बज्र कुमार राई
तिम्रो सम्झनामा मेरो आँसु पिउँदा-पिउँदै पिउन नसक्ने भएछु
जिउँदा-जिउँदै तिम्रो नाममा जिन्दगी, म जिउन नसक्ने भएछु
स्वर अनायासै लर्बरायो, तिम्रो प्रेमको बखान गर्दा-गर्दै
म मदहोशीमा तिम्रो तस्वीर हेरेर बोल्नै नसक्ने भएछु
मन यसै भक्कानियो, तिम्रो कल्पनामा खेल्दा-खेल्दै
म आँखा पुछेर हरेक पल्ट, दिलको ढोका खोल्नै नसक्ने भएछु
बन्द भए भट्टीपसल, साथीहरुले छोडी गएछन्
बाटो तिर्मिर्याएर पाईलामा, गन्तव्यमा म पुग्नै नसक्ने भएछु
रात निस्पट अध्यारो भएपछि, शहर मस्त निदाएछ
म हिँड्दै गरेको गल्लीमा बर्बराउँदै, सुतनै नसक्ने भएछु
त्यहि रातमा भेट्नेहरुले मरेको ठानेर, तर्सदै हिंडेपछि
भूत लखेट्ने कुकुरबाट, म टोक्नै नसक्ने भएछु
भोलिको पहिलो झिसमिसेमा, कक्रिएर ब्युँझेपछि
लाज शरमको पोको लुकाई, म भाग्नै नसक्ने भएछु
कसले बुझ्छ मेरो कथा, थर न ठेगाना भएपछि
त्यै भट्टीमा भोलिबाट, म एक्लै मात्र नबिक्ने भएछु
बिहानी भो, दिन आयो, दिन गयो फेरी रात आएछ
त्यही रातमा फेरी म तिमीबिना बाँच्नै नसक्ने भएछु
प्रतिक्रिया दिनुहोस