउने‚ सार्वजनिक जग्गाको लगत तयार गरी नगरवासीको हितमा उपयोग गर्ने‚ नगर क्षेत्रमा सञ्चालित सिटी रिक्साको दर्ता गरी व्यवस्थित गर्ने एवम् सरकारी/ सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या र शिक्षक सङ्ख्याको अनुपात मिलाउन विद्यालयहरू मर्जर एवम् दरबन्दी मिलानका कार्यहरू यसै आर्थिक वर्षमा पुरा गर्ने रणनीतिका साथ नगरपालिका अगाडि बढेको छ ।
कृषि नगरीको रुपमा अगाडि बढेको पाँचखालमा कृषिको क्षेत्रमा के कस्ता योजनाहरू अगाडि बढाइएका छन् ?
– नगरपालिकाले कृषकको हितलाई उच्च प्राथमिकतामा राख्दै खनजोतका लागि पावर ट्रिलर‚ मिनि ट्रिलर‚ पानी तान्ने पम्पलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने‚ रैथाने बाली प्रवर्द्धनका लागि सहुलियत दरमा बिउबिजन उपलब्ध गराउने साथै परम्परागत कृषि औजारहरू जस्तै हलो‚ पटाहा‚ कोदालो‚ खुर्पा‚ हसिया‚ डोको‚ डालो‚ नाम्लो आदिको संरक्षण गर्ने लगायतका कार्यहरू गरेको छ ।
फोहोर मैला व्यवस्थापनका लागि नयाँ ढङ्गको रणनीति अपनाएको छ ?
– फोहोरलाई समस्याको रुपमा नलिई यसलाई अवसरमा परिणत गर्नुपर्छ भन्ने अभिप्रायले फोहोरको स्रोतमा नै 4R – Refuse, Reduce, Recycle and Reuse गर्ने परिपाटीको विकास गर्ने‚ नगरलाई प्लास्टिक मुक्त गराउन प्रत्येक घरलाई झोला उपलब्ध गराउने‚ हाल व्यवस्थापन भइरहेको स्थानमा माटोले छोपी दुर्गन्ध आउन नदिने तथा नगरको वडा नं ४ मा निर्मित ट्रष्टमा नगरक्षेत्रको फोहोर संकलन गरी व्यवस्थापन गर्ने कार्यको थालनी भएको छ । यसका अतिरिक्त यस वर्ष नगरपालिकाले लेदोजन्य फोहोर सङ्कलनका लागि Vehicle खरिद गरी अत्याधुनिक प्रविधिको प्रयोग माफर्त कृषि मलको विकास गर्ने कार्यको थालनीको लागि प्रारम्भिक तयारी भएको छ ।
सामुदायिक वन नगरको आम्दानीको स्रोत भन्ने अभियानमा रहंदै गर्दा बनको मिचिएको भूमिको संरक्षणको लागि कुनै नीति निर्माण भएको छ ?
– नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक‚ ऐलानी एवम् पर्ति जग्गाको लगत तयारगर्न यस वर्ष कार्यक्रम स्वीकृत भएको छ । त्यस्ता जग्गाको पहिचान गरी नगरपालिकाले आफ्नो जिम्मामा लिने र त्यसको प्रकृतिको आधारमा नगरको आम्दानीको दिगो श्रोत बनाउने उद्देश्यले कार्यक्रम अगाडि बढाइने छ ।
स्थानीय तह सञ्चालनका लागि संघ र प्रदेशले जारी गरेको ऐनहरु लाई कति पालन गरिएको छ ?
– स्थानीय तह सञ्चालनमा संघीय तथा प्रादेशिक कानूनहरू मार्गदर्शकको रुपमा रहने छन् । संघीय तथा प्रादेशिक कानूनसँग बाझिने गरी कानूनहरूको निर्माण र प्रयोग अवान्छित हुने भएकोले नगरपालिकाले अक्षरशः पालना गर्ने प्रयास गरेको छ । केही त्रुटि एवम् कमजोरीहरू रहेको देखिएमा तत्काल संशोधन र परिमार्जन गरी कार्यान्वयन गर्ने गरिएको छ ।
नगरमा कर्मचारीहरू कति सङ्ख्यामा छन् ? त्यो संख्या पर्याप्त वा कम के छ ?
– संख्यात्मक रुपमा कर्मचारीहरू कम भएको नदेखिए पनि विषयगत रुपमा कार्यरत कर्मचारीहरूको संख्या सँधै अभाव नै रहने गरेको छ । नगरपालिकाको संगठन तथा व्यवस्थापन -O&mM_गरी नयाँ संगठन संरचना बनाउन आवश्यक देखिएको छ ।
नगरमा कर्मचारीहरूको अवस्था कस्तो छ ? स्थायी कर्मचारी व्यवस्थापनका लागि लोकसेवा आयोगसँग समन्वय भएको छ ?
– नगरपालिकामा स्थायी‚ करार‚ अस्थायी तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरू रहेका छन् । स्थानीय तहको पुनर्संरचना पश्चात समायोजन भएका कर्मचारीहरूका कारण केही कर्मचारीहरूको पदनाम नखुलेको साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको संगठन तथा व्यवस्थापनको दरबन्दी तेरिजमा उल्लेख भएको भन्दा फरक सङ्ख्यामा कर्मचारीहरू कार्यतर रहेको पाइएको छ । स्थायी पद रिक्त भएको अवस्थामा लोक सेवा आयोगमा समय समयमा माग आकृति फाराम भरी पठाउने गरिएको छ ।
नगरमा बेरुजुका अवस्था कस्तो रहेको छ ?
– नगरपालिकामा देखिएको बेरुजुको प्रकृति हेर्दा धेरैजसो नियमित गर्नुपर्ने‚ केही प्रक्रिया पुरा नगरी भएका वा समयमा कागजातहरू उपलब्ध नगराइएका कार्यहरूसँग सम्बन्धित वेरुजुहरु देखिएको छ । गत आर्थिक वर्षको भएको कारोबारको अन्तिम लेखा परीक्षणबाट देखिएको बेरुजुको मात्रा हेर्दा जिल्लाका सबै नगरपालिकाको भन्दा न्यून बेरुजु देखिएको अवस्था छ भने अधिकांश बेरुजुहरु नियमित गर्नुपर्ने पेश्की बेरुजु‚ प्रक्रिया पुरा गरेको कागजात पेश गर्नुपर्ने‚ औचित्यपूर्ण जवाफ दिनुपर्ने देखिएकोले त्यस्ता विषयमा आवश्यक विवरण सहितको जवाफ तयार भएको र सम्प रीक्षणको लागि तालुक निकायमा पठाउने तयारी भएको छ ।
कर्मचारीहरू र जनप्रतिनिधिहरूको सम्बन्ध कस्तो छ ?
– केही अपवाद बाहेक कर्मचारी र जनप्रतिनिधिहरू बीचको सम्बन्ध सौहार्द्रपूर्ण रहेको छ । सामूहिक छलफलबाट समस्याको पहिचान र समाधानको मार्ग खोज्ने गरिएको छ । नगर कार्यपालिकाको बैठकबाट नगरमा देखिएका समस्याहरूको सामूहिक प्रयासमा समाधान हुने परिपाटिको विकास भएको छ । संघीयता कार्यान्वयनका असल अभ्यासहरू अंगीकार गरी रणनीतिहरू तयार हुने गरेका छन् ।
योजना पुस्तिकामा उल्लेख भएका विकास निर्माणका कार्यहरू अक्षरशः: कार्यान्वयन भएका छन् ?
– कार्यान्वयनका लागि तय गरिएका तर कार्यान्वयन हुन नसकेका तथा आकस्मिक रुपमा गर्नुपर्ने भनी निश्चित गरिएका बाहेकका योजना पुस्तिकामा उल्लेख भएका योजनाहरूको कार्यान्वयन भएको देखिएको छ । केहीको इच्छा वा चाहना भएका वा सीमित व्यक्ति वा समुदायको मात्र लाभ हुने प्रकृतिका योजना छनौट र कार्यान्वयनलाई निरुत्साहित गरिएको छ ।
अन्तिममा तपाईँको तफर्बाट नगरवासीलाई केही भन्नु की ?
– नगरपालिका प्रमुखको पहलमा यस नगरपालिकालाई हरित बसोबास योग्य सहरको रुपमा विकास गर्ने‚ महिला विशेष औद्योगिक ग्राम‚ Healthy Panchkhal, पाँचखाल नगर कृषि सहर जस्ता केही महत्वकाङ्क्षी परियोजनाहरूको परिकल्पना गरी कार्यान्वयन हुने चरणमा छन् । यस्ता कार्यमा जनप्रतिनिधि‚ कर्मचारी तथा आम नगरवासीको साथ र सहयोगको आवश्यकता छ । नगरपालिकालाई कृषि शिक्षा तथा स्वास्थ्यमा अब्बल बनाई आन्तरिक रोजगारीको सिर्जना तथा जनताको जीवनस्तरमा सुधार गर्न नयाँ सोच र विचारहरू भए नगरपालिकासँग सहकार्य गर्न सबै शुभचिन्तकमाझ आह्वान गर्दछु ।
कुनै कुराको प्राप्त निशुल्क नभई लागत सहभागितामा हुने परिपाटिको विकास गर्ने जमर्को नगरपालिकाले गरेको छ । नगरपालिका जनप्रतिनिधिहरू र कर्मचारी मात्रको नभई सबै नगरवासीको साझा सरोकारको विषय हो । नगरपालिकाले असल नियतले गरेका केही गतिविधिहरूमा यथार्थ कुरा नबुझी सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक सूचना र सन्देश प्रवाह नगरिदिन सबैमा अनुरोध गर्दछु । नयाँ पुस्तालाई सुख देखाउने हैन दु:ख सिकाउन लागौ अवश्य भावी पुस्ता कामको सम्मान गर्ने र राष्ट्रियतालाई अक्षीण राख्न जीवन उत्सर्ग गर्न समेत पछि पर्ने छैन् । जय देश ! जय पाँचखाल !!
प्रतिक्रिया दिनुहोस