काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माणमा ठूलो फड्को मार्ने बेला आएको बताएका छन् । झण्डै एक वर्ष कुखरासँग लुटपुटिएको तर अब चिलझैं उडान भर्ने उनको दाबी छ ।
शुक्रबार नेकपा सम्पर्क समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकतापछि एक वर्ष १० लाख कार्यकर्ता निष्क्रिय बस्दा क्षति भएको स्वीकार गरे । तर हुँदैहुँदैन भन्दाभन्दा पार्टी एकता प्रक्रिया हात्ती छिरेसरह भइसकेको, पुच्छर मात्र अड्किएको अवस्थामा रहेको सुनाए ।
प्रतिक्रियावादीले दयाले नभई नेतृत्वले असाधारण पहलकदमी र आफ्नै पौरखले यो ठाउँमा आइपुगेको उनले बताए । प्रचण्डले अघि भने,’अब हाम्रो उडान सुरु भएको छ । खोस्रिनेसम्म खोस्रिसक्यौं । कुखुरासँगै झण्डै एक वर्ष लुटपुटियौं । अब चिलले जस्तो उडान भर्ने समय आएको छ । हेर्नुहोला, एक वर्षमा यो पार्टी सम्पूर्ण नेपाली जनताको एक मात्र पार्टी बनाएर मात्र विश्राम लिइन्छ ।’
पार्टी नेतृत्व पङ्ग्तीको जीवनलाई हेर्यो भने ठूलो फड्का, उपलब्धी र क्षतिबाट आएको भन्दै उनले अघि भने, ‘हामीलाई के कन्फिडेन्ट छ भने कुखुराहरुले खोस्रेजस्तो या स्यालहरुले कराएजस्तो सिंहको गर्जन हुँदैन । सिंहले गर्जिन थालेपछि कोही अगाडि पर्न सक्दैन । हामी त्यसैगरी अगाडि बढ्छौं ।’
प्रतिक्रिया दिनुहोस