२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

प्रति टनेल ३० हजार फाईदा हुन्छ—अगुवा कृषक वञ्जारा


४६७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ २८, शनिबार मा प्रकाशित २ साल अघि
  • प्रदिप के.सी

    काभ्रेपलाञ्चोक ,पनौती/गाउँमै चियापसल संचालन गर्दै आएका पनौती खरिबोटाका कृष्ण बञ्जारा आफ्नो पेशाप्रति खासै सन्तुष्ट थिएनन् । बञ्जारालाई कृषि मोह थियो । तर उहाँको दिन बित्थ्यो चिया पसलमा । कृषि पेशामा नै विशेष चासो राख्ने उहाँसँग पुग्दो जग्गा नभए पनि उपाय भने प्रशस्तै थियो । आफ्नो २ रोपनी जग्गासँगै बञ्जाराले वर्षको ७५ हजार तिर्ने शर्तमा थप ५ रोपनी जग्गा भाडामा लिए । पनौतीमा रहेको सामुदायीक सहकारीबाट १३ प्रतिशत व्याजदरमा ऋण लिए अनि शुरु गरे कृषि कर्म ।

    पछिल्लो समय कृषि भित्रको आर्कषणका रुपमा रहेको टँनेलमा गोलभेडा खेती तर्फ आर्कषित बञ्जाराले ५ वर्ष अघि सबै खर्च गरी प्रति टनेल २५ हजार खर्च गरेर १२ ओटा निर्माण गर्नुभयो । उहाँको कृषि कर्ममा जिल्ला कृषि कार्यालय धुलिखेलले पनि साथ दियो । उनको मेहेनत तथा निरन्तर मेहेनतको परिणामले सोचे जस्तै कमाई पनि भयो । मेहेनत परिश्रमको प्रतिफल राम्रै पाएका बञ्जारासँग अहिले ४० ओटा टँनेल छन् ।

    २ ओटी छोरी र १ छोराका बाबु बञ्जारालाई आफ्नो कमाईले आवश्यक खर्च पु¥याउन कुनै कठिनाई छैन । घर खर्च होस् या छोराछोरीका लागि चाहिने खर्च अनि सहकारीको ऋणको किस्ता कुनै तिर्न समस्या नभएको उहाँको भनाई छ । शुरुमा २५ हजार खर्चेर निर्माण गरिएको टनेलमा ४÷५ वर्ष सम्म खेती गर्न सकिने बञ्जाराको भनाई छ । हरेक वर्ष सिर्जना जातको १२ पाकेट बिउबाट उत्पादित बिरुवाले सबै टनेलमा गोलभेडा खेती गर्ने गरेका छन् । शुरुमा बढि खर्च जस्तो लागे पनि पछिल्ला वर्षहरुको कमाई हेर्दा राम्रो आम्दानी हुने उहाँको भनाई छ ।

    ‘हरेक वर्ष औसतमा प्रति टनेल ३० हजार त फाइदै निस्किएको छ । यो कमाईले घर खर्च मात्र होइन राम्र्रै बचत पनि गर्न सकिएको छ ।’ बञ्जारा भन्छन् । उहाँले यतिखेर गोलभेँडा खेतीमा राम्रो ज्ञान पनि हासिल गरेका छन् । गोबर मललाई नै बढि प्रयोग गर्ने बञ्जाराले त्यसका अलावा आवश्यकता अनुसार युरिया, डिएपी, पोटास तथा जिंक प्रयोग गर्ने गरेको बताउनुहुन्छ ।

    टँनेल खेतीमा डढुवा लगायतका रोगको संक्रमण छ । बेलैमा चनाखो हुने हो भने त्यसबाट सजिलै बाली जोगाउन सकिने उहाँको भनाई छ । मुख्य खेती गोलभेडा भए पनि टँनेलबाट उनले मुला काउली, काँक्रो, सागपात, धनियाँ पनि उत्पादन गर्दै आएका छन् । बेमौसमी तरकारीका रुपमा बजारको सम्भावनालाई ख्याल गर्दै गरिने यस्ता खेतीले थोरै उत्पादन गर्दा पनि राम्रो कमाई हुने उहाँको तर्क रहेको छ ।

    कृषकहरु बिचको एकता तथा समन्वयका लागि गाउँमै खोलिएको मध्यमार्ग कृषि सहकारी संस्थामा आबद्ध भई उक्त संस्था मार्फत बञ्जाराले ५० प्रतिशत अनुदानमा ट्याक्टर लिएको र जिल्ला कृषि कार्यालयको सहयोगमा उक्त सहकारी मार्फत गाउँमा पकेट कार्यक्रम संचालन गरेको मध्यमार्ग कृषि सहकारी संस्था लिका अध्यक्ष प्रदीप केसीले जानकारी दिनुभयो । पकेट कार्यक्रमले कृषकका लागि आवश्यक सहयोग उपलब्ध गराई कृषकको उत्पादन मूल्यांकन गरेर उत्पादनको आधारमा अनुदान दिनुपर्नेछ ।

