सिताराम शिपखान
नेपालमा बंगालको खाडीबाट उठ्ने मनसुनको आगमन सँगै वर्षात शुरु हुन्छ। असार, साउन र भदौ अत्यधिक वर्षात हुने महिनाहरू हुन्। यिनै महिनाहरुमा माटो कमलो हुन्छ । यस बेला फूल, फलफूल, बन्य ,तरकारी र धानबालीका विरुवाहरु रोप्यो भने सजिलै सर्छ । त्यसैले यी तीन महिनाहरू वृक्षारोपणका पनि महिनाहरू हुन् । मानिस र प्रकृतीको नजिकको संबन्ध छ ।
मानिसले विकास गर्दै जाँदा प्रकृती भत्काउने काम गरेको छ । अझ सडक खन्दा त प्रकृतीको दोहोलो काटेको छ । खेत,वारी, पाखो र भिर, जंगल र पहाडमा डोजर नाचेको छ । यसले भुक्षय, पहिरो, बाढी र प्राकृतिक असन्तुलन निम्त्याएको छ।चराचुरुङ्गी र बन्यजन्तुहरुको बास स्थान उखेलिएको छ।त्यसैले यस आलेखमा भने पाखो, नदी र सडक किनारमा वृक्षारोपण गर्दै प्रकृतिको पुनःस्थापना गर्नु पर्ने सवाल उठाइएको छ।
नेपाली बृहत शब्दकोशमा वृक्षारोपणको अर्थ यसरी दिइएको छ – (१) उजाडिँदै गएको पाखापखेरा र गाउँ, सहरनजिकका भागहरुलाई हरिलो भरिलो बनाउने र जलवायुका दृष्टिले स्वास्थ्यप्रद र अनुकुल बनाउन विभिन्न जातका वृक्ष लगाउने काम। -(२) भूक्षप रोक्न र दाउरा, घाँसपातको काम चलाउन विभिन्न किसिमका बोटविरुवा लगाउने काम ।
वृक्षारोपणको इतिहासका पाना पल्टाएर हेर्दा प्राचीन काल २३००० वर्ष पुरानो मानिन्छ । आधुनिक कालमा भने बेलायतमा सन् ११५४ मा बगैंचा बनाउन शुरुवात गरिएको थियो । नेपालमा राजा जयस्थिती मल्लको पालामा (सन् १३८० – १३९५) बाटो, कुवा, धारा, चोक, चउर आसपास वृक्षारोपण गराइएको थियो । वृक्षको हेरचाह गर्न मालि नियुक्त गरिएको थियो । सन् १७९२ मा अमेरिकाको फिलाडेल्फीया सहरका ५ वटा चोकमा लहरेपिपल रोपिएको थियो। त्यसपछि अमेरिकाका अन्य सहरमा पनि वृक्षारोपण सर्दै गयो ।
सन् १८९८ मा ऐवेनेजर हावर्डले ग्रीन सिटीको विचार ल्याए | इरानमा सन् १९१४ – १९१८ मा वृक्षारोपण गरिएको थियो । इरान अघि रोमन र ग्रीकहरुले रुख रोप्न सुरु गरेको पनि मानिन्छ । बेलायतमा साँधुरो सडक स्विकार्य छ तर रूख काट्न मनाही छ । त्यहाँ रुखहरूले प्राकृतिक वारको काम गरेका हुन्छन्। लण्डन सहर त जङ्गलमा हराएको सहर जस्तो देखिन्छ। अष्ट्रेलियाको क्यानवेरा सहरमा 100 वर्ष अघि गरिएको व्यवस्थित वृक्षारोपणले अहिले प्रशस्त वादावरणिय र सामाजिक लाभ दिन थालेको छ । चीनको तिब्बत प्रान्तको लासा शहर मा भने टेको दिएर ठुला बोट वृक्षारोपण गर्दै रातारात हरियाली कायम गरिन्छ ।
शुरु-वृक्षारोपण
पोहोर साल यसै वेला तिर पाँचखाल न पा. वडा नं. ३ लामिडिही गाउँमा अग्लेकोट देखि चारपिप्ले सम्म सडक किनार मा वृक्षारोपण गरिएको थियो। त्यहाँ फूल प्रजातिका करिब २०० बिरुवाहरु रोपिएको थियो । उक्त कार्यक्रमका लागि लव ग्रीन नेपाल पुरै टिमको पूर्ण सहयोग रहेको थियो। स्थानिय सेतीदेवी महिला समूहले जिम्मेदारी वहन गरेको थियो भने लामिडिहीवासीको वाक्लो उपस्थिती थियो । उक्त वृक्षारोपणको अगुवाई वडाध्यक्ष सुन्दर अधिकारी र कार्यक्रमको उद्घाटन नगर उपप्रमुख लक्ष्मी दनुवारले गर्नु भएको थियो।
उक्त कार्यक्रममा पत्रकार इश्वरि राजकुमार मैनाली र शिक्षक जयराम अधिकारी संगै म पनि सहभागी भएको थिएँ र सर्वमंगला परिसर पट्टी १ बोट विरुवा रोपेको थिए। त्यस कार्यक्रम भन्दा पहिल नै भएको मिटिङमा वृक्षारोपणको महत्व बारेमा विचार प्रदान गर्दै सहभागी भएको थिएँ। पाँचखाल न.पा. का वडा नं. २, ३, ४,५, ६, र ७ का वडाध्यक्षहरुसँग सडक किनारमा वृक्षारोपण बारेमा व्यक्तिगत छलफल चलाएको थिएँ । उहाँहरू सकारात्मक हुनुहुन्थ्यो । सम्भवत कोसेना महामारीका कारण अन्य वडा हरुमा कार्यक्रम हुन सकेन। पूर्व प्रअ दामोदर अधिकारी सर सँग भने वृक्षारोपणको बारेमा बेलाबेलामा छलफल भैरहन्थ्यो। जलढुङ्गे-लामिडिही-रगेले यश सडकको बाँकी भुभागमा भने क्रमस वृक्षारोपण गर्दै जानु पर्ने देखिन्छ ।
वर-पिपलको पक्षमा
प्राकृतिक ढङ्गले आफैं उम्रिएका,पुर्खाले रोपेका वा चराचुरुङ्गीले एक ठाउँ बाट अर्को ठाउँमा बीज ओसारेर उम्रीएका वर-पिपलका बोटहरू ठुलो दिर्घजीवी वृक्ष हुन् । यिनीहरू प्रशस्त अक्सिजनका स्रोत हुन् । पूर्खाहरूले वर-पिपलको वोट वरिपरी चौतारी चिन्ने चलन चलाएका थिए । जहाँ बटुवाले विश्राम लिन सक्छ, र सामाजिक कार्यका लागि, जमघट हुन सक्छ । यिनै वृक्षहरूमा चराचुरुङ्गीहरूले बास पनि बनाएका हुन्छन् । अहिले आएर हामीहरुले सडक विस्तारका क्रममा वर- पिपल र चौतारो मास्ने काम गरेका छौ । यसले हाम्रो प्राकृतिक वातावरण र सामाजिकता विगारेको छ । त्यसैले साँधुरो सडक स्विकार्य छ तर वर- पिपल र चौतारो मास्नु हुँदैन ।
दुईटा नमुना वृक्षारोपण
अरिनिको राजमार्गमा पर्ने लामिडाँडा बजारबाट छुट्टिएको र पलाञ्चोक भगवती हुँदै कोशीदेखा सम्म लम्बिएको सडकको लम्बाई १७.४ कि.मी. छ। यो स्तरउन्नती गरिएको र पलाञ्चोक भगवतीका कारण चल्तिको सडक हो । यस सडकले पाँचखाल नगरका ४,७,८, ९, ११ र १३ वडा का विभिन्न बस्तिहरु समेटेको छ| लामिडाँडा, जोरपिप्ले, होक्से, पलान्चोक, खरेलथोक हुँदै कोशीदेखा पुग्ने यो सडक किनारमा वृक्षारोपण गर्न उक्त भेगका जनसमुदायलाई परिचालित गर्न सकिनेछ । आवश्यक परे उक्त भेगमै रहेको विरेन्द्र शान्ति तालिम केन्द्रको पनि सहयोग लिन सकिने छ। यस सडकमा वृक्षारोपण गर्दा वस्ती नजिक फूल, बारी र पाखो नजिक फलफूल र वन नजिक वन्य प्रजातीका बोट विरुवा रोप्न सकिनेछ। यस्तै गरी स्तरउन्नती गरिएका अन्य सड़क किनारमा पनि वृक्षारोपण गर्दै जान सकिने छ ।
अचेल हाम्रा नदि र खोलाहरु सडक, घर र खेतले मिचिंदै गएका छन् । वर्षातको बेला बाढी उर्लेर सडक, घर र खेत बोकेर हिँडेका घटनाहरू बढ्दै छन् । भुक्षय, नदीकटान र बाढी नियन्त्रणका लागि उपायहरू सोच्नै पर्ने बेला आएको छ। त्यसका लागि एउटा उपाय नदी किनारमा वृक्षारोपण हुन सक्छ । पाँचखालको सन्दर्भमा दोभानापाटी देखि बोहोरे दोभान सम्म झिकु खोला किनारमा वृक्षारोपण गर्न सकिने छ । यस कार्यमा खेतीवाला र नजिकको जनसमुदायको सहयोग जुटाउन सकिने छ । नदी किनारमा वृक्षारोपण गर्दा दुई लाइनको वृक्षारोपण गर्न सकिने छ।एक लाईनमा झारपात वा बुट्यान र अर्को लाईनमा ठुला प्रजातिका उत्तीस, सिसौ, बाँस जस्ता बोट विरुवा रोप्न सकिनेछ। यस्तै गरी अन्य खोला र खोल्साहरूमा पनि वृक्षारोपण गर्न सकिने छ ।
नेपालको सामुदायिक वनमा वन्य प्रजातीका, कार्यालय विद्यालय र अस्पताल परिसरमा फुल, फलफूल र वन्य प्रजातीका बोट विरुवा रोपिने चलन पुरानै हो । निजी पाखो र वारिका डिलमा आँप, कागती, अनार ,लिची, कटहर, केरा, मेवा, नास्पाती जस्ता फलफुलका बस्ती विरुवा रोपेर हुर्काइ आय आर्जन गर्न सकिन्छ। बस्ती नजिक स्तर उन्नती हुँदै गएको सडक किनारमा इन्द्रकमल, दुधकमल, पारिजात, गुलाफ, लालुपाते,असारे, घन्टेफूल जस्ता स्थानिय र आयातित अन्य बटुवर्षिय प्रजातीका फूलका बिरुवा रोप्न सकिने छ ।
स्तर उन्नति नभएका सडकका किनारमा भने सयपत्री, मखमली, गोदावरी जस्ता एक वर्षे विरुवा रोप्न सकिनेछ। जसबाट दशैँ तिहारमा चाहिने फुलको आवश्यकता पूर्ति हुनाका साथै आय आर्जन गर्न पनि सकिने छ । त्यसका लागि नजिकको समूदायलाई परिचालित गर्नु पर्नेछ । पाखो, नदी र सडक किनारमा पहिल्यै देखि रहेका रुखविरुवाहरुलाई भने यथास्थिती मै राखी रुखविरुवा नभएका खाली स्थानमा मात्र वृक्षारोपण गर्नुपर्दछ। पाँचखाल उपत्यकालाई हरियाली बनाउन सहयोगी संस्थाहरूको ठूलो हात छ। ती संस्थाहरु मसलावाली विकास केन्द्र ,वन नर्सरी, लब ग्रीन नेपाल र प्राइभेट नर्सरी हरु हुन् । यिनिहरूले विरुवाहरू उत्पादन गरेर वितरण गर्नुको साथै प्राविधिक सहयोग पनि गर्दै आएका छन्।
वृक्षले माटोवाट खाना र पानी प्राप्त गरी प्राणी जगतलाई अथाहा सेवा दिइरहेको हुन्छ। यसले अक्सीजन बढाउने, कार्बन सोस्ने, प्राकृतिक इकोसिस्टम चलाउने, चराचुरुङ्गी र पुतलीहरुलाई बास दिने, मह उत्पादनमा सहयोग गर्ने ,रमणिय स्वच्छ सिर्जनात्मक वातावरण दिने, मानसिक रोग निवारणमा सघाउने, आयु वृद्धि गराउने, भुक्षय रोक्ने, वाढी नियन्त्रण गर्ने, वातावरणिय शिक्षा दिने, सुन्दरता थप्ने, जग्गाको मूल्य बढाउने, सफा हावा दिने, व्यवसायिक गतिविधी बढाउन प्रोत्साहन दिने आदि कामहरु गरी मानिसहरुलाई फाइदा पुर्याइ रहेको हुन्छ।
यसपालि हालसालै मैले त फलफूलका ६ बिरुवा आफ्नै पाखोमा रोपी सकें । हजुरहरु पनि रोप्नु हुन्छ कि ? तर नदी र सडक किनारमा भने रोप्न पाएको छैन । पाँचखाल नगरका १३ वडाहरू मध्ये कहीँ पनि वृक्षारोपणको कार्यक्रम आयोजना गरेर निम्तो दिनु भयो भने १ बोट रोप्न टुप्लुक्क आइ पुग्नेछु। हजुरहरुको जो विचार ।
अन्तिममा,
…पाखो, नदि, सडक किनार वृक्षारोपण गरौँ
शहर, गाउँ, टोल, बस्ती, हरियालीले भरौं
एक सय बीस वर्ष जीउने प्रयास गरौं
आफ्नै फोक्सोलाई हामी अज्सिजनले भरौं।
(लेखक पूर्वशिक्षक तथा विकास परिकल्पनाकार हुन् । )
-सिताराम शिपखान
पाँचखाल,काभ्रे
प्रतिक्रिया दिनुहोस