राजेश देशप्रेमी
गत साता नेपालको काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा करिब ४० वर्षीय एक पुरुषले आत्महत्या गरे । ती व्यक्ति शिक्षित थिए, स्नातकोत्तर तह (मास्टर डिग्री) सम्मको अध्ययन पूरा गरेका थिए। उनी विभिन्न कलेजहरूमा शिक्षकको रूपमा काम गर्दै राम्रो आम्दानी गरिरहेका थिए। परिवार र समाजमा सम्मानित र सफल देखिने यी पुरुष भित्री रूपमा भने गहिरो मानसिक तनावमा रहेछन् । उनले आफ्ना समस्याहरू र चुनौतीहरू कसैसँग बाँड्न सकेनन् र अन्ततः आत्महत्या गर्ने कठिन निर्णय लिए। यस घटनाले समाजमा विद्यमान गहिरो समस्यालाई उजागर गर्छ कि पुरुषहरूलाई समाजमा बलियो र आत्मनिर्भर रहनुपर्ने दबाब।
नेपालमा लोग्ने मान्छे भएर रुनु हुँदैन’ भन्ने पुरातन सोच गहिरो रूपमा गढिएको छ। यसले गर्दा पुरुषहरूले आफ्नो दुःख र पीडा खुलस्त रूपमा व्यक्त गर्न नसक्ने अवस्था सिर्जना गरेको छ। समाजले पुरुषहरूलाई मानसिक र भावनात्मक रूपमा बलियो देखिनुपर्ने अपेक्षा गर्छ, तर वास्तवमा सबै पुरुषहरू त्यति सबल हुँदैनन्। उनीहरू समस्याहरूको सामना गर्न नसक्ने अवस्थामा पुग्दा समेत सहयोग खोज्न लाज र डरले दबाउन पुग्दछन् । २०७८/७९ आर्थिक वर्षमा नेपालमा ६,८३० जनाले आत्महत्या गरेका छन्, जसमा करिब ५६ प्रतिशत पुरुष थिए। पछिल्लो दशकमा आत्महत्याको दरमा ७२ प्रतिशतले वृद्धि भएको छ ।
पुरुष आत्महत्याको समस्या नेपालमा मात्र होइन, विदेशमा पनि ठूलो चुनौती बनेको छ। विभिन्न पेशामा आवद्ध पुरुषहरू, चाहे स्वदेशमा होस् वा विदेशमा, मानसिक तनावको चपेटामा परेर आत्महत्या गरिरहेका छन्। हालै लागू गरिएको नेपालको देवानी संहिता, २०७४ ऐनले पुरुषहरूमा थप मानसिक दबाब सिर्जना गरेको छ भन्ने मान्यता पनि व्याप्त छ। नयाँ कानुनमा सम्पत्ति अधिकार र सम्बन्ध विच्छेदसम्बन्धी प्रावधानहरू कडा भएको र महिलाहरूलाई कानुनी रूपमा बलियो बनाएको भनाइ छ। यद्यपि, यो विषयमा गहन अनुसन्धान आवश्यक छ, र अहिले यो केवल केही मानिसको अनुमानमात्र हो। नेपालमा आत्महत्याको अन्य कारणहरूमा आर्थिक समस्या, बेरोजगारी, र पारिवारिक कलह पनि पर्छन्। साथै, मदिरा र लागुऔषधको प्रयोग पनि आत्महत्याको प्रमुख कारक बन्न पुगेको छ।
धेरै पुरुषहरूले तनाव घटाउनका लागि मदिरा र लागू पदार्थको सहारा लिने गर्छन्, जसले समस्या झन् गम्भीर बनाउँछ। देशभर मानसिक स्वास्थ्य सेवाहरूको अभाव छ, विशेषगरी ग्रामीण क्षेत्रमा। तर समस्या केवल ग्रामीण क्षेत्रमा मात्र सीमित छैन। नेपालका प्रमुख सहरहरूमा पनि मानिसहरू मानसिक स्वास्थ्यबारे पर्याप्त जानकारी राख्दैनन्। मानसिक स्वास्थ्य संस्थाहरूको सीमित पहुँच र जनचेतनाको कमीले गर्दा मानिसहरू आफ्नो समस्याबारे परिवार वा समाजसँग खुल्न चाहँदैनन्। उनीहरूलाई डर हुन्छ कि उनीहरूलाई ‘मानसिक रूपमा अस्थिर वा पागल’ भन्ने आरोप लाग्न सक्छ र त्यसपछि उनीहरूप्रति व्यवहार फेरिन सक्छ। यस्तो डरले गर्दा उनीहरू आफ्नो अवस्था लुकाउँछन् र उचित परामर्श पाउनबाट वञ्चित हुन्छन्।
नेपालमा केही सकारात्मक अभ्यासहरू पनि भएका छन्, जसलाई थप विस्तार गर्न आवश्यक छ। विभिन्न गैरसरकारी संस्थाहरूले आत्महत्या रोकथामका लागि परामर्श सेवा र सहयोगी कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। सरकारी अस्पतालहरूमा पनि मानसिक स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराउने प्रयास भइरहेको छ। यस्तै, स्थानीय तहहरू, केही विद्यालय र कलेजहरूले मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू समावेश गरेर नागरिकलाई सचेत गराउन थालेका छन्।
यस्ता कार्यक्रमहरूले मानिसहरूलाई आत्महत्या रोक्नका लागि सचेत बनाउने र सहयोगको वातावरण सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। तर नेपालमा थप प्रभावकारी कदमहरू लिन जरुरी छ। संसारभरका उदाहरणहरू हेर्दा, सफल देशहरूले सार्वजनिक जनचेतनाका अभियानहरू सञ्चालन गरेर मानसिक स्वास्थ्यबारे सचेतना बढाएका छन्। कार्यक्षेत्रमा मानसिक स्वास्थ्य कार्यक्रम लागू गरिएको छ, जहाँ कर्मचारीहरूलाई नियमित परामर्श र सहयोग प्रदान गरिन्छ। स्कुल र कलेजहरूमा मानसिक स्वास्थ्य शिक्षा अनिवार्य गरिएको छ, जसले मानिसहरूलाई प्रारम्भिक उमेरदेखि नै मानसिक समस्याहरूलाई चिन्न र समाधान गर्न मद्दत पुर्याउँछ। साथै, गोप्य परामर्श सेवा र २४-घण्टा हेल्पलाइन सेवा उपलब्ध गराइएका छन्, जसले मानिसहरूलाई सुरक्षित रूपमा सहयोग खोज्न प्रेरित गर्छ। नेपालले पनि यस्ता प्रभावकारी उपायहरू अपनाउन आवश्यक छ।
आत्महत्या रोकथामका लागि देशभर चेतनामूलक अभियानहरू सञ्चालन गर्नुपर्छ। मानिसहरूले आफ्नो समस्या खुलस्त रूपमा व्यक्त गर्न र सहयोग खोज्न सहज महसुस गर्ने वातावरण बनाउनुपर्छ। मानसिक रोगीहरूलाई हेला हैन माया गर्नुपर्छ । मानसिक स्वास्थ्य सेवाहरू सुलभ र सर्वसाधारणको पहुँचमा हुनुपर्छ। कार्यालय र शिक्षालयहरूमा मानसिक स्वास्थ्य कार्यक्रम लागू गर्नुपर्छ र समुदायस्तरमा परामर्श सेवाहरू उपलब्ध गराउनुपर्छ। लागू पदार्थको दुरुपयोग रोक्न लक्षित कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ र मानसिक स्वास्थ्य र लतको उपचारलाई एकसाथ अघि बढाउनुपर्छ। आत्महत्या रोकथामका लागि कानुनी संरचनाहरूलाई पनि पुनरावलोकन गर्न आवश्यक छ। हालको कानुनले ल्याएको असन्तुलनलाई सम्बोधन गर्दै सबैका लागि न्यायपूर्ण र सहयोगी कानुनी संरचना तयार गर्नुपर्छ, जसले कुनै पनि वर्गमा अनावश्यक तनाव सिर्जना नगरोस्।
आत्महत्या रोक्न व्यक्तिगत प्रयास मात्र पर्याप्त हुँदैन; यसका लागि संस्थागत र सामूहिक प्रयास अनिवार्य छ। परिवार, समुदाय, र सरकारले सबै मिलेर मानसिक स्वास्थ्यको क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता छ। जीवन अमूल्य छ, र प्रत्येक व्यक्तिले आफ्नो जीवनलाई अर्थपूर्ण र सुखद बनाउन पाउनुपर्छ। समाजको समर्थन र सहयोग पाउँदा मात्र कुनै पनि पुरुष होस् या महिला जोसुकैले आफ्नो जीवनलाई नयाँ दिशा दिन सक्नेछन्। अनि मात्र स्वस्थ, न्यायपूर्ण र शान्त समाजको परिकल्पना गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस