प्रल्हाद शर्मा हुमागाई
कोरोना भाइरसका कारण विश्वमा आजसम्म लाखौंले ज्यान गुमाइसकेको विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरिरहेको छ । नेपालमा पनि दिनप्रतिदिन यो भाइरसका कारण मर्नेहरुको संख्या र संक्रमित हुनेहरुको संख्या थपिँदै छ भने प्रभावितको संख्याले पनि पारो तात्दै छ । यसरी नै निरन्तर रुपमा बढ्दै जाने हो भने त्यो पारो मिटर पड्कने अवस्थामा पुग्न बेर लाग्दैन । यो संगीन अवस्थालाई कमाउ भाँडोको रुपमा व्यापारीहरुले लिएका छन् । स्वयं व्यापारीहरु नै यो तर्क स्वीकार्छन् । “उनीहरुलाई कोरोना भाइरसको डर छैन, डर छ त प्रहरीको साइरनको छ ।” प्रहरीको साइरन नबज्ने हो भने २४सै घण्टा खुल्ला व्यवसाय गर्न व्यापारीहरु तयार भएको स्वयं खुलासा भएको गर्दछन् । अहिले त हाम्रा लागि दशैं पल्टिएको छ, दशैंमा त उधारो दिनुपथ्र्याे अझ । आज नगदमा भ्याइ नभ्याई भएको छ । प्रत्येक टिपमा भारी अन्तरको मूल्य वृद्धि गरेर बिक्रि वितरण गरिरहेका छौं तर पनि उपभोक्ताहरुलाई सामान भए पुग्छ । किन भाउ बढेको छ चासो छैन । बाह्र सयको चामल १६ सयमा बिक्रि वितरण हुँदा पनि बिक्रेताले सामान दिनुस् न मूल्यको कुरा नगर्नुस् भन्छन् । अब तपाईं नै भन्नुस्, उपभोक्तासम्म पुग्दा यसको मूल्य कति पुग्छ होला ! भन्छन् खाद्यान्न व्यापारी । व्यापारीहरुकै वाक्यलाई सापटी लिने हो भने बजारमा चरम रुपमा कालो बजारिया मौलाएको तथ्य पुष्टि हुन्छ । यदि कोरोना प्रभावित हुन्छ भने हामी व्यापारीकै कारणबाट भयावह हुनेछ । यो जटिलता थाहा हुँदाहुँदै पनि पैसाका अगाडि हामीले केही देखेका छैनौं भन्छन् व्यवसायी । व्यवसायीकै तर्कलाई निरन्तरता दिने हो भने पनि नेपाली आकाशमा अहिले कोरोना भाइरसको कालो बादल मडारिँदै छ ।
यस्तो जटिल अवस्थातर्फ मुलुक गइरहँदा सेवाका नाममा नीजि विद्यालय सञ्चालकहरुको संस्था प्याब्सन नेपालले आफ्नो स्वार्थका लागि लाखौं लाख विद्यार्थीहरुको जीवनमाथि खेलवाड गर्ने निर्णय गरेको छ । प्याब्सनले सार्वजनिक रुपमै घोषणा गरिसक्यो, विद्यार्थी भर्ना गर्न । भित्रभित्र यसअघि नै अभिभावकहरुलाई पाठ्यपुस्तक र स्टेशनरीहरुको बहाना लगाएर तनाव दिँदै आएको अभिभावकहरु नै सार्वजनिक रुपमा स्वीकार्छन् । तर राज्यलाई नै चुनौती दिँदै विद्यार्थी भर्ना गर्न अभिभावकहरुलाई सार्वजनिक रुपमा आव्हान गरेपछि अभिभावकहरु बच्चाहरुलाई भर्ना गर्ने नगर्ने दोसाँधमा परेका छन् । प्याब्सनको यो निर्णयले अभिभावकहरुलाई जीवन मरणको दोसाँधमा पु¥याएको छ । बच्चाहरुलाई अल्मल्याउने निहुँमा अनलाइन शिक्षाको नाममा प्रतादित अभिभावकलाई फेरि आलो घाउमा नुनचुक थप्ने काम प्याब्सनले गरेको अभिभावकको तर्क छ । कुनै विद्यालयहरु क्वारेन्टाइनका रुपमा प्रयोग भइरहेका छन् भने कुनैमा भने विद्यार्थी पठनपाठन हुनुले प्याब्सनको यथार्थता जनताका सामु छर्लङ्ग भएको छ । प्याब्सनको यो रबैयाले स्वयं निजी विद्यालयमा अध्यापन गराउने शिक्षक, कर्मचारी नै असन्तुष्ट जाहेर गर्छन् । काम लगाएर त उचित श्रम नदिने निजी विद्यालयका सञ्चालकहरुले काम रोकिएको समयको श्रम दिन्छन् भन्ने आशा गर्नु मूर्खता नै हो । प्याब्सनको अहिले जुन निर्णय आएको छ, त्योबाट के पुष्टि हुन्छ भने निजी विद्यालयका सञ्चालकहरुले कुन उद्देश्यका लागि विद्यालय खोलेका रहेछन् भन्ने बारेमा बोलिराख्नु नपर्ला भन्छन् अभिभावक । उनीहरुको सेवा त अहिले हात्तीको देखाउने दाँत भएको छ । एकातिर श्रमिकको श्रमको उचित मूल्य नदिएर शोषण गरेर नपुगेर अब बाल मस्तिष्कलाई अचानो बनाउँदै छन् निजी विद्यालयका सञ्चालकहरु । जसले यो संकटकालिन अवस्थामा जबरजस्त ढंगबाट विद्यालय सञ्चालन गर्न खोज्नुले पनि उनीहरुको नियत प्रष्ट हुन्छ । अहिले जुन भ्रमको खेती अनलाइन शिक्षाका नाममा खोलिएको छ, त्यसको पहुँच कहाँसम्म छ ? कल्पना गरौं ! त्यहि आडम्बरकै कारण घर पुगेका अभिभावकको पुनः शहर फर्कन बाध्य भएका छन् । यसका बारेमा बुझिदिने को ? अभिभावकलाई यता नि अचानो उता नि अचानो बनाएर लुटिरहेका छन् । दुई तिहाइको दुहाई दिने सरकार प्याब्सनको कमिशनको खेलमा अन्धो बन्दैछ भन्छन् अभिभावक । यो संगीन मोडमा फेरि शहर नफर्किएर के गर्नु ? सबै कमाइ यिनीहरुकै लागि हो भन्दै अगाडि रहेका लालाबालालाई सुम्सुम्याउने पुग्छन् घर्तीछाप धाप निवासी अभिभावक धनराज गुरुङ ।
यो संगीन अवस्थालाई कमाइ खाने साधन बनाएका व्यवसाय र उच्च ओहोदामा रहेका कर्मचारीहरुसँग नागरिक गुनासो छ– लकडाउनका नाममा जुन किसिमका विकृतिहरु मौलाएका छन्, त्यसका बारेमा गम्भीर ध्यानाकर्षण गराउँदै सबै हुनेखानेहरुका आवश्यकताहरु पूरा हुने ! किन हुँदाखानेहरुको लागि सेवा पु¥याउने सार्वजनिक यातायात माथि सौतेनी व्यवहार गर्ने ? अब त्यसलाई पनि निर्वाद रुपमा गुड्न दिनुपर्छ भन्ने आवाजहरु बाक्लिँदै आएका छन् । यसैबीच सरकारले जारी गरेको लकडाउन नामधारी भइरहँदा चौतर्फी विरोधका स्वरहरु उर्लिएपश्चात प्रशासनले केही कडाइ गरेको महसुस भएतापनि सोचेजस्तो रुपमा प्रस्तुत हुन नसकेको बौद्धिक वर्गको गुनासो रहेको छ । बौद्धिक वर्गको चाहना अनुसार लकडाउनको मर्म बमोजिम नीति कार्यान्वयन हुन आवश्यक छ । पछिल्लो हप्ता बजारमा निकै बाक्लो चहलपहल देखिएको छ । जसका कारण विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा नेपालको मानवीयताको संवेदनशीलतालाई गम्भीर रुपमा ठम्याएको छ । यसले के पुष्टि हुन्छ भने, नेपालमा कोरोनाले भयावह अवस्था सिर्जना गर्दैछ भन्ने देखाउँछ । जसबाट मानवीय क्षतिको आँकलन समेत गर्न नसकिने खुलासा गरेको छ ।
लकडाउन रे ! साँझदेखि बिहानसम्म खुल्ने अवैध कारोबार अहिले चौबिसै घण्टा खुलेका छन् । बाहिर लकडाउन, भित्र दैनिक करोडौंको कारोबार हुने गरेको तथ्य स्वयं अवैध धन्दामा संलग्नहरु ओकल्न तयार छन् । नागरिकले कुनै पनि पसलमा कुनै पनि सामानको मूल्यमा एकरुपता पाएका छैनन् । पसलैपिच्छे फरक फरक मूल्य छ । सरकारले अति आवश्यक सामानमा कुनै पावन्दी लगाएको छैन भन्छ तर व्यापारीहरुले लकडाउन हुनुभन्दा अगाडिको मूल्यमा एक सय प्रतिशतसम्म थप मूल्य लिएर सामान बेचिरहेको उपभोक्ताहरुको गुनासो छ । सचेत नागरिकले यस किसिमका गलत क्रियाकलापका बारेमा खबरदारी ग¥यो भने तँलाई सामान छैन भन्ने रुखो जवाफ खानुपर्छ । यो विभेदपूर्ण अवस्थाको अन्त कहिले ? हामीले जस्तो आयो, त्यस्तै बेचेका छौं भन्न पछि पर्दैनन् व्यापारी । तर सँगैको पसलको मूल्यमा अन्तर भएको बताइरहँदा सरोकार राख्न चाहँदैनन् । प्रतिवाद गर्नु नै जीवनभरको इगो मोल्नु हो । लाने भए लैजा नभए जा यस किसिमको व्यवहारको सिकार हुन बाध्य छन् उपभोक्ता । यहाँ अवरोध नगर, अहिले प्रहरी आउँछ व्यापारीहरुको जवाफ । यस्तो अवस्थामा सुशासनको कुरा कुन मुखले खोक्छ सरकार ? पिडित नागरिकहरुको प्रश्न छ ।
प्रतिक्रिया दिनुहोस