आइ.आर.के मैनाली
काभ्रे, पाँचखाल । पाँचखाल नगरपलिकाको निर्वाचन यस पटक निकै पेचिलो साथै पूर्ण प्रतिस्पर्धात्मक ढंगबाट सम्पन्न हुने देखिन्छ । सोमबार उम्मेदवारी दर्ता गराउने क्रमको औपचारीक माहोल हेर्दा (गठबन्धन तर्फ) नेपाली काँगे्रसका मेयरका उम्मेदवार महेश खरेल र नेकपा एमालेका उम्मेदवार कन्चन अधिकारी विचको प्रतिस्पर्धा रोचक र जटिल रहेको विश्लेषण हुन थालेको छ ।
०७४ को निर्वाचनमा एमालेका उम्मेदवार रुद्र बहादुर वानियाँलाई ५५६ झिनो मतको अन्तरमा पराजय गराई खरेलले नगरको जिम्मेवारी सम्हाल्नु भएको थियो । गठबन्धनको कारणले गर्दा नेकपा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजबादी) को तर्फबाट मेयरको उम्मेदवारी परेको छैन । गठबन्धनको तर्फबाट उम्मेदवारी नपरे पनि मेयरको लागि ६ जना मैदानमा उत्रिएका देखिन्छन् । जसमा नेपाली काँगे्रसका तर्फबाट महेश खरेल, नेकपा एमालेको तर्फबाट कञ्चन अधिकारी, रा.प्र.पा.को तर्फबाट भिमसेन घिमिरे, ने.म.कि.पा.को तर्फबाट सूर्यलाल तमाङले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवारको रुपमा सानुकाजी अधिकारी र रमेश प्रसाद वजगाई रहनु भएको छ । अधिकारी काँगे्रस निकट र वजगाई एमाले निकटको रहेको बुझिएको छ ।
त्यसैगरी उप—मेयको निर्वाचन थप पेचिलो बनेको विश्लेषकहरुको भनाई छ । नेकपा एमालेको तर्फबाट सूर्य मायाँ दनुवार, गठबन्धनको तर्फबाट (नेकपा माओवादी केन्द्र) चेत प्रसाद गौतम (मणी), ने.म.कि.पाको तर्फबाट विन्दा थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी बडाल र स्वतन्त्र उम्मेदवार गणेश प्रसाद अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । स्वतन्त्र उम्मेदवारी दर्ता गराउने अधिकारी नेपाली काँगे्रसका नि—वर्तमान पाँचखाल नगर समितिका सभापति हुनुहुन्छ । उहाँको उम्मेदवारी दर्ताले गठबन्धनमा खटपट सुरु भएको छ । आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गराउंदै गर्दा अधिकारीले भन्नुभयो—विगत १० वर्षे जनयुद्धमा आफ्नो कन्चटमा सोझ्याईएको बन्दुक साथै परिवारमा भएको पिडा आलै रहेकोले गोलाकार भित्रको हसिया हतौडामा मतदान गर्न असमर्थ भएकोले आफ्नो मत सुरक्षीत गर्न उम्मेदवारी दिएको बताउनु भएको छ ।
सत्ता गठबन्धन बिचमा गठबन्धन गर्दै निर्वाचनमा अगाडी बढ्ने निर्णय भए पनि पाँचखालमा खासै लागु हुन नसकेको विश्लेषकहरुको तर्क रहेको छ । वडा स्तर सम्म गठबन्धन गर्दै अगाडी बढ्ने भनिएता पनि सहमतिको लागि वातावरण हुन नसक्दा अन्तिम समयमा आएर नेपाली कांगे्रसले १३ वटै वडामा उम्मेदवारी दर्ता गराएको छ । काँगे्रसले १३ वटै वडामा उम्मेदवारी दर्ता गराए पछि नेकपा एस र नेकपा माओवादी विच गठबन्धन गर्दै उम्मेदवारी दर्ता भएको छ । जसमा नेकपा एसको भागमा २ वटा वडा परेको छ । जसमा वडा नं ६ र १२ रहेको छ भने अन्य ११ वडामा नेकपा माओवादीले उम्मेदवारी दर्ता गराएको छ ।
उम्मेदवारी दर्ता गराउने क्रमको औपचारीक कार्यक्रममा नेपाली काँगे्रसको तर्फबाट लगाईएको नाराको विषयमा नगरवासीहरुको ध्यान केन्द्रित भएको छ । सात रुख सात छाप भन्ने नाराले गर्दा काँगे्रसको तर्फबाट आधिकारीक रुपमा उप—मेयरको उम्मेवदारी नभए पनि मत पाउने विश्लेसकहरुको तर्क रहेको छ ।
पाँचखाल नगरमा रहेको १३ वटै वडामा सुनिश्चित खासै कुनै दलको पनि सुनिश्चित नभई पूर्ण प्रतिस्पर्धा साथै झिनो मतान्तरमा परिणाम हासिल हुने संकेत देखिएको छ । उम्मेदवारी दर्ता गराउन आउने क्रममा बाजागाजा सहित आ—आफ्नो ढंगको माहोलका साथमा आउने क्रममा नेकपा एमालेले अनुशासित एवं व्यवस्थित ढंगबाट सबै उम्मेदवारहरु एकै साथ निर्वाचन कार्यालयमा उपस्थित भएका थिए । समयको पावन्दिलाई मध्यनजर राख्दै जुलुस आउनु अगावै एमालेका नगर कमिटी अध्यक्षले उम्मेदवारहरुको फाईल निर्वाचन कार्यालयमा पुर्याई सकेको थिए ।
प्रतिक्रिया दिनुहोस