ओमकार श्रेष्ठ
अध्यक्ष
स्वेच्छा बचत तथा ऋण सहकारी संस्था
साबिक पाँचखाल गाविस वडा नं ६ पुरानो बजार ‚ हाल पाँचखाल नगरपालिका वडा नं ४ पाँचखालमा पिता राम गोपाल श्रेष्ठ तथा माता सानुमाया श्रेष्ठको कोखबाट २०४१ साल बैशाख ६ गते जन्मनु भएका ओमकार श्रेष्ठ मिलनसार शालीन साथै भद्र हुनुहुन्छ । बाल्यकालबाटै सामाजिक कार्यको साथै परोपकार कार्यमा रुचिका साथ अगाडि बढ्नु भएका श्रेष्ठले आफ्नो अध्ययन पश्चात आफ्नो पिताले गर्दै आउनु भएको व्यवसाय न्यु ओम ग्रिल वर्कसप लाई सम्हाल्दै आउनुको साथै माता पलाञ्चोक भगवती रियल स्टेट समेत सञ्चालन गर्दै आउनु भएको छ ।
समाजसेवामा रुचि राख्ने सामाजिक व्यक्तित्व श्रेष्ठ २०६५ सालमा समाज कल्याण युवा क्लबको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो । प्रगति पुस्तकालयको अध्यक्ष समेत रहनु भएका श्रेष्ठले माता पलाञ्चोक भगवती रियल स्टेट सञ्चालन गर्दै आउनु भएको छ । २०६७ सालमा स्वेच्छाको स्थापना कालमा संस्थापक उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । कृषि प्रबन्धन साना तथा घरेलु व्यवसायीको उत्थान‚ सामाजिक कार्य‚ शेयर सदस्यहरूको हित तथा स्वावलम्बन लगायतका कार्यलाई प्रमुख उद्देश्य राखी सुरुगरेको सहकारीले संख्यात्मक भन्दा गुणात्मक तफर् प्राथमिकतामा राखी अगाडि बढेको छ ।
सहकारीमा संस्थापन कालबाटै सहभागी रही विगत ६ वर्षदेखि संस्थाको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएका श्रेष्ठको नेतृत्वको कार्यसमितिले शेयर सदस्यहरूको हित साथै सामाजिक कार्यमा समेत संस्थालाई अगाडि बढाउन सफल भएको छ । सहकारी संस्थाका अध्यक्ष श्रेष्ठसँग सहकारी मार्फत शेयर सदस्यहरूलाई प्रदान गर्दै आएको सेवा सुविधा साथै सामाजिक कार्यमा पु¥याएको योगदानको विषयमा ईश्वरी राजकुमार (आई.आर.के) मैनालीले गरेको कुराकानी अंश ..
पछिल्लो समयमा सहकारीको क्षेत्रमा भएको नकारात्मक चर्चाको बारेमा तपाइको तर्क के छ ?
पछिल्लो समयमा सहकारी क्षेत्रको बारेमा जतिपनि दुष्प्रचार आएको छ ‚ मेरो विचारमा केही सहकारीले गलत काम गरेको हो भन्ने लाग्छ । ठूला सहकारीको नाउमा साथै सहकारीको नीति विधि र पद्धति विपरित रहेर सहकारी सञ्चालन गर्नेले गलत गर्दा समस्या आएको हो । जसले गर्दा सहकारीको सिद्धान्तको आधारमा विधि सम्वत् सञ्चालन भएको सहकारीलाई समेत असर परेको छ । ठूला सहकारी होस या अन्य कुनै ..आन्तरिक मिलिमतो वा साँठगाँठको आधारमा अनुत्पादक क्षेत्रमा लगानी गरेर केही सहकारी बदनाम भएको हो ।
कर्जा लगानी गर्दा ध्यान नदिनु साथै आन्तरिक मिलेमतोमा जोखिम ढंगले लगानी गर्दा समयमा कर्जा उठ्न सक्दैन । जसको असर संस्थामा नियमित रुपमा संस्थाको नियम संगत रहेर कार्य गर्ने शेयर सदस्यहरूमा पर्न जान्छ । कतिपय संस्थाहरूले शेयर सदस्यको हितको खातिर भन्दा पनि घरजग्गा , शेयर तथा मिटर ब्याजमा लगानी गर्दा थप समस्या आएको हो ।
नीति , विधि र पद्धति विपरित कार्य गर्दा सहकारीमा समस्या आयो भन्नु भयो । तपाईँहरूले स्वेच्छा सहकारीलाई कुन तरिकाले सञ्चालन गर्दै आउनु भएको छ ?
हामीले स्वेच्छा सहकारी सञ्चालन गर्दै गर्दा संस्थाको विधानतः सहकारीको नीति , विधि र पद्धतिलाई अक्षरशः पालना गर्दै अगाडि बढेका छौं । हामिले लगानी गर्दा अनुत्पादन क्षेत्रमा लगानी गर्दैनौ । कुन शीर्षकमा लगानी गर्दै छौं ? जुन किसिमको लगानीले शेयर सदस्यको हित हुन सक्छ सक्दैन । लगानी गर्दै गर्दा अपनाउनु पर्ने सबैखाले विधि अपनाउँछिन् । जसले गर्दा लगानी सदुपयोग होस साथै निर्धारित समयमा कर्जा चुक्ता होस । संस्थाले विधान भन्दा बाहिर गएर कुनैपनि कार्य नगर्दा स्वेच्छा सहकारीले गरेको लगानीमा कुनै समस्या छैन । धेरै सहकारीले जोखिम ढङ्गको लगानी गर्ने गरेको पाइएको छ जसले गर्दा समस्या आएको हो ।
स्वेच्छा सहकारी संस्थामा हालको समयमा लगानीको अवस्था कस्तो छ ?
राम्रो प्रश्न सोध्नु भो , खुसी लाग्यो यस्ता वास्तविक कुराहरू आम जनमानस सम्म पुग्न जरुरी रहन्छ । वास्तवमा भन्नु पर्दा संस्थाले गर्ने लगानीमा कहिल्यै पनि पनि पुँजीको समस्या भएन । कोरोनाको महामारीले आर्थिक क्षेत्रमा निकै समस्या ल्यायो तर पनि स्वेच्छामा समस्या रहेन । पछिल्लो समयमा मुलुकमा आर्थिक मन्दी आएको छ तर यस संस्थामा तरल पुँजीको अभाव छैन । हामीले जुनसुकै समयमा शेयर सदस्यले भन्ने वित्तकै तुरुन्तै लगानी गर्छौ तर लगानी कर्ताको क्षमतालाई मध्यनजर गर्छौ ।
लगानी त रोक्नुभएको छैन तर संस्थामा खराब ऋणिको अवस्था कस्तो छ ?
यस संस्थामा खराब ऋणी भन्ने नै छैन ‚ यदाकदा नगन्य सङ्ख्यामा होलान् निर्धारित समयमा किस्ता बुझाउन नसक्नेहरू तर खराब ऋणी चाही छैन । संस्थाले गरेको लगानी असुल उपर गर्न नसकेर कानुनी तरिका अपनाउनु पर्ने अवस्था छैन । कोभिड को समय ‚ पछिल्लो समयमा भएको आर्थिक मन्दीले केही समस्या नल्याएको हैन तर समस्या आयो समाधान भयो । केही लगानीमा थोरै समय ढिला भयो होला तर जटिल समस्या आएको छैन र आँउदैन पनि । संस्थाले लगानी गरेको कर्जा शतप्रतिशत असुल गर्न सफल भएका छौं ।
कतिपय सहकारीले पाँचखालमा शाखा खोलेर पुँजी सङ्कलन गरी शहरमा लगेर लगानी गर्ने विषयमा तपाईंको तर्क के कस्तो छ ?
मलाई धेरै भन्दा धेरै बोल्न मन लागेको विषय उठाउनु भयो , पाँचखाल नगर कृषि शहर , उदयमान ढंगबाट विकासको चरणमा लम्केको नगरमा बाहिरि सहकारीले शाखा खोलेर पाँचखालको पूँजी बाहिरिनुले सकारात्मक सन्देश दिदैँन । पाँचखालमा सञ्चालन रहेका सबै सहकारीबारेको प्रमुख उद्देश्य भनेकै पाँचखाल र आसपासमा बसोवास गर्ने स्थानियहरुको हित गर्ने हो । कृषि प्रबन्धन साना तथा घरेलु व्यवसायीको उत्थान , सामाजिक कार्य , शेयर सदस्यहरूको हित तथा स्वावलम्बन लगायतका कार्यलाई प्राथमिकता दिनु साथै छरिएर रहेको पुँजीलाई एकीकृत गरी बचत गर्ने बानी बसाल्नु पाँचखालमा रहेका सवै सहकारीहरुको दायित्व हो ।
काठमाडौँ , भक्तपुर , बनेपा , पनौती लगायतका स्थानहरूबाट पाँचखालमा सम्पर्क कार्यालय च्याउसरी उम्रियो । बिभिन्न ठाउँबाट आएका सहकारीले पाँचखालमा सम्पर्क कार्यालय खोल्दै गर्दा पाँचखालमा पनि समस्या आएको हो । बाहिरबाट जतिपनि सहकारी आएर शाखा खोलेर कार्य गर्दै गर्दा पाँचखालमा समस्या आएको हो । पाँचखालमा स्थापना भएको सहकारीमा खासै समस्या छैन । एउटा सहकारीले लगानी गर्दा अलि होस पुर्याउन नसक्दा केही समस्या आएको छ , तरपनि समाधानको प्रकृयामा अघि बढेको छ भन्ने सुनेको छु । उपशाखा खोल्न आउनेलाई पाँचखालमा पैसा छ भन्ने थाहा छ , सीमित ब्याजको प्रलोभन देखाएर संकलन गरेको पैसालाई उपत्यकामा लगेर लगानी गर्दा पाँचखालको मुख मोसेको महसुस भएको छ ।
सहकारीमा समस्या आएपछि भएको अनुगमनमा सहकारीले गैर शेयर सदस्यलाई लगानी गरेको भन्ने सुन्न आएको छ , यस्तो विषयमा तपाईंको तर्क के छ ?
शाखा उपशाखा खोलेर संकलन गरेको पुँजीलाई गैर शेयर सदस्य साथै तत्कालै शेयर सदस्य बनाएर लगानी गर्नेगरेको भन्ने सुनेको छु । तर यस स्वेच्छा सहकारीको बारेमा भन्नु पर्दा संस्थाको विधान विपरित लगानी गर्दैनौ । संस्थामा शेयर सदस्य भएर नियमित ढंगबाट कारोबार गरेको ६ महिना अगाडि हामी लगानी गर्दै नौ । सो भन्दा फरक ढंगले लगानी गर्नु भनेको विधान विपरित हो । संस्थाले संख्यात्मक भन्दा गुणात्मकता लाइ प्राथमिकता दिएकोले शेयर सदस्य बनाउँदा पनि विचार गर्छौ । ह्वारह्वारती शेयर सदस्य बनाउने जसको कारण जोखिम मोल्ने कार्य गर्दैनौ । सदस्य दिदा निकै विचार पुर्याएर मात्रै दिन्छौ । जो कि शेयर सदस्यको रुपमा नभई संस्थाको पारिवारिक सदस्यको रुपमा लिन्छौं ।
पछिल्लो समयमा स्वेच्छा सहकारी संस्थाको अवस्था कस्तो छ ?
वास्तविक कुरा सोध्नु भयो खुसी लाग्यो । पछिल्लो समयमा संस्थामा आवद्ध शेयर सदस्य संख्या १ हजार १२ जना रहेका छन् । कर्जा लगानी १६ करोड ७५ लाख , बैंक मौजात २ करोड ३९ लाख , सहकारीको छाता संगठनसँग ५ करोड कर्जा लिएका छौं । त्यसैगरी शेयर पुँजी १ करोड १२ लाख , बचन १२ करोड रहेको छ । विभिन्न विषयगत कोषहरूको समेत व्यवस्था गरेका छौ ।
सहकारीको अवस्था हेर्दा निकै राम्रो भएको पाइयो , यस्तो जटिल अवस्थामा पनि यति राम्रोसँग अगाडि बढ्न सक्ने वातावरण कसरी निर्माण भयो ?
हामीले संख्यात्मक भन्दापनि गुणस्तरलाई प्राथमिकता दियौं । धेरै सदस्य बनाएर सेवा दिन नसके सदस्य बनाउनुको औचित्य रहन्न । हाम्रो प्रमुख उद्देश्य भनेको जति शेयर सदस्य बनायौँ उहाँहरूलाई शेयर सदस्यहरूको हितको खातिर तत्काल सेवा दिन सकियोस् भन्ने हो । हामीले प्रदान गरेकै सेवा साथै
पारदर्शीताले गर्दा हामीले शेयर सदस्यहरूको मन जित्न सफल भएका छौं जसको कारण संस्थाले फड्को मारेको हो । हामीले पाँचखालमै पहिलो सुविधा अनलाइन सुविधा दिएका छौं । मध्यकालीन बचत तथा व्यवसायिहरूले फोन गरेको १० मिनेट भित्र व्यवसाय स्थलमै पुगेर सर्भिस पनि दिने गरेका छौं ।
सहकारीले शेयर सदस्यहरूलाई सापेक्षिक रुपमा उच्च आय सृजना गर्न सहयोग गर्छ , स्वेच्छा सहकारी संस्थाले आफ्नो शेयर सदस्यहरूलाई कस्तो सहयोग गर्दै आएको छ ?
यस सहकारी संस्थाको उद्देश्य भनेकै संस्थाको सदस्यहरूको सामाजिक , आर्थिक लगायत हरेक हिसाबले अगाडि बढ्दै नेतृत्वदायि भूमिकामा पुगोस् भन्ने हो । व्यवसायिक हिसाबले , सांस्कृतिक हिसाबले , आर्थिक हिसाबले सफल र अव्बल हुनुपर्छ भन्ने संस्थाको मान्यता हो । जव सदस्यहरूको अवस्था अव्बल रहन्छ तव सहकारी फस्टाउँछ भन्ने मान्यता अनुसार अगाडि बढेका छौं ।
कर्मचारीले सेवा प्रदान गर्दा मुस्कान सहितको सेवा प्रदान गरेको छ ?
हामी सञ्चालकहरूले कर्मचारी मित्रहरूलाई मुस्कान सहितको सेवाको विषयमा समय समयमा तालिम दिने गरेका छौं । र संस्थामा आबद्ध कर्मचारीको भूमिका अत्यन्त राम्रो छ जसले गर्दा शेयर सदस्यहरूको मन जित्न टेवा मिलेको छ ।
शहर केन्द्रित सहकारीका बजार प्रतिनिधिले संकलन गरेको रकम खातामा जम्मा नहुने गरेको गुनासो सुन्न आउँछ जसले गर्दा बजार प्रतिनिधि प्रति विश्वास गुमेको छ , जसले गर्दा बचत कम हुन्छ यस्तो विषयमा कुनै सोच राख्नुभएको छ ?
हामीले यस विषयमा अलि फरक ढंगबाट सोचेका छौं , विगतबाटै प्रत्तेक ३ महीनामा शेयर सदस्यको पासबुक चेक गर्ने गरेका छौं । कमी कमजोरी भएमा कारवाहीको भागिदार सुनिश्चित । शेयर सदस्यहरूको सुरक्षा गर्ने हाम्रो दायित्व हो । त्यसैले पछिल्लो समय अनलाइन व्यवस्था गरेका छौं । बजार प्रतिनिधिले संकलन गरेको रकम संस्थामा जम्मा हुँदै गर्दा सदस्यलाई जानकारी मोबाइल म्यासेज हुँदै आएको छ । अव सो भन्दापनि सुरक्षित तरिका ट्याब माफर्त डिजिटल प्रविधि माफर्त रकम बुझाएको २ मिनेटमै जानकारी आउँछ ।
तपाई संस्थापक उपाध्यक्ष हालको अध्यक्षको नाताले तपाई आबद्ध सहकारी संस्थाले शेयर सदस्यको हितको अलावा सामाजिक क्षेत्रमा पनि सेवा प्रदान गरेको छ ?
सहकारीको मुल्य मान्यता सिद्धान्त अनुसार बैंक र सहकारीमा फरक भने जस्तै हामीले सामाजिक क्षेत्रमा समेत सेवा गर्दै आएका छौं । वित्तिय कारोबार त बैंक र सहकारीले गर्छ तर बैकले सामाजिक कार्य गर्दैन । सहकारीले शेयर सदस्यको हितको लागि कार्य गर्छौ ।
विभिन्न तालिम , व्यवसाय सफलताको वातावरण स्वास्थ्यमा उपचार , सुत्केरी सेवा , आपतकालीन सेवा , समस्यामा साथ गर्दै आएका छौं साथै सामाजिक हितको लागि अन्य विभिन्न कार्य समेत गर्दै आएका छौं ।
स्थानीय तहले सहकारीको निगरानी गर्नुपर्ने विषयमा केही बताइदिनोस् न ?
मेरो विचारमा हाम्रो अभिभावक भनेको स्थानीय तह हो । स्थानीय तहले पाँचखाल नगरमा सम्पर्क कार्यालय खोल्न आउनु भएका तरकारीहरूलाई विशेष निगरानी राख्नुपर्छ । त्यति मात्रै नभएर पाँचखाल नगरपालिकामा रहेका सबै सहकारी संस्थाहरू स्थानीय तहले निगरानी गर्नुपर्छ । संस्थाले गरेको कार्यहरूलाई मसिनो ढंगबाट केलाएर जनतालाई जानकारी गराउनु नगरको दायित्व हो । नराम्रो कार्य गरेको छ समस्या ग्रस्त छ भने सो विषयमा जानकारी गराउँदा जनता समेत हुने मौका पाउँछन् । राम्रा सहकारीलाई हौसला नराम्रालाई दण्डित गर्ने कार्यमा स्थानीय तहले भूमिका निर्वाह गर्नुपर्छ । पाँचखालको पैसा शाखा खोल्नेहरुले अन्यत्र परिचालन नगरोस् पाँचखालको पैसा पाँचखालमै परिचालन हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस