परदेशी छोराको भावनामा आधारित लोक छन्द असारे टुक्का
नरुनु आमा ढाडस दिन्छु रोपाईंको बेला,
छोरो छ टाढा बाउसे छैन नगर्नु झमेला ।
चाहेको कुरा पुग्दैन आमा अभागी छोरोको,
कसरी आउँ खल्तिमा छैन टिकट मोरोको ।
चिउरा दही मुछेर खानु सम्झना राखेर,
राखनु आमा एउटा भाग देवता भाकेर ।
कोरोना छ रे गाउँमा सबै बिरामी सुनिन्छ,
नजानु कतै एकापसमा सरेको बुझिन्छ ।
रोपौंला धान आउँने साल कोरोना नभए,
जेठकै मैना टिकट काट्ने गरेको छु तय ।
तिरौँला ऋण गर्दैछु दुःख यै परबासमा,
विश्वास गर मनग्य लिइ आउँछु खासमा ।
दिनेछु बरु नखाइकन हजार डलर,
ज्यानको आश खेतबारी त्यो हुन्देऊ बगर ।
हुदैन रुन एकलो हुँदा बुझाउँनु मन,
के गर्नु आमा दुनियाँ भरि ठुलो रैछ तन ।
✍️शर्मिला श्रेष्ठ,ललितपुर
हाल अमेरीका
प्रतिक्रिया दिनुहोस