काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को तेस्रो अधिवेशन तथा खबरदारी सभा भब्यताको साथ सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
तेश्रो अधिवेशन तथा खबरदारी सभालाई सम्वोधन गर्दै उपाध्यक्ष श्रेष्ठले संसद् अधिवेशन नबोलाई अध्यादेशमार्फत गम्भीर प्रकृतिका कानुन जारी गर्ने सरकारको कामप्रति आपत्ति जनाएका हुन् ।
‘सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद् छल्ने र राजनीतिक निर्णय तथा कामकारबाही पूर्वाग्रही ढंगले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै संकट ल्याउने उनको भनाई थियो ।
‘सरकार र सत्तारूढ गठबन्धनका दलहरूको निहित स्वार्थ पूर्तिका लागि संसद् छलेर राष्ट्रको दूरगामी भविष्यमा गम्भीर असर पार्ने प्रकृतिका कानुन अध्यादेशमार्फत ल्याउने कदमको विरोध गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले गठबन्धन सरकार गठन भएको ६ महिना बितिसक्दा पनि जनअपेक्षाअनुरूप काम गर्न नसकेको, महँगी र भ्रष्टाचारलाई बढावा दिएको, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसकेको र संसद्लाई छलेर अध्यादेशमार्फत जनतामा निरंकुश शासन लाद्न खोजेको बताए ।
उनले यसअघिको सरकारका पालामा सुधारोन्मुख रहेको अर्थतन्त्र अहिले समस्यातर्फ उन्मुख भइरहेको बताए । वरिष्ठ श्रेष्ठले भने – ‘आर्थिक क्षेत्र चलायमान हुन नसक्दा आर्थिक परिसूचकहरू सकारात्मक हुन सकेका छैनन्,’ ‘विश्वविद्यालय, संस्थान तथा कर्मचारीतन्त्रमा चरम हस्तक्षेप तथा राजनीतीकरण भइरहेको छ । केही सीमित समूहको स्वार्थमा सरकारका संयन्त्रहरू परिचालित हुन पुगेका छन् ।’
नेकपा माओवादी केन्द्र बेथानचोक गाउँपालिका अध्यक्ष तथा बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघीय सांसद सुर्यमान दोङ, मिना तामाङ, माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा(दिपशिखा), महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा(संसार) लगायतले माओवादी भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचार अन्त्य र सुशासनको लागि खबरदारी अभियान सञ्चालन गरेको र भ्रष्टाचार गर्ने जुनसुकै पार्टीका नेता कार्यकर्ता भए कानुन बमोजिम कारबाही गरिनु पर्छ भन्ने मान्यताकासाथ अघि बढेको बताए ।
माओवादी केन्द्र भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति, काभ्रे जिल्ला इन्चार्ज तेजबहादुर मिजार, जिल्ला सचिव दैवलाल घिसिङ लगायत विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका नेतृत्वहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाली काँग्रेस र एमाले त्याग गरी माओवादीमा प्रवेश गर्नेहरुलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, संघीय सांसदहरु सुर्यमान दोङ, मिना तामाङ, माओवादी नेतृ तारा रानाले स्वागत गरेका हुन् ।
सोही कार्यक्रममा प्रेस सेन्टर काभ्रेका नवनिर्वाचित पदाधिकारीहरु लगायत पार्टी निर्माणमा योगदान पुर्याउने हरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा कलाकार विश्व दोङको टोलीले गीत तथा नृत्य प्रस्तुत गरेको थिए ।
प्रतिक्रिया दिनुहोस