सिताराम शिपखान
पाँचखाल, काभ्रे
प्राणी जगतमा मानिस सबभन्दा सचेत प्राणी हो। आवश्यकता महसुस हुँदै गर्दा उसले आविष्कार गर्दै जान्छ। कल्पना र प्रयोग उसका दुई ज्यावल हुन्। कल्पनाको सहाराले नयाँ रुपको बस्तु बनाएर छोड्छ। कल्पना जमिन हो भने, प्रयोग त्यसमाथी पाकेको बाली। मान्छेले विकास चाहने हो भने उसले कल्पना गर्न छोड्नु हुँदैन। उसले गरेका कल्पनाहरु उसैको जिवनमा साकार हुन् व नहुन्। ती कल्पनाहरुले भविष्य र भावी पुस्ताका लागि सहज र सुन्दर बाटो देखाइरहेका हुन्छन्।
अक्स्फोर्ड डिक्सनेरीमा केवलकारको परिभाषा यसरी गरिएको छ-” एउटा गाडी जुन झुण्डेको हुन्छ र त्यसलाई चलिरहेको केवलले तानिन्छ र यात्रुहरु लाई पहाडमा तल र माथितिर लैजान्छ।” सन् १८७३ मा बेलायती मुलका अमेरिकन एन्ड्र्यु स्मिथ हेलिडाईले अमेरिकाको सानफ्रान्सिस्को सहरमा केवलकारको आविष्कार गरेका थिए। धेरै केवलकार भएको देश दक्षिणी अमेरिकाको बोलिभिया हो।जहाँ केवलकार हरुको १० लाइन, ३६ स्टेसन र ३०.६ कि.मि. लम्बाई छ। संसारको सबभन्दा लामो केवलकार लाइन भएको देश भने (होन थोम) भियतनाम हो।जसको लम्बाई ८ कि.मि. छ।
भविश्यमा कोरोना कालको समाप्ती सँगै चलपहल बढाउनै पर्ने उद्योगको नाम पर्यटन उद्योग हो। प्रकृति र मानव निर्मित संरचना अवलोकन गर्न मानिसहरु एक ठाउँबाट अर्को ठाउँ जाने गर्दछन्। विद्युतिय शक्तिले चल्ने मानव निर्मित पर्यटकिय एक साधन केवलकार पनि हो। लेक-बेँसिको सुसम्बन्ध र दिगो पर्यटनको आधार खडा गर्न केवलकारले सघाउनेछ। नेपालको सन्दर्भमा मनकामना, चन्द्रागिरी, कालिन्चोक सन्चालन भैसकेका केवलकार हुन् भने मुक्तिनाथ, पाथिभरा, धुलिखेल-नाला-नगरकोट तथा अन्य चित्र कोरिंदै गरेका केवलकार हुन्। यो आलेख भने काठमाडौँ देखि करिब ४५ कि.मि. पुर्व काभ्रे जिल्ला स्थित पाँचखाल उपत्यकामा बेँसी र लेकलाई केवलकारै-केवलकारले जोड्ने परिकल्पना मात्र हो।
पाँचखाल उपत्यका कृषिको राजधानी हो। त्यसैले ‘पाँचखाल नगर-कृषि शहर’ पनि भनिन्छ। यो उपत्यका पश्चिममा धुलिखेल, नाला र नगरकोट, दक्षिणमा फुलबारी, उत्तरमा थुम्का र मण्डन तथा पुर्वमा पलान्चोक र तिमाल डाँडा हरुले घेरिएको छ। यसको मैदानी वेँसी भुभाग समुन्द्र सतहबाट ९३७ मि. उचाईमा रहेको छ। यस उपत्यकाको मध्य भुभाग हुँदै दक्षिणबाट उत्तरतर्फ अरनिको लोकमार्ग गएको छ। अहिले आएर उपत्यकाकै केन्द्रविन्दुको रुपमा तामाघाट बजार उदाएको छ। पाँचखाल उपत्यकामा पलान्चोक भगवती, दुधेश्वर, गुप्तेश्वर गुफा, कोट देवि भँवरकोट, अनेकोट भ्युटावर, तिमालडाँडा, फुलबारी डाँडा, सुलिकोट मण्डन, सुनकोसी किनार आदि पर्यटकिय स्थान हुन्। यहाँ विभिन्न जातजातिका मानव समुदायको बसोबास भएको हुँदा विभिन्न भेषभुषा, खानपान, बोलिचाली, रहनसहन, पर्व, जात्रा, चाडबाडहरु सँग साक्षात्कार हुन पाइन्छ। यो प्राकृतिक, धार्मिक, सांस्कृतिकका साथै कृषि पर्यटनका लागि पनि महत्वपुर्ण स्थान हो। यहाँका अग्ला डाँडाहरुबाट सुन्दर हिमाली दृष्य, पहाडी भिरालोपन र बेँसिका हरियाली फाँटहरु एकसाथ देखिन्छ।
तामाघाट बजारबाट पुर्व दिशामा देखिने पलान्चोक डाँडामा अवस्थित पलान्चोक भगवती मन्दिर राजा मानदेवको पालामा बनेको मानिन्छ। भगवती मध्येकै जेठी मानिने पलान्चोक भगवती पत्थरमा कुँदिएकी, ३ फिट अग्लि र कालो रङले सजिएकी छन्। देवि भगवती बुद्व र हिन्दु धर्मावलम्बीका आस्था कि केन्द्र हुन्। अरनिको लोकमार्गमा पर्ने लामिडाँडा बजारबाट ९.४ कि.मि. दुरिमा पलान्चोक भगवती मन्दिर रहेको छ। यहाँ मंगलबार र शनिबार दर्शनार्थीको भिड लाग्छ। भगवती शक्तिकी देवि भए पनि शान्त र प्रेममय भावले भक्तहरुलाई आशीर्वाद दिइरहेकी मुद्रामा देखिन्छिन्। यहाँ मानिसहरु धार्मिक आस्था र खुल्ला सुन्दर हिमाली, पहाडी र फाँटका दृष्यपानका लागि जाने गर्दछन्। यहाँ होटल र होमस्टेहरुको राम्रो ब्यवस्था छ।
भविष्यमा पाँचखाल उपत्यकामा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढाउन बेँसी र लेकलाई जोड्न सकिने गरि केवलकारको संजाल तल दिइएको छ।
क्र.स केवलकार
१. शिखरपुर-आँपघारी-पलान्चोक भगवती (१५६३ मि.)
२. अनेकोट बेँसी-अनेकोट भ्युटावर(११५० मि.)-नगरकोट(२१९५ मि.)
३. तिनपिप्ले-फुलबारी-नवोबुद्व(१७५० मि.)
४. बोहोरेदोभान-तिमालडाँडा (१८९० मि.)
५. जिरोकिलो-सुलिकोट मण्डन
६. दोलालघाट-पलान्चोक भगवति (१५६३ मि.)
७. काफ्लेडिही-कोटदेवी भँवरकोट(११०० मि.)-धुलिखेल(१५५० मि.)
पाँचखाल उपत्यकाको पहिलो केवलकारको रुपमा शिखरपुर-आँपघारी-पलान्चोक भगवती केवलकार निर्माण गर्न सकिने छ। यश केवलकारमा ३ स्टेसन रहनेछन्। पलान्चोक डाँडाको स्टेसनमा दोलालघाट बाट केवलकारको लाइन ल्याएर पनि जोड्न सकिनेछ। यसरी शिखरपुरबाट मन्दिर जान केवलकार चढेको यात्री भगवतिको दर्शन गरि जलबिहारका लागि दोलालघाट पनि सजिलै झर्न सक्नेछ। अनेकोट बेँसिको स्टेसनबाट उकालो लागेको यात्री अनेकोट भ्युटावरमा झर्न सक्नेछ वा नगरकोटै पुग्न सक्नेछ। यस केवलकारमा पनि ३ स्टेसन रहने छन्। तिनपिप्लेबाट उकालिँदै गएको केवलकार फुलबारी डाँडामा केहि समय रोकिने छ। त्यसपछी नवोबुद्व सम्म पुग्ने छ। यस केवलकारमा पनि ३ स्टेसन रहनेछन्। बोहोरे दोभानबाट उकालिएको केवलकार तिमाल डाँडा पुग्नेछ। बौद्व संस्कृती र बोधी बृक्षको धनी तिमाल डाँडा बाट हिमाली र पहाडी दृश्यावलोकन पनि गर्न सकिनेछ। यस केवलकारमा भने दुई स्टेसन रहनेछन्। जिरो किलोबाट सुलिकोट मण्डन जाने गरि पनि केवलकार बनाउन सकिनेछ। यस केवलकारमा दुई स्टेसन रहनेछन्। यस केवलकारले मण्डन भेगको विकासमा टेवा पुर्याउने छ। काफ्लेडिही बाट कोटदेवी भँवरकोट हुँदै धुलिखेल सम्म केवलकार बनाउन सकिनेछ। यस केवलकारमा ३ स्टेसन रहनेछन्। यस केवलकारले पाँचखाललाई जिल्ला सदरमुकामसँग जोड्ने छ। धुलिखेल बाट नाला हुँदै नगरकोट पुग्ने केवलकारको बारेमा भने अघिल्लो आलेखमा वर्णन गरि सकिएको छ।
नेपालमा विद्युत उत्पादन वृद्वी सँगै भविष्यमा केवलकार मनोरन्जनका साथै वैकल्पिक यातायातको साधन पनि हुन सक्नेछ। यो सफा उर्जाले चल्ने हुँदा वातावरण प्रदुषित गर्ने छैन। पाँचखाल उपत्यकामा निर्माण हुने यी केवलकारहरुले व्यापक पर्यटकिय चहलपहल बढाउने छन्। मानविय चहलपहलले आयआर्जनमा रुपान्तरणकारी भुमिका खेल्नेछ। होटेल र होमस्टेहरु बहुतै खुल्नुका साथै व्यापार ब्यवसाय फस्टाउने छ। यी केवलकारहरु निर्माण गर्न सरकारको सहजीकरण र निजि क्षेत्रको लगानी अती आवश्यक छ। सरकार र उद्योग ब्यवसायिहरुले यतातिर पनि ध्यान दिने हो कि?
अन्तिममा,
लेक-वेँसी सुसम्बन्ध दिगो पर्यटनको आधार
पाँचखाल उपत्यकामा केवलकारै-केवलकार!
आन्तरिक र बाह्य पर्यटकलाई उपहार।
(लेखक पुर्वशिक्षक तथा विकास परिकल्पनाकार हुन्।)
प्रतिक्रिया दिनुहोस