नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ ।
ढकालको सैनामैना नगरपालिका–७ स्थित निवासमा गएराति ३ वटा बम विस्फोट गराइएको हो । इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी भीमलाल भट्टराईले ढकालको निवासमा गएराति बम विस्फोट भएको पुष्टि गरे ।
विस्फोटको समयमा ढकालका बाबा–आमा र पत्नी घरमा सुतिरहेका थिए । सचेतक ढकाल भने घरमा थिएनन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी केही समयदेखि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।
प्रमुख सचेतक ढकाल प्रदेशसभाको गाडी खरिद अनियमितता प्रकरणमा मुछिएका पात्र हुन् । बाइक चढेर आएका ३ जना बम हानेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपि, उनीहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ । डीएसपी भट्टराईलेले घटनाबारे थप अनुसन्धान भइरहेको अनलाइनखबरलाई बताए ।
प्रतिक्रिया दिनुहोस