प्रल्हाद शर्मा हुमागाई
सुन्दा पनि कटक्क मन कुँडिने वाक्य हाम्रा अगाडि प्रतिदर्शी बनेर उभिँदा कस्तो होला ? कल्पना गर्न सक्नुहुन्छ ? यो हप्ता यस्तै परिदृश्यको सिकार बन्न विवश बन्यो यो पंक्तिकार…
सुरुदेखि नै निजी विद्यालयका सञ्चालकहरुले यो या त्यो बहानामा लकडाउनको अवधिभरको रकम असुल्न विभिन्न किसिमका नौटंकी नरचेका होइनन् । त्यतिबेला कोरोनाको दबदबा, अर्काेतर्फ सरकारको सक्रियताले केही हच्किए पनि अहिले आएर खुलमखुल्ला रकम असुल्न गर्न निजी विद्यालयका सञ्चालकहरु सक्रिय भएका छन् । यो पंक्तिकारलाई एकजना अभिभावकले दाइ के छ ? विद्यालयले पैसा मागेर हैरान भईसकें । न छोराछोरी जाने वातावरण छ, न उनीहरुले भने जसरी भर्चुअल क्लासमा छोराछोरीले ध्यान दिएका छन् । रकमको हिसाब गर्ने हो भने निकै भइसक्यो, एकमुष्ट तिर्नसक्ने अवस्था नै छैन । के गर्ने होला ? भन्दै गुनासो पोख्दै थिए, अभिभावक कृष्णकाजी । पेशाले उनी नगरपालिकाका कर्मचारी हुन् ।
त्यस्तै बनेपामा ज्याला मजदुरी गरेर आफ्ना लालाबालालाई संस्थागत विद्यालयमा पढाउँदै आएकी सिर्जना पुलामी लकडाउनपश्चात् उनी गाउँ फर्किइन् । महाभारत गाउँपालिका वडा नं. १ निवासी पुलामीलाई विद्यालयले घर पुग्दा नपुग्दै ताकेता ग¥यो, विद्यालयमा आएर बच्चाको भर्ना गर्न र किताब लैजान भनेर । यतिसम्म कि बच्चाको पढाइ सुरु भइसक्यो, बच्चाको सिट सुरक्षित गर्नुपर्दैन भनेर हैरान पा¥यो तर उनी एक महिना, दुई महिना बिताउँदै तेस्रो महिनामा त लकडाउन पनि खुकुलो भयो । अनि त टिक्नै दिएनन् । अति भएर बनेपा त आइयो, अब न गाँसको ठेगान छ न बासको ठेगान छ ! घरबेटीले त बास दिए तर छिमेकीले अत्यन्तै सताएका छन् । रात कटाउन पनि त्राही त्राही भएको छ । नानीलाई काखमै राखेर बितेको छ मेरो दैनिकी भन्दै भावव्हिल हुन पुग्छिन् पुलामी । छिमेकीहरुले धेरै कचकच गरेका कारण घरबेटीले पनि अब त घर जाउ भन्न थालिसकेको छ । अब मेरो यात्रा कता ? स्कूलमा प्रत्यक्ष शिक्षकको निगरानीमा त राम्रो पढ्दैनन् बच्चा ! अब टिभी, रेडियो अनि फेसबुकबाट कसरी पढ्छन् होला ? अड्कल काट्नुस् त भन्नुहुन्छ पुलामी । स्कूलमा जाँदा पूरै शुल्क लाग्छ भन्छन् । अहिले जति ल्याएको छ, त्यति दिएर जानुस्, रसिद माग्दा पछि लिनुहोला भन्दै फर्काइदिएको पुलामीको गुनासो छ । (सुरक्षाको कारणले अभिभावकको अनुरोधमा सिर्जना पुलामी काल्पनिक नाम भएको व्यहोरा अनुरोध गर्दछु ।)
संस्थागत विद्यालयहरुको छाता संगठनका नेतृत्वहरुले खुलेरै भर्ना गर्न आउन पत्राचार गरेको अभिव्यक्ति टेलिभिजन तथा रेडियोमार्फत् ओकालत गरेका छन् । किन यो बेला यस्तो क्रियाकलाप देखाउनुभएको भनी सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा हाम्रो ऋण सरकारले तिरिदिन्छ ? भन्ने आशयको अभिव्यक्ति छरप्रष्टै सुन्न पाइन्छ । यसबाट के पुष्टि हुन्छ भने शैक्षिक माफियाहरुले नाफामुखी व्यवसायलाई अगाडि बढाउन बालबालिकाहरुको नाममा अभिभावकलाई दबाब दिइरहेको प्रष्ट देखिन्छ । भर्चुअल क्लासका नाममा अभिभावकमाथि चरम दबाब सिर्जना गर्दै रकम असुल गर्न केही संस्थागत विद्यालयका सञ्चालकहरु लागिपरेको यस किसिमका गतिविधिले पुष्टि गर्दछ ।
प्रस्तुत भएका गतिविधि त एउटा प्रतिनिधिमुलक पात्र मात्रै हो, दैनिक ज्याला, मजदुरी गरेर जिविकोपार्जन गर्ने कमजोर आर्थिक अवस्था भएका अभिभावकहरुमाथिको दादागिरीले नै उनीहरुको चरित्र उदाङ्गो पारेको पाइन्छ । आफ्नोभन्दा अर्काे विद्यालय नै छैन भने जसरी निमुखा अभिभावकमाथि खनिनु कतिको न्याय होला ? यो प्रवृत्तिले संस्थागत विद्यालयको यथार्थ चित्रण भएको यससँग सरोकार राख्ने सरोकारवालाहरुको टिप्पणी छ । स्मरणयोग्य कुरा त अहिलेको अवस्थामा सामुदायिक विद्यालयहरुलाई सरकारले क्वारेन्टाइनको रुपमा विस्तार गरेको छ भने संस्थागत विद्यालय कमाउनधन्दामा तल्लीन भएको उनीहरुको व्यवहारले देखाएको छ । यस किसिमको गतिविधिलाई नजिकबाट नियाल्ने जो कोहि पनि स्वीकार्ने पक्षमा देखिँदैन । समग्र नेपालीहरुको पहुँचभन्दा बाहिरको वस्तुस्थितिलाई लाद्नु कतिको न्यायसंगत होला ? अनलाइन शिक्षा नेपालीहरुको पहुँचभन्दा बाहिरको विषय हो । नेपालीहरुको हैसियत शहरमा रहेका दुई चार जना घरानियाँहरुलाई हेरेर तुलना गर्नु व्यवहारिक नभएको शैक्षिक धरोहरहरुको टिप्पणी छ । शैक्षिक माफियाको गोटी बनेर सरकारले जुन नीति अख्तियार गर्दै छ त्यसको कटुआलोचना गर्न पुग्छन् वरिष्ठ साहित्यकार एवं शिक्षाविद् मोहन दुवाल ।
शिक्षामा व्यापार भन्ने हुन्न, यो त सामाजिक उत्तरदायित्व हो- वैद्य
यता ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका डाइरेक्टर प्रताप वैद्यको तर्क छ– लकडाउनको अवस्थामा सबैभन्दा बढी संवेदनशील संस्था भनेकै शैक्षिक संस्था हुन् । यी संस्थाहरु सञ्चालकहरुले सानोभन्दा सानो भुल ग¥यो भने सिंगो बस्ती भयावह हुनपुग्छ । अर्थात् त्यो क्षेत्रमा महामारी फैलिन्छ । यो अवस्थामा तपाईं हाम्रो अवस्था के होला ? त्यसैले सबै समस्याहरु समाधान भएपछि मात्रै शैक्षिक संस्थातर्फ ध्यान केन्द्रित गर्नुपर्छ । जहाँसम्म बजारिया हल्लाका बारेमा तपाईंले प्रश्न गर्नुभएको छ, ति हल्लाहरु अत्यन्तै अशोभनिय छन् । यदाकदा केही बाहेक अरु शैक्षिक संस्थाहरुले कल्पना पनि गरेका छैनन् होला । प्रतिष्ठित शैक्षिक संस्थाहरुले यस्तो घृणित कार्य गर्नै सक्दैनन् भन्नुहुन्छ डाइरेक्टर वैद्य । उहाँ थप्नुहुन्छ– सबै नेपालीहरु अहिले बजारमा आएका हल्लाका पछाडि दौडिनसक्ने अवस्थामा छैन । भन्न खोजिएको इन्टरनेटको पहुँचमा छैनन् भनेको हो । इलेक्ट्रोनिक मिडियाको पहुँचभन्दा बाहिर छन् । त्यसैले केही स्वार्थी संस्थाहरुले जबरजस्त लाद्न खोज्नु न्यायसंगत हुँदैन र ठिक पनि होइन । नेपालमा अनलाइन शिक्षाको धारणा सुरु भएको छ । यसको पूर्णता प्राप्तिका लागि धेरै संघर्ष गर्नुपर्छ । त्यसैले उदाउने बितिकै विस्तृत रुप दिन खोज्नु साँघुरो सोचाइ मात्र हुनसक्छ । त्यसैले त्यो हैसियत प्राप्तिका लागि सबै अभिभावकहरु सम्वृद्ध हुन आवश्यक छ । तबमात्र उहाँहरुले त्यो हैसियत कायम गर्न सक्नुहुन्छ ।
अहिले लकडाउनको कारण कति अभिभावकहरु छाक टार्न धौ–धौ अवस्थामा हुनुहुन्छ । यो अवस्थामा जुन भारी बोकाउने हर्कत हुन गएको छ, त्यो न्यायसंगत छैन । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान यस किसिमका आलोचनात्मक क्रियाकलापको भागीदारी हुनेछैन । जहाँसम्म सबै अभिभावकको पहुँच पुग्छ र अनुकुलताअनुसार आफ्नो बालबालिकालाई सुविधा दिनसक्नु हुनेछ, त्यतिबेला हाम्रो कुनै गुनासो रहने छैन । अरुको बारेमा हाम्रो भन्नु केही छैन, हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत सेवाका लागि ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान खोलेका हौं । हाम्रो संस्था नाफारहित संस्थाको रुपमा अगाडि बढेको छ । नाफाका लागि त आ–आफ्नो व्यवसाय छँदैछ नि । यहाँ त विद्यार्थी, अभिभावकको चाहनाअनुसारको गुणस्तरीय शिक्षा दिने पवित्र संस्थाको रुपमा अगाडि बढाएका छौं । हामीलाई शिक्षामा व्यापार गर्नु छैन । हाम्रो संस्थामा नर्सरीदेखि मास्टर डिग्रीसम्मको शैक्षिक अध्यापनको सुविधा छ । त्यसैले पनि हामी अरुले के गरे त्यसमा कुनै सम्बन्ध राख्दैनौं । हुन त तपाईंले भन्नुभएको र टेलिभिजनहरुमा शैक्षिक संस्थाका अभियान्ताहरुले बोलेका कुराहरु सुन्दा उदेक लागेर आउँछ । के व्यवसाय अरुले धानीदिनुपर्ने हो ? बैंकको ऋण तिर्ने ठेक्का अभिभावकले लिनुपर्ने हो ? कस्तो खालको लाचारी वाक्य सुन्नुपर्छ । व्यवसाय नै भएता पनि त्यस किसिमका वाक्यहरु नओकलिदिएको भए हामीजस्ता विवादरहित सेवामा समर्पित संस्थाहरुको आस्थामा चोट पुग्ने थिएन । उहाँहरुबाट सार्वजनिक मिडियामार्फत् जुन अभिव्यक्ति आयो, त्यसले यस क्षेत्रमा समर्पित संघसंस्था र व्यक्तित्वहरुलाई आँच पु¥याएको छ भन्ने निष्कर्ष मेरो छ भन्नुहुन्छ डाइरेक्टर वैद्य ।
राष्ट्र राष्ट्रियता र सार्वभौमत्ता कतिको बफादार जनशक्ति उत्पादन गरिरहेको छ ? संस्थागत शैक्षिक संस्थाले भन्ने कुराको उदाहरण उहाँहरुका क्रियाकलापले पुष्टि गरेको छ । जब जब राष्ट्र संकटमा पर्छ, तब उहाँहरुको उत्पादनले स्वार्थमुखी भूमिका खेलेको पाइन्छ । पछिल्लो समय विश्वलाई नै कोभिड–१९ ले आक्रान्त पारिरहेको अवस्थमा नेपालमा निजीस्तरबाट सञ्चालित शैक्षिक संस्थाका केही मालिकहरुको हर्कत देख्दा कठै ! भन्न मन लाग्छ । उनीहरुले पैसाको नाममा ज्ञान र सीपलाई तुलना गर्ने तराजु तयार गरेको पुष्टि हुन्छ । यसतर्फ सम्बन्धित सरोकारवाला निकायले गम्भीर कदम नचाल्ने हो भने नेपालका निजी शैक्षिक संस्था कोरोना भाइरस उत्पादन गर्ने कारखानका रुपमा परिचित हुनेछन् भन्ने सन्देश उहाँहरुका क्रियाकलापले पुष्टि गरेको छ ।
प्रतिक्रिया दिनुहोस