राजेश बञ्जारा
काभ्रेपलाञ्चोक जिल्लाको साविक भगवती गा.वि.स.(हाल पाँचखाल नगरपालिका वडा नं ९) अन्तर्गत साठी घर भन्ने ठाउमा पलाञ्चोक भगवतीको मन्दिर अवस्थित छ । यो मन्दिरको स्थापना वि.सं. ४२५ मा राजा मानदेवको पालामा भएको हो भन्ने त्यहाँ रहेको लिच्छविकालीन अभिलेखबाट ज्ञात हुन्छ मन्दिरमा अन्य अभिलेख, शिलालेख र ताम्रपत्रहरू पनि रहेका छन् । तीनतले नेपाली (प्यागोडा) शैलीमा बनेको यो मन्दिर पश्चिम फर्केर रहेको छ। मन्दिरका चारैतर्फजसो सत्तलहरू रहेका छन् । ईंटा, माटा गाएका र सुर्कीले निर्माण यस मन्दिरका दुवै छाना धातुका छन् । स्वर्णमण्डित तामाको गजुरले मन्दिरको शोभा बढाएका छ । मन्दिरवरिपरि बत्ती बाल्न काठको आडमा लहरै पाला (दियो) हरू राखिएका छन् । मन्दिरका काठका सबै टुडाल र झ्यालहरू राम्रा कलात्मक कालिगडीले कुँदिएका छन् ।
ढोका र चौकोसहरू धातुले मोडिएका छन् । धातुकै तोरणले मन्दिरको चारैतिर सजाइएको देखिन्छ । मित्र गर्भगृहमा पित्तलले मोडेको चौकोसे आसनमा अठार हात भएको विविध आयधले यक्त करिब साढे तीन फीट उचाइ भएको कालो ( शालग्रामी), शिलाको अति सुन्दर, कलात्मक एवं भव्य भगवती देवीको मूर्ति विराजमान छ । देवीको बायाँ खुट्टाले महिषासुरलाई कुल्चिएको र एक हातमा रहेको तीर (शूल) दैत्यमा रोपिएको देखिन्छ । दायाँ खुट्टाले टाउको छिनिएको राँगोको ढाडलाई कुल्चिएको र देवीका दुवै पाउ नजिकै शुम्भ, निशुम्भलाई भगवतीको आसनको प्रतिरूप उत्कीर्ण गरिएको प्रतीत हुन्छ ।
चाँदीका कलात्मक गरगहनाबाट देवीलाई सजाइएको देखिन्छ । मूर्तिको बायाँतर्फ सानो घण्ट र दायाँतर्फ एक फुट जतिको ढुङ्गामा कुदिएको सानो भगवतीको मूर्ति छ । प्रस्तुत भगवतीको मूर्तिलाई फलामको सटर लगाई सुरक्षित पारिएको छ । मन्दिरको ढोकाको दायां बायाँ धात्र प्रस्तरका सिंहहरू छन् । मन्दिरको पर्वतर्फको पेटीमा एउटा विशाल घण्ट छ । नजिकै ’ॐ अनन्त देवी’ लेखिएको लिच्छविकालीन मानिने भकुण्डो आकारको ढुङ्गो छ । उत्तरतर्फ गणेश र सरस्वतीका एक फुटजति उचाइका राम्रा शिलामूर्तिहरू छन् । संगै भैरव, महादेव र पार्वतीका शिलामूर्तिहरू पनि रहेका देखिन्छन् । ’अनन्त देवी’ उत्कीर्ण शिलाको उत्तरतर्फ रहेका सरस्वती र गणेशका आसनका ढुंगामा लिच्छविकालीन अभिलेखहरू उत्कीर्ण गरिएका छन् । दक्षिणतर्फका सत्तलमा रहेको मन्दिर प्रवेश गर्ने द्वारको भित्री दायाँ–वायाँ दुवै भागमा क्रमशः ने.सं. ८७७ र ८८८ का शिलालेखहरू पनि दृष्टिगोचर हुन्छन् । मन्दिरको पश्चिमतर्फ साढे सात फीट अग्लो शिला–स्तम्भमा वि.सं. १९७३ र वि.सं. १९८३ उल्लेख भएका ताम्रपत्रहरू जडान गरिएका देखिन्छन् ।
यहाँ वज्राचार्य जातिका गुभाजुहरू मन्दिरका पुजारी हुन्छन् । भाइ भाइहरूले आलो–पालो गरी भगवतीको नित्य पूजा गर्ने गर्छन् । राजा मानदेवकै पालादेखि नै यी गुभाजुहरू यहाँ पुजारी रहँदै आएका छन् भन्ने बुझिन्छ चण्डी पूर्णिमा र बडा दशैंमा भगवतीको विशेष पूजा हुन्छ, धार्मिक जात्रा लाग्ने गर्छ । भगवतीको पूजा र मन्दिर सञ्चालनका लागि गुठीको व्यवस्था रहेको छ । गुठीको जग्गा र खर्चको व्यवस्थापन हाल गुठी संस्थानबाटै हुने गरेको बुझिन्छ । गुठीको केही जग्गा कमाए वापत पहरी जातिका मानिसले नित्य पूजा र विशेष पूजाका लागि फूलपाती ल्याउने गर्छन्।
यथार्थमा पलाञ्चोक भगवतीको मन्दिर एक प्रख्यात ’शक्ति–पीठ’ हो । यहाँको भगवतीको प्रस्तर मूर्ति तत्कालीन कलाकृतिको अनुपम नमुना हो । काठमाडौं उपत्यका बाहिरको लिच्छविकालीन प्रस्तुत देवीको मूर्ति, उत्कृष्ट कलाकारिताको चिनारी एवं राष्ट्रकै महत्त्वपूर्ण सांस्कृतिक सम्पदाको रूपमा रहेको छ । पलाञ्चोक भगवतीको दर्शन गर्न टाढा–टाढाबाट असङ्ख्य नरनारी आउने गर्छन् । देवीको प्रत्यक्षतामा ठूलो जनविश्वास रहेको पाइन्छ ।अन्ततः मूर्तिको अद्भुत कलाकारिता देखेर मुग्ध नहुने व्यक्ति विरलै होलान् ।
यात्रामार्ग र वासस्थान आदि –
वागमती अञ्चल, काभ्रे जिल्लाको पलाञ्चोक डांडामा भगवतीको मन्दिर रहेको छ । काठमाडौंदेखि अरनिको राजमार्गबाट भक्तपुर, बनेपा, धुलिखेल हुँदै पाँचखाल पुगेपछि, त्यहाँबाट दाहिनेतर्फ एउटा सहायक पीच सडक गएको छ । मन्दिरको प्राङ्गणसम्म नै मोटरबाटो गएको हुनाले त्यहाँ जान सजिलो छ । भगवतीको पूजा–दर्शन गरी उसै दिन सजिलै काठमाडौंसम्म फिर्ता आउन सकिन्छ । त्यहाँ बस्न चाहेमा होटेल रेष्टुराँ र लजहरू छन् । भगवती मन्दिरको डाडाबाट पर्वतीय दृश्याबली हेर्न यो बडो रमणीय ठाउँ पनि हो ।(तीर्थपर्यटन पुस्तकबाट साभार)
प्रतिक्रिया दिनुहोस