–सिताराम शिपखान
संसारमा भुगोल र जनसंख्या जोड्ने पुरानो, सहज र व्यापक प्रचलित पुल सडक मार्ग हो।नेपालको सन्दर्भमा पनि सडक संजालको निर्माण गति तिव्रतर रहेको छ। पुर्व–पश्चिम मेची–महाकाली जोड्ने चारवटा लोकमार्गहरु मध्ये कुनै निर्माण सम्पन्न भै चालू अवस्थामा छन् भने कुनै–कुनै निर्माणाधिन अवस्थामा छन्। तराईको दक्षिणी भेग समेट्दै पुर्व–पश्चिम लम्बिएको हुलाकी लोकमार्ग कुनै खण्ड चालू र कुनै खण्ड निर्माणाधीन अवस्थामा रहेको छ। तराइको मध्ये भेग समेट्दै पुर्व–पश्चिम लम्बिएको महेन्द्र लोकमार्ग चालुस्थितिमा रहेको छ। तराइको उत्तरी भेग, भित्री मधेस र चुरे पहाडका बस्तिहरु समेट्दै पुर्व–पश्चिम लम्बिएको मदन भण्डारी लोकमार्ग निर्माणाधीन अवस्थामा रहेको छ। त्यस्तै पहाडका विभिन्न जिल्लाहरु समेट्दै पुर्व–पश्चिम लम्बिएको मध्यपहाडी लोकमार्ग पनि निर्माणाधीन अवस्थामै रहेको छ।यो आलेखमा भने नेपालका हिमाली भेगका १८ जिल्लाहरु जोड्ने गरि पुर्व–पश्चिम लोकमार्गको पाँचौ शृङ्खलाका रुपमा ’ ताप्लेजुङ–दार्चुला हिमाली लोकमार्ग’ परिकल्पना गरिएको छ।
नेपालका १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम गरि ५ प्रदेशका हिमाली भेगका १८ जिल्लाहरु जोडिने गरि परिकल्पना गरिएको यो लोकमार्गको प्रदेश नं. १ को ताप्लेजुङ जिल्लाको श्रीजंगा स्थानिय तह सुरु बिन्दु हुनेछ भने सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लाको महाकाली स्थानिय तह अन्तिम बिन्दु हुनेछ। श्रीजंगाबाट पश्चिम लागेको यो लोकमार्गले ताप्लेजुङकै फुङ्लिङ, मेरिङदेन, मैवाखोला जस्ता चार स्थानिय तह पार गर्नेछ। त्यसपछी संखुवासभाको सभापोखरी, खाँदबारी, सिलिचोङ हुँदै यो लोकमार्ग सोलुखुम्बु टेक्नेछ। सोलुखुम्बुका महाकुलुङ, सोताङ, दुधकोशी, सोलुदुधकुण्ड, लिखुपिके हुँदै रामेछाप जिल्ला तर्फ यो मार्ग लाग्नेछ। रामेछापका उमाकुण्ड, गोकुलगंगा पार गरि यो लोक मार्गले दोलखाका जिरी, गौरिशंकर, कालिन्चोक, भिमेश्वर हुँदै सिन्धुपाल्चोकको त्रीपुरासुन्दरी टेक्नेछ। त्यसपछी बाह्रबिसे, जुगल, पाँचपोखरी थानपाल, हेलम्बु पार गरि रसुवा जिल्ला भेट्नेछ। रसुवा जिल्लाका गोसाइँकुण्ड, पार्वतिकुण्ड हुँदै धादिङको रुविभ्याली पार गरेर यो लोकमार्गले गोरखाको चुमनुव्री हुँदै मनाङका नासोङ,चामे, नेस्याङ पार गर्नेछ। त्यसपछी मुस्ताङका घरपजोङ, बारगाउँमुक्तिक्षेत्र पार गरि पश्चिम लम्किएको यो मार्गले डोल्पाका छर्काताङसोङ, काइके, ठुलिभेरी, त्रीपुरासुन्दरी, मुड्केचुला पार गरि जुम्ला जिल्ला टेक्नेछ। जुम्लाका गुठिचौर, चन्दननाथ,कनकासुन्दरी हुँदै अगाडि बढेको लोकमार्गले मुगुका छाँयानाथ–रारा, सोरु र हुम्लाका सार्केगाड, खार्पुनाथ, सिमकोट पार गर्नेछ। त्यसपछी दक्षिणपश्चिम ढल्किँदै बाजुराका हिमाली, बुढिनन्द, गौमुल पार गरेपछी यो लोकमार्गले बझाङका मष्ट, जयपृथ्वी, सुरमा, बुनगाल, पार गर्नेछ। अन्तिममा दार्चुलाका मर्मा,नौगढ, हुँदै महाकाली स्थानिय तहमा पुगेर यश हिमाली लोकमार्गले विश्राम लिनेछ। यसरी यश लोकमार्गले ५ प्रदेशका १८ जिल्लाका हिमाली बस्तिहरु समेट्दै विकासको गति तिव्र बनाउन योगदान दिनेछ।
हिमाली भेग सडक निर्माणका लागि तराई र पहाड भन्दा अप्ठ्यारो भुगोल हो। यहि अवस्थालाई मध्य नजर गर्दै अप्ठ्यारो भुगोलमा दुईलेन र केही सजिलो भुभागमा तीन लेनको कालो पत्रे सडक बनाइनेछ। यो लोकमार्गले कोशी,गण्डकी,कर्णाली जलाधार क्षेत्र पार गरि मेची–महाकाली भेट्नु पर्ने भएकाले धेरै नदि, खोला,खोल्सामा पुलहरुको आवश्यकता पर्नेछ। यो लोकमार्ग करिब २००० कि.मि देखि २५०० कि.मि सम्म लामो हुन सक्नेछ। यो लोकमार्ग बन्ने स्थानिय तहमा रहेका पुराना जिल्ला, क्षेत्रीय, स्थानिय, कृषि सडकहरुलाई नै स्तरवृद्वि गरि लोकमार्गमा परिणत गर्न पनि सकिने छ। यो लोकमार्गले कतिपय हिमाली जिल्लाका सदरमुकामका साथै महत्त्वपूर्ण ठुला बस्तिहरु समेट्ने छ। यस लोकमार्गसँग ठाउँ–ठाउँमा उत्तर–दक्षिण लोकमार्गहरुको जम्काभेट हुनेछ। हिमाली भेगमा स्याउका बगैचा वृद्धि हुनेछन्। जडिबुटी खेती तर्फ आकर्षक बढ्नेछ। हिमाली फलफुल, जडिबुटी र ऊनका घरेलु उद्योग खुल्नेछन्। सो भेगमा चौँरी, भेडा, च्याङ्ग्रा पालनका फर्महरु खुल्नेछन्। हिमाली फलफुल, अन्न, सिमि, जडिबुटी, मासु, ऊन, चिज, दूध आदि जस्ता उत्पादनहरुले बजार भेट्टाउने छन्। यो लोकमार्ग निर्माणले थप्ने सेवा सुविधाको वृद्वी सँगै हिमाली भेगमा पर्यटनको सागर उर्लने छ। यसरी अप्ठ्यारो भुगोलका कारण पछाडी परेको भेग पनि लोकमार्ग निर्माण सँगै विकसित बन्न सक्नेछ।
प्रतिक्रिया दिनुहोस