    हावाहुरीले कृष्ण बञ्जाराको ४० वटा टँनेलमा २५ वटा क्षति, कृषक कृष्णबहादुर श्रेष्ठको २१ वटा टँनेलमा ९ वटा क्षति, कृषक साजन बञ्जाराको १० वटा टँनेलमा ९ वटा बिग्रेको, सुदर्शन बञ्जाराको १९ वटा टँनेलमा ९ वटा, पदम तामाङको ३६ टँनेलमा २० वटा क्षति, शालिकराम बञ्जाराको १५ वटामा ६ वटा क्षतिको यकिन विवरणहरु संस्थाले तयार गरी कृषि ज्ञानकेन्द्रमा पेश गरेपछि पहिलो पटक ९५ वटा टँनेल सम्झौता भएकोमा पुनः थप ८० वटा टनेल थपेर प्राप्त भएको अध्यक्ष केसीले जानकारी दिनुभयो । त्यस क्षेत्रमा हजारौंको संख्यामा टँनेल खेती गरिएको छ ।

    बजारको विषयमा जिज्ञासा राख्दा बञ्जारा भन्नुहुन्छ – तरकारीका लागि नबिक्ने भन्ने छैन । तर कृषक स्तरमा मूल्य अत्यन्तै न्यून छ । बजारको खरिद मूल्य र कृषकको बिक्री मूल्यको अन्तर हेर्दा कृषक मारमा छन् भन्ने प्रष्ट हुन्छ । यस्ता विषयमा पालिकामा रहेको कृषि शाखाले समन्वय गर्नुपर्ने बञ्जारा बताउनुहुन्छ ।

    अन्य क्षेत्रमा जस्तै कृषि क्षेत्र पनि कोरनाको मारमा परेको बताउँने बञ्जारा कोरना महामारी शुरु हुनु भन्दा अगाडि सहकारी मार्फत गोलभेँडा बंगलादेश सम्म पठाएर राम्रो आम्दानी गरेको सम्झन्छन् । पालिका देखि क्वारेन्टाइन सम्मका प्रकृया केही झन्झटिला छन् । तर बजार मूल्य आर्कषक भएका कारण विदेश निर्यात गर्ने वातावरण कृषि क्षेत्रका निकायहरुले सृजना गरिदिनुपर्ने उहाँको भनाई छ ।

    यो वर्ष कस्ता छन् ज्ञानकेन्द्रका कार्यक्रम ?

    कृषिको विकास तथा कृषकको हितका लागि कृषि ज्ञानकेन्द्र काभ्रेले निरन्तर सहयोगका कार्यक्रम संचालन गरिरहेको छ । ज्ञान केन्द्रले यस वर्ष १ सय ओटा मौरी घार वितरण गर्ने योजना राखेको छ ।
    बाँझो जग्गामा खेती गर्नेहरुका लागि प्रोत्साहन कार्यक्रम संचालन गर्ने छ । जसबाट ९ सय ४० रोपनी बाँझो जग्गामा खेती हुने अपेक्षा गरिएको छ । वागवानी अधिकृत उमेश सापकोटाका अनुसार किवी, ड्रागन फ्रुट बगैंचा व्यवस्थापन, तरकारी खेती, विभिन्न साझेदारी कार्यक्रम संचालन हुने छन् । कृषि ज्ञान केन्द्र धुलिखेलले २ जिल्लामा आफ्ना कार्यक्रम संचालन गर्छ । केन्द्र काभ्रेपलाञ्चोकसँगै सिन्धुपाल्चोकको समेत कृषि कार्यलयको रुपमा रहेको छ ।

    ज्ञानकेन्द्रले कोभिडका कारण विदेशबाट फर्केका युवाहरुलाई लक्षित गर्दै आफ्नै देशमा कृषि कार्यमा व्यवसायीक बनाउने योजना सहितको कार्यक्रम संचालन गरेको छ भने साना किसान जिविकोपार्जन कार्यक्रम, साना सिंचाई, सहकारी खेतीमा आधारित साना सिंचाई कार्यक्रम लगायतका सिंचाई कार्यक्रम संचालन गरेको बागबाणी विकास अधिकृत उमेश सापकोटाले जानकारी दिनुभयो ।

    यससँगै कृषक लक्षित तालिम कार्यक्रम संचालन गर्ने छ । जसमा पुष्पखेती, तरकारी खेती, च्याउ खेती, मौरीपालन, कृषियन्त्र मर्मत तालिम लगायतका रहेका छन् । कृषि ज्ञानकेन्द्रले काभ्रेका १३ तह सिन्धुपाल्चोकका १२ गरी कुल २५ स्थानीय तहहरुमा प्राविधिक सेवा तथा स्थलगत निरिक्षण गर्ने छ । भने प्रधानमन्त्री कृषि अनुदान कार्यक्रमबाट ब्लक विकास कार्यक्रम ७ ओटा तयारी गर्न बजेट छुट्याई फरफारको कार्य अगाडि बढेको छ । ब्लकमा मकै, आलु र तरकारी खेतीहरु हुँदै आएको अधिकृत सापकोटाले बताउनुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार