शर्मिला श्रेष्ठका पन्ध्र अक्षरका प्रेमिल दश टुक्काहरु
हे दैव!अकस्मात आज आइदियो हुरी,
अत्यन्तै डरायो यो मन कता छौ निष्ठुरी।
तिम्रै अनुभूति भै दियो हावाले बेर्दानी,
सम्झन्छु तिमीलाई वर पिपलु हेर्दानी ।
भेटिन्छौ कि भनी सयौँबार धाएँ भौतारी,
भत्काइ दिउँ कि भयो नभेट्दा त्यो चौतारी ।
दिनभर् प्रतिक्षा गरेँ भेट्ने ठाउँ गएर,
यादमा बाँचिरैछु जिउँदो लास भएर ।
चटक्क लैजाऊ हावा फूल जस्तै चुडेर,
मिलन होस् हाम्रो अब बालुवा झैँ उडेर।
विश्वास् कसरी हावाको आफ्नै गतिमा हिन्छ,
खोज्दछु म न समाउँन न रोक्न सकिन्छ ।
जहिल्यै नि रैरहन्छ वरिपरी त्यो छायाँ,
मुटु चस्कन्छ हावा जस्तै नदेख्ने भो माया।
बुझ्नै गाह्रो गजब रित रैछ जगतको,
खोटो कर्म छुट्दो रैछ नाता नि रगतको।
जगलाई कसरी भनुँ माया रैछ धोका,
अविश्वासले गर्दा भैदियो पानीको फोका।
मन परेको माया कता गयो कता गयो,
ऊ बिना आफ्नै घर नि मसानघाट भयो।
शर्मिला श्रेष्ठ,ललितपुर
हाल अमेरिका
प्रतिक्रिया दिनुहोस