२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

फोहोरी खेलको नजरअन्दाज लगाउन सकिएन भने रक्तपातको विकल्प छैन


६४९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • प्रल्हाद शर्मा हुमागाई


    वर्तमानमा गरिएको एउटा सानो भुलले कालान्तरमा ठूलो प्रभाव पार्छ । निहत्या दधिरामको हत्या गरेर रातारात चर्चाको शिखरमा पुगेका कार्यकारिणीहरुले नियम नतोडेको भए आज यो मुलुकले यो दुर्दशा झेल्नुपर्ने थिएन । धार्मिक शास्त्रमा उल्लेख गरेका वाक्यहरुलाई सापट लिने हो भने पनि त्यतिबेला निहत्या अर्जुनपुत्र अभिमन्युको हत्यामा कौरव महारथीले युद्धको नियम तोडेको भए पूर्वीय दर्शन फरक कित्ताबाट लेखिएको हुनेथियो ।

    शान्तनुको सत्यवती मोहलाई साकार रुप दिन पिता मोहमा बाँधिएका देव व्रतको प्रतिज्ञाका कारण धृत राष्ट्र हस्तिनापुरका राजा हुन पुगे । उनको पुत्र मोहले गर्दा महाभारतको युद्ध भयो । जुन छोटो समयमा भएको महाविनाश थियो । जसका कारण भीष्मले आफ्नो इच्छा मृत्युमा विलय हुन हस्तिनापुरको चार हात जमिन पाएनन् ।

    हो, त्यही इतिहासको पानाबाट वर्तमानमा केही त सिक्न जरुरी छ । हामीले इतिहासबाट धेरै सिक्न सक्छौं । त्यो मध्ये मुलुक भनेकै जननी माता हुन् । उनीभन्दा ठूलो कोही हुन सक्दैन । हो, यही मुलुकको नागरिक हुँ म । ठूलो पदमा पुग्ने, आफ्नो पहिचान बनाउने तर त्यही मुलुकमाथि छिमेकीले धावा बोलिरहँदा चु सम्म बोल्न नसक्ने म । कुर्सीको मोहमा लागि देशलाई कमजोर बनाउने सौदाबाजी गर्ने कार्यकारिणी पदमा राज गर्छु म । वास्तविकता नेपाली जनतालाई बुझ्नै नदिई मृत्युको मुखमा धकेल्नु मेरो धर्म हो, थियो । जुन चाहनालाई कोभिड–१९ र प्राकृतिक विपत्तिले पूरा गरिदिएको छ । दुःखका साथ भन्नुपर्छ, नयाँ पिढीले अब इतिहास कुन चराको नाम हो सुन्न समेत पाउने छैन, पढ्नको त कुरै छोडौं ।

    वर्तमान विश्वले के देखाउँछ भने जुनसुकै युग वा कालखण्डमा होस् विकासका लागि धेरै त्याग भएको इतिहास पूर्वीय दर्शनमा पढ्न पाइन्छ । विकासको जननी पूर्वीय दर्शन नै हो भन्ने वैज्ञानिकहरुले पुष्टि गर्दै आइरहेका छन् । पूर्वीय दर्शन र ज्ञान जसका आधारमा विकास भएका कला, संस्कृति, संस्कार र सभ्यता कुनै पुस्तकालयमा बसेर कसैको पुस्तकको साभार गरेर या अनुसन्धान गरेर आएको होइन, ति ज्ञान र दर्शन त परिवार र समाज त्यागेर वर्षाैं जंगलमा प्रकृतिको साथमा विलय भएर निकालिएको एउटा दस्तावेज थियो ।

    बिडम्बना ! यस्तो भूमिमा जन्मिएका हाम्रा नेतागणहरुमा नैतिकता, जवाफदेहिता र इमानदारिताको जगमा अगाडि बढ्नसक्ने हैसियत भएको पाउन विरलै भन्नुपर्छ । प्रत्येक नेतृत्वमा हुनुपर्ने पूँजी भनेको पूर्वीय दर्शन र ज्ञान हो तर ठिक उल्टो हुँदै गएको छ नेपाली राजनीति । जसले सिकार बनेका छन्, नेपाली जनता । नचाहँदा नचाहँदै पश्चिमा संस्कृतिको अनुशरण गर्न बाध्य भएका छौं हामी । हामीले हाम्रो संस्कृति, संस्कार, परम्परा सबै तिलाञ्जली दिँदै गएका छौं । यसो हुँदै जानु भनेको आफूले आफ्नो अपनत्व गुमाउँदै जानु हो । यो सबै विचलित राजनीतिको उपज भन्दा फरक पर्दैन ।

    पाठकलाई अनौठो लाग्न सक्छ, के लेखेको होला भनेर । यहाँ पूर्वीय दर्शन र पश्चिमा संस्कृतिका बारेमा अध्ययन गरेर केही कुराहरु खोज्नु आजको आवश्यकता भइसकेको यथार्थता पोख्न खोजिएको हो । आजको सत्य र यथार्थ पनि यही हो । नेपालको राजनीतिमा नैतिकताको खडेरी परेको आज मात्र होइन, झण्डै तीसौं वर्ष अगाडि बहुमतको सरकारलाई बर्खास्त गरेर गिरिजाप्रसाद कोइरालाले अल्पमतको सरकार मनमोहन अधिकारी लाई बनाउन अवसर दिनुभयो । नेपालको इतिहासमा कम्युनिष्ट पार्टीका नेताको नेतृत्वमा बनेको पहिलो सरकार त्यही थियो । आफ्नै सरकार ढाल्न ३६ से र ७४ उपमा खडा गर्ने गिरिजाप्रसाद कोइरालादेखि खड्गप्रसाद ओलिसम्म आउँदा कुनै पनि राजनेताले मुलुक र नेपाली नागरिकको अपेक्षा सदाको लागि अधुरै पारेको घटनाक्रमले देखाएको छ । आज जुन स्थानमा ल्याएको छ, त्यसका बारेमा सकारात्मक चर्चा गर्ने शब्द नै छैन । भन्नैपर्दा, भेट्नै मुश्किल पर्छ । यसो भनिरहँदा कति झोलेहरुलाई रिस पनि उठ्दो होला । कित्ताकाट र गुटबन्दीले निषेधको राजनीति अहिले जर्जर अवस्थामा उत्कर्षतर्फ अगाडि बढेको छर्लङ्ग जो कोहिले पनि देख्न सक्छन् । चाहे स्थानीय तहका सरकार, गैर सरकारी संघसंस्था वा मानवीय सेवामा समर्पित हुन्छु भनेर प्रतिज्ञा गरेर रेडक्रसमा सेवा पु¥याउन प्रवेश गरेका भन्नेहरुले गरेको गुटगत खेती देख्दा जो कोहिलाई पनि एकपटक तड्पिन बाध्य हुन्छ । जुन अवस्थामा चुर्लुम्म डुबेको देख्दा धिक्कार्नु बाहेक अरु केही शब्दहरु निस्किँदैनन् । त्यस्ता नेतृत्व जन्म दिने आमाको कोख बरु बाँझै भएको भए आज सायद नेपाली आमाका सपूतहरुले यि दिन देख्न पर्ने थिएन । जसले सीमित स्वार्थ पूर्तिका लागि लाखौं जनहरुको आस्थामा चोट पु¥याएका छन् । तरबारका विरुद्ध जेत्दा छेड्ने कलमका निपहरु भाँच्न सफल भएका छन् । धन्य छ, त्यो नेतृत्वप्रति जसले निषेधको खेती मौलाउन राम्रै मलजल पु¥याएका छन् ।

    त्यसैले माथि उल्लेख गरेका हरफहरुले पक्कै पनि एकपटक सोच्न बाध्य पार्नेछ । मौलाउँदै गएको निषेधको राजनीतिभित्र रमाउन खोज्ने सञ्चारकर्मीदेखि मानव अधिकारकर्मीसम्मले राजनीतिभित्रको फोहोरी खेलको नजरअन्दाज लगाउन सकिएन भने फेरि एकपटक यो मुलुकले रक्तपातको सामना गर्न बाध्य नहोला भन्न सकिन्न । बारम्बारको परीक्षामा असफल भइसकेका असत्यको वकालत गरेर इतिहासको किताब बन्न सकिन्न । अब नयाँ पिढीले निर्णय गर्नेछन् । इतिहासको किताब बन्ने कि फुटनोट ? चेतना भया कार्यकारीज्यू !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार