२०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024

     स्वेच्छा सहकारीको १४ औं वाषिर्क साधारण सभा सम्पन्न‚ केही व्याजको लोभमा पर्दा साँवा नै डुबेको हो —कपाली


४५५१ पाठक संख्या
  • २०८१ आश्विन ९, बुधबार मा प्रकाशित ३ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ मा केन्द्रिय कार्यालय रही सञ्चालनमा आएको स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाको १४ औं वाषिर्क साधारण सभा सम्पन्न भएको छ ।

    आज (आईतवार) पाँचखालमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्‌घाटन गर्दै काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष सागर नाथ कपालीले सहकारी संस्था शेयर सदस्यको हातमा एक दिन मात्रै हुने बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष कपालीले ३६४ दिन सञ्चालक समितिलाई सहकारी जिम्मा लगाएको हुन्छ । साधारण सभाको १ दिन सहकारी संस्था शेयर सदस्यको मातहतमा संस्था रहन्छ । त्यसैले यो महत्वपूर्ण दिनमा संस्थाका सबै शेयर सदस्यहरू उपस्थित रहेर नीति नियम बनाउन आवश्यक रहने बताउनु भयो । सञ्चालक समितिले शेयर सदस्यको सुझावलाई अक्षरसः पालना गर्दै संस्था तथा शेयर सदस्यको हितमा काम गर्नुपर्ने हुन्छ । स्वेच्छा सहकारीले जारी गरेको बुलेटिन (ऐना) नियाल्दै गर्दा राम्रो ढङ्गबाट सहकारी सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

    पाँचखालबाट केही सहकारी भागेको विषयलाई लक्षित गर्दै प्रमुख अतिथि कपालीले थप्नुभयो —पाँचखालमै सञ्चालन हुँदै गरेको सहकारीले भन्दा बाहिरबाट शाखा खोल्न आएका सहकारी संस्थाले केही वडि व्याज दिए । व्याजको लोभमा पर्दा सावाँ डुब्यो । पाँचखाल वासीलाई आकषिर्त गर्न साधारण सभामा भोजको व्यवस्था गरियो ‚ अन्य सहकारी संस्थाले ३ सय यातायात खर्च दिँदै गर्दा उनीहरूले १ हजार दिए । अप्ठेरै पर्दा काम लाग्छ भनेर जममा गरेको पैसा एक दिनको भोज साथै भत्ता अनि १/२ प्रतिशत व्याजको लोभमा सबै गुम्यो ।

    पाँचखालमा मात्रै हैन बनेपामा पनि यही तरिकाले धेरैलाई डुबाएका छन् । जसको कारण केहीले आत्महत्या गर्न विवश भए । सहकारीमा नियमन निकायले अनुगमन गर्न नसक्दा त्यसको फाइदा फटाहाहरूले उठाए । पाँचखालमा सञ्चालन भएको स्वेच्छा सहकारीले तपाई शेयर सदस्यहरूलाई फाइदा दिएको छ भने अन्य सहकारीमा आवद्ध हुन जरुरी पर्दैन प्रमुख अतिथि कपालीले थप्नुभयो ।

    त्यसैगरी कार्यक्रमका विशेष अतिथि जिल्ला सहकारी सङ्घका कोषाध्यक्ष एवं आय आर्जन सहकारी संस्थाका अध्यक्ष अर्जुन सापकोटाले पाँचखालमा सञ्चालन भएको स्वेच्छा बचत तथा ऋण सहकारी संस्था नमुना ढङ्गको साथै उत्कृष्ट सावित भएको बताउनु भयो । उहाँले थप्नुभयो —कार्यालय मात्रै स्थापना गरेर खुम्चिएर बसे हाम्रो लक्ष्य पूर्ति हुदैन । सहकारीले आफ्ना शेयर सदस्यहरूलाई सके सम्म धेरै सेवा सुविधा प्रदान गर्ने लक्ष लिएको हुन्छ सो लक्ष पुरा गर्न सहकारी संस्थाका छाता सङ्गठन वा दाता संथाहरुसंग समन्वय गरेर अगाडि बढ्न जरुरी रहन्छ । विशेष अतिथि सापकोटाले भन्नुभयो ।

    संस्थाका अध्यक्ष ओमकार श्रेष्ठको सहअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सञ्चारकर्मी इश्वरि राजकुमार मैनाली ‚ जिल्ला समन्वय समिति काभ्रेका प्रवक्ता अप्सरा ढुङ्गाना ‚ प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशव काफ्ले ‚ ग्रामीण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका कार्यवाहक अध्यक्ष इन्दिरा गौतम ‚ आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था सचिव राम प्रसाद कोइराला लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    संस्थाका सञ्चालक समिति सदस्य रजनी श्रेष्ठबाट स्वागत मन्तव्य तथा संस्थाका कोषाध्यक्ष सुनिल सापकोटा बाट सञ्चालित कार्यक्रममा संस्थाका सचिव गणेश दनुवारले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मान ‚ उत्कृष्ट बाल बचत ‚ असल ऋणी ‚ नियमित उत्कृष्ट बचत कर्ता ‚ एस.इइमा उच्चतम् अङ्क हासिल गर्ने विद्यार्थी सम्मान लगायतको कार्यहरू सम्पन्न भएको थियो ।

    १४ वर्ष अगाडि पाँचखालमा स्थापना भई ११३६ शेयर सदस्य रहेको स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाको शेयर पूँजी १ करोड ३१ लाख ५५ हजार ९०० रहेको छ ।  त्यसैगरी बचत निक्षेप १२ करोड ५२ लाख २४ हजार ५५८ रहेको छ । संस्थालाई मजबुत बनाउनको लागि व्यवस्थापन गरेको बिभिन्न कोषहरूको विगत बर्षहरुको तुलनामा धेरै राम्रो व्यवस्थापन गर्न सफल हुँदा १ करोड ३० लाख ६४ हजार ५९५ कोष व्यवस्थापन गर्न सफल भएको छ । विगत वर्षको तुलनामा व्याज असुली तथा मुनाफामा फड्को मार्न सफल भएको छ ‚ संस्था ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार