काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरको १६ औं नगरसभा सम्पन्न भएको छ ।
नगरसभाको प्रारम्भ गर्दै नगर प्रमुख महेश खरेलले अविरल बर्सातको कारण निम्तिएको विपदमा साथ दिने पाँचखालमा रहेका सुरक्षा निकाय ‚ संञ्चार जगत ‚ विभिन्न संघ संस्था प्रति धन्यवाद दिदैँ आगामी दिनमा पनि नगरको हितको खातिर हातेमालो गरेर अगाडि बढ्न अनुरोध गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष नगरप्रमुख खरेलले काभ्रे जिल्लाकै कम आन्तरिक स्रोत भएको नगर भयता पनि नगरको हितको खातिर विकास निर्माणको कार्यहरू गर्दै अगाडि बढेको बताउनु भयो । पाँचखाल नगरको जिम्मेवारी सम्हालेको ७ वर्षको अवधिमा मदन भण्डारी विश्वविद्यालयको लागि पाँचखाल वडा नं १२ ‚ वडा नं १० र वडा नं ७ मा जग्गाको व्यवस्थापनम गरी प्रकृया अगाडि बडाइएको ‚ पाँचखाल वडा नं ४ मा काठमाडौँ विश्वविद्यालय शाखा सञ्चालन भएको ‚ सेजको भवन निर्माण तथा सञ्चालनको प्रकृया अगाडि बढाएको र आगामी दिनमा पाँचखाल वडा नं १३ को कल्लेरीमा २६ सय रोपनी जग्गामा अन्तराष्ट्रिय ध्यान विश्वविद्यालय निर्माणको लागि पहल भएको बताउनुभयो । पाँचखालमा खानेपानीको प्रमुख समस्यालाई मध्यनजर राख्दै पाँचखाल सुनकोशी वृहत खानेपानी आयोजनाको सुरुवात भई अन्तिम चरणमा पुगेको बताउनु भयो ।
कार्यक्रममा नगरप्रमुख खरेलले भन्नुभयो —“ हामीसँग आन्तरिक स्रोतमा कमी भएपनि इच्छाशक्ति छ ‚ आन्तरिक आयस्रोत बढाउने दीर्घकालीन लक्ष लिएका छौँ ।” नगरमा रहेको ५५ सामुदायिक बनमा १० लाख फलफूलको बिरुवा रोपेर दीर्घकालीन आयस्रोतको मार्ग पहिल्याएका छौँ । अबको १० वर्षमा सामुदायिक वनबाट बाषिर्क १ अरव आम्दानी हुन्छ । सामुदायिक बन उपभोक्ता समितिका अध्यक्षले नगरको मिसन अनुसारको कार्यमा सघाउनु पर्छ । यदि उपभोक्ता समितिका अध्यक्षले नगरको योजनामा साथ दिन सकिदैन भने राजिनामा दिएर बिदा भए हुन्छ । नगरपालिका क्षेत्रभित्र क्रसर तथा बालुवा उत्खननको लागि प्राथमिकता नदिएको बताउनु भयो । बालुवा तथा क्रसरको कार्य गरियो भने ३ करोड आन्तरिक स्रोत जुट्छ तर विपत निम्तिन सक्ने खतराले गर्दा सो कार्यलाई प्राथमिकता नदिएको बताउनु भयो ।
नगरसभामा नगर उपप्रमुख सुर्य माया दनुवारले आ.व ०८१/०८२ को प्रगति प्रतिवेदन सहित समीक्षा कार्यको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले नगर माफर्त भएका ४३ योजनाको कार्यसम्पादन भएको बताउँदै नगरले निर्धारित गरेको योजनाहरू सहज ढंगबाट अगाडि बढेको बताउनु भयो ।
नगरका शाखा अधिकृत सन्तोष पौडेलद्वारा सञ्चालित कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत एवं नगर कार्यपालिका सचिव अच्युतराज रेग्मीको समेत उपस्थितिमा सम्पन्न १६ औं नगरसभामा पाँचखाल नगरका प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष सञ्जय तामाङ ‚ पाँचखाल वडा नं १० का वडा अध्यक्ष नारायण सापकोटा ‚ वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल ‚ कार्यपालिका सदस्य सुरेश भुजेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
असोजको दोस्रो हप्तामा आएको अविरल बर्षातले निम्त्याएको विपत्तिमा पाँचखाल योगदान पुर्याउने विभिन्न सङ्घ संस्थालाई १६ औं नगरसभाको अवसरमा सम्मान गरिएको थियो । जसमा सञ्चारकर्मी नवसंकेत अलाईनको सम्पादक एवं प्रभातफेरी साप्ताहिकका प्रधान सम्पादक इस्वरी राज कुमार मैनाली ‚ सशस्त्र प्रहरी बल नेपाल १५ नं गण हेडक्वार्टर काभ्रे पाँचखाल ‚ विरेन्द्र शान्ति तालिम केन्द्र पाँचखाल ‚ नेपाल विद्युत प्रधिकरण पाँचखाल वितरण केन्द्र ‚ पाँचखाल प्रहरी चौकी ‚ इलाका प्रहरी कार्यालय भगवतीस्थान ‚ प्रहरी चौकी खावा ‚ प्रहरी चौकी बालुवा ‚ प्रहरी चौकी तेमाल वेसी ‚ आजाद माध्यमिक विद्यालय पाँचखाल १२ ‚ ज्ञानेश्वरी माध्यमिक विद्यालय पाँचखाल १ ‚ श्रीराम माध्यमिक विद्यालय पाँचखाल १३ ‚ बालप्रतिभा आधारभुत विद्यालय पाँचखाल २ ‚ गोल्डेन फ्युचर माध्यमिक विद्यालय पाँचखाल ४ समेतका कार्यालय प्रमुखहरूलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस