२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

आई.पि.एम तरिकाले उत्पादन भएको तरकारीको माग अनुसार पुर्ती हुन सकेन‚ पाँचखालमा उत्पादन हुने तरकारीमा विषादीको मात्रा नभएको प्रमाणित


९०४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ अषाढ १२, बुधबार मा प्रकाशित २ महिना अघि
  • आई.आर.के.मैनाली
    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको उर्वरा भूमिको रुपमा परिचित कृषि नगरी पाँचखालका कृषकले (१६२ बर्गमिटर) झण्डै ७ आना जग्गामा तरकारी खेती गर्दा सबै प्रकारको खर्च कटाएर खुद बचत ५१ हजार गरेका छन् । तरकारी टिप्ने समय पूर्ण रुपमा सकिएको छैन ‚ करिव ७५ प्रतिशत तरकारी बिक्री गरिसक्दाको अवस्थामा सो रकम बचत गरेको अध्ययनबाट प्रस्टिएको छ ।

    झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ‚ यति थोरै जग्गामा (७ आना) तरकारी खेती गर्दा तरकारीको बजार भाउ खस्किएको अवस्थामा ५१ हजार बचत ! तर तरकारीले उचित बजार पाउने हो र सबै वाली टिपेपछि हिसाब गर्ने हो भने झण्डै १ लाख बचत हुने अनुमान गरिएको छ । अध्ययन टोलीले ।

    थोरै जमिनमा तरकारी खेती गर्दा यति धेरै आम्दानी हुन्छ भने किन चिल गाडी चढेर विदेशमा पसिना बगाउनु भन्ने प्रस्न आउनु अस्वभाविक हैन । मेहनतको फल मिठो हुन्छ ‚ तर डोकामा दूध दोएर अडिन्छ र ? खेतीबाट राम्रो आम्दानी गर्न विज्ञको सल्लाह र सुझावको आधारमा आधुनिक तरिका अपनाउँदा परिवारको साथमै रहेर आफ्ना सन्तानको संरक्षण गर्दै खाडीमा भन्दा राम्रो आम्दानी खेतीबाट हुन्छ ।

    मिहेनत गरे के हुँदैन ! वास्तवमा कृषकहरूले पुरातन तरिकाले खेती गर्दा आम्दानी भन्दा लागत बढ्ने खतरा देखेसँगै कृषि कर्ममा निरास पैदा हुनु अस्वभाविक हैन । विस्तार कृषि पेसामा युवाहरूले चासो नदिने गर्दाको अवस्थामा पाँचखालको लागि वरदानको रुपमा उदाएको लवग्रीन नेपाल नामक संस्थाको मार्ग निर्देशले कृषिमा आमूल परिवर्तन भएको छ । आई.पि.एम तरिकाबाट पाँचखालमा उत्पादन भएको ताजा तरकारी मुलुकको प्रमुख शहरमा लुटालुट अवस्था सृजना भएको छ ।

    हो सोही आई.पि.एम तरिकाले खेती गर्दा त्यति थोरै जमिनमा खेती गर्दा कल्पना गरेभन्दा बडी बचत भयो । तीन महिने तरकारी बालिमा आइ.पि.एम तरिकाले गरेको खेती र पुरातन तरिकाले गरेको खेतीमा तुलना गर्दा पुरातन तरिकाले गरेको खेतीमा ३०४२९ बचत हुँदा आइ.पि.एम तरिकामा ५१०१९ बचत भयो । आइ.पि.एम तरिकाबाट गरिएको खेतीमा रासायनिक मल अत्यन्त कम प्रयोग गरिएको छ भने रासायनिक विषादीको प्रयोग छैन । रोग तथा किराबाट मुक्त हुनको लागि कृषकले घरैमा जैविक विषादी बनाउने गरेका छन् ।

    विगत ३२ वर्ष अगाडि पाँचखालमा उदाएको लवग्रीन नेपालले पाँचखाको विकास निर्माणको विभिन्न विधामा सफल एवं नमुना ढङ्गको कार्य गर्दै जाने क्रममा पछिल्लो दशकमा कृषिको क्षेत्रमा कार्य विस्तार गरियो । कार्य विस्तारको क्रममा माटो सुधार ‚ भकारो सुधार ‚ नस्ल सुधार‚ उन्नत जातको पशुपालन‚ खेतीमा आधुनिक प्रविधि ‚ वातावरण संरक्षण साथै उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर राख्दै आइ.पि.एम तरिकाबाट तरकारी खेतीको सुरुवात गरियो । कृषकहरूको क्षमता वृद्धिको लागि कृषक पाठशाला सञ्चालन गरियो सुरुवाती अवस्थाबाट हाल सम्म ७५ वटा पाठशालाबाट आधुनिक खेतीको लागि दक्षता हासिल गरेका १५ सय जना कृषक रहेका छन् भने थोरै समय सिकेर आई.पि.एम तरिकाबाट खेती गर्ने कृषक ३ हजार रहेको लवग्रीन नेपालका कार्यकारी प्रमुख नारायण ज्ञवालीले बताउनु भयो ।

    झन्डै दुई दशक अगाडि मात्रै पाँचखालको तरकारीमा विषादिको अवधेश वढी छ भन्दै हल्ला गर्नेहरू हाल आएर चकित पर्दै पाँचखालको ताजा तरकारी खान पाएन भने गेडागुडीमा सिटी लगाएर छाक टार्न बाध्य छ । पछिल्लो समयमा पाँचखालमा उत्पादन भएको ताजा तरकारी स्वास्थ्यको लागि राम्रो छ भन्ने विषय प्रमाणित भएको छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रयोगशालामा पाँचखालमा उत्पादन भएको ताजा तरकारी परिक्षण गर्दा विषादीको अवशेष नभएको नतिजाहरू दर्जनौँ पटकको सार्वजनिक भएको छ । यति ठुलो देन लबग्रीन नेपालकै हो ‚ पाँचखालका कृषकले मात्र नभएर शहरमा बस्ने उपभोक्ताहरूले पनि यति ठुलो योगदान पुर्याउने संस्थालाई बिर्सदैन होला ।

    पाँचखाल नगरपालिकाको सहकार्यमा ताजा आई.पि.एम तरकारी उत्पादन तथा बजार प्रवर्द्धन परियोजना अन्तरगत लवग्रीन नेपाल नामक संस्थाको आयोजनामा सञ्चालित धोत्रा आई.पि.एम कृषक पाठशाला २३ हप्ते तालिम समापन तथा कृषक दिवस एक कार्यक्रमका बिच कृषक समुहका अध्यक्ष पिताम्बर दनुवारको अध्यक्षतामा बुधवार सम्पन्न भयो ।

    तालिम समापन कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले पाँचखालको वारेमा विगतमा पाँचखालको हित नचाहने पक्षले आफ्नो स्वार्थ पूर्तिको लागि भएको झुटको खेती पछिल्लो दशकबाटै झुट सावित भएको बताउनु भयो । प्रयोगशालामा विभिन्न जिल्लाहरूमा उत्पादन भएको तरकारी परिक्षण गर्दा पाँचखालमा उत्पादन भएको तरकारी जस्तो राम्रो (बिषादी रहित) काहिको नभएको पाइएको बताउनु भयो । खाद्यान्न खेतीबाट मात्र गरिबको अन्त्य नहुने हुँदा बजारको माग अनुसारको तरकारीहरू उत्पादन गरेर आत्मनिर्भर हुनुपर्ने बताउनु भयो । लवग्रीन नेपालले पाँचखालको लागि गरेको कार्य अविस्मरणीय छ ‚ जसको कारण कृषकहरूको आम्दानी पर्याप्त हुने वातावरण बनेको बताउनु भयो ।

    कार्यक्रममा पाँचखाल नगर उपप्रमुख सूर्य माया दनुवारले लवग्रीन नेपालले आइ.पि.एम तरिका अपनाएर खेती गर्ने वातावरण सृजना गर्दा पाँचखालको कृषकको भविष्य सुनौलो रहेको बताउनु भयो । उहाँले थप्नुभयो—पाँचखालमा विषादी रहित तरकारी उत्पादन हुनु भनेको उपभोक्ताहरूको हित हुनु हो । अबको दिनमा प्रयोगशालामा परिक्षण सहितको ट्याग लगाएर तरकारी बजारमा लान सके ढुक्कका साथमा उपभोक्ताले खान पाउने भएकाले सो कार्यको लागि अगाडि बढ्ने बताउनु भयो ।

    त्यसैगरी पाँचखाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले विगतमा कृषकलाई तरकारी खेतीमा आधुनिकीकरण थाहा थिएन लवग्रीन नेपालको योगदानको कारण आधुनिक खेती गनर्े अवसर कृषकलाई मिलेको बताउनु भयो । पाँचखालमा उत्पादन भएको विषादी रहित तरकारीले काठमाडौँमा बस्नेलाई पाल्ने काम मात्र भयो कृषकलाई फाइदा भएन । कृषकको हौसला साथै फाइदाको लागि गुणस्तरीय सामानको उचित मूल्य पाउनु पर्ने बताउँदै सोही कार्यमा अगाडि बढ्ने बताउनु भयो । अबको दिनमा तरकारी परिक्षण गरि बिक्री स्थलको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

    कार्यक्रममा लवग्रीन नेपालका कार्यकारी अधिकृत नारायण ज्ञवालीले पाँचखाल नगरलाई विषादी रहित तरकारी उत्पादन हुने हवको रुपमा परिचित गराउने कार्यमा आफूहरू निरन्तर लागेको बताउनु भयो । पछिल्लो समयमा आई.पि.एम तरिकाले खेती गर्ने कृषकको संख्या ४ हजार ५ सय पुगेको छ । त्यति मात्रै नभएर आई.पि.एम तरिका जानेका कृषकले नजानेका कृषकलाई सिकाउने कार्य भएको छ ‚ त्यति मात्रै नभई खेतीमा कुनै समस्या आएमा हामिले तुरुन्तै प्राविधिकहरूको व्यवस्था गर्दै आएको बताउनु भयो । आई.पि.एम तरिकाले पाँचखालमा उत्पादन भएको तरकारीको माग धेरै छ ‚ माग अनुसारको पुर्ती हुन सकेको छैन भावी दिनहरूमा नेपालमा मात्रै नभई छिमेकी मुलुकहरूमा समेत निर्यात हुने वातावरणको लागि प्रयोगशाला परिक्षण ‚ लेवलिङ्ग ‚ गे्रडिङ्ग गर्नुपर्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु