२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

महराले राजिनामा दिए पछि सभामुखको लागि चलखेल सुरु


२६४१ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १५, बुधबार मा प्रकाशित ५ साल अघि
  • कृष्णबहादुर महराले राजीनामा दिएसँगै प्रतिनिधि सभाको सभामुख पद रिक्त भएको छ। बलात्कारको आरोप लागेपछि महराले मंगलबार पदबाट राजीनामा दिएका हुन्।अब प्रतिनिधि सभाले नयाँ सभामुख चयन गर्नु पर्ने हुन्छ। सभामुखको राजीनामापछि उपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्नेछिन्। उनले नै नयाँ सभामुखको निर्वाचनको मिति तोक्नेछिन्।

    अहिले संघीय संसदको अधिवेशन अन्त्य भएको छ। नयाँ अधिवेशनले नै सभामुख चयन गर्नु पर्नेछ। नयाँ सभामुखको निर्वाचन कहिलेसम्म गरिसक्नुपर्छ भन्ने समय संविधान र प्रतिनिधि सभाको नियमावलीमा तोकिएको छैन। तर नयाँ आम निर्वाचनपछिको अवस्थामा भने प्रतिनिधि सभाको पहिलो बैठक बसेको पन्ध्र दिनभित्र सभामुख निर्वाचित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।उपसभामुखले सभामुख चयनका लागि निर्वाचनको मिति तोकेकाे अवस्थामा उनले निर्वाचनको दिन बैठकको अध्यक्षता गर्न पाउने छैनन्। संसदको जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन्।

    उपसभामुखमा तुम्बाहाम्फे कायम रहँदा नेकपाले सभामुख पदमा उम्मेद्वारी दिन पाउने छैन। उनी हाल नेकपाको तर्फबाट उपसभामुख छिन्। संविधानले सभामुख र उपसभामुख फरक-फरक राजनीतिक दलको हुनै पर्ने प्रावधान गरेको छ।यदि उपसभामुख आफैं सभामुख उम्मेद्वार बनेर विजयी भए उपसभामुख पद रिक्त हुनेछ। लगत्तै उपसभामुखका लागि पनि निर्वाचन गर्नुपर्ने हुन्छ।

    नेकपाले सभामुख पद आफैंसँग राख्न चाहे पहिला उपसभामुख तुम्बाहाम्फेले राजीनामा गर्नुपर्ने हुन्छ। उनले राजीनामा गरेको अवस्थामा मात्र नेकपाले सभामुखमा उम्मेद्वारी दिन सक्नेछ। यस्तोमा उपसभामुख पद तुम्बाहाम्फेले गुमाउने छन्।तत्कालीन एमाले र माओवादीबीच शक्ति बाँडफाँडका क्रममा माओवादीले सभामुख पद प्राप्त गरेको थियो। अहिले पनि पूर्वमाओवादीले सभामुख पदमा दाबेदारी दिए उपसभामुख तुम्बाहाम्फेको पद गुम्नेछ।

    महराले सभामुख पद गुमाएपछि पूर्वमाओवादी तर्फका देव गुरूङ, ओनसरी घर्ती लगायतका लागि सभामुख बन्ने बाटो खुलेको छ। कानुन पृष्ठभूमिका गुरूङ अहिले नेकपाका सचेतक छन्। पूर्वसभामुख भएका कारण ओनसरीको पनि सभामुख पदमा दाबेदारी छ। त्यस्तै नेकपा वृत्तमा पूर्वसभामुख तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ आफैं सभामुख बन्न चाहेको चर्चा पनि छ। नेम्वाङ अहिले नेकपा संसदीय दलको उपनेता छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार