पोखरा । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले जित पचाउन नसकेको बताएका छन् । पार्टी एकतामा जानुअघि चुनावको स्मरण गर्दै उनले जनताले दिएको विश्वासलाई कायम गर्न नसक्दा तत्कालीन माओवादी फुटमा पुगेको बताएका हुन् । शुक्रबार पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘जित पचाउन नसक्दा माओवादीको यो हालत भयो ।
पार्टी एकिकरणलाई पूर्णता दिन बाँकी नै भएपनि अनेक भ्रमका बीचमा पार्टी एकिकरण गरेको उनले दाबी गरे । पहिले बोलचाल पनि नभएको पार्टीको एकता हुन्छ भनेर कसैले पनि नसोचेको उनले सुनाए । ‘पहिला बोलचाल पनि नभएका साथीहरु एउटै विस्तरामा पनि सुत्न थाल्यौ,’ उनले भने । दुई कम्युनिष्टको एकिकरण नेपालको लागि महत्वपूर्ण रहेको उनले दाबी गरे । अब छिट्टै नेपाल समाजवादतर्पm लम्किदै जाने उनले बताए ।
कम्युनिष्टको एकता बुर्जवाहरुले भाँड्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले कसैसँग मागेर नभई लडेर देशमा संघीयता ल्याएको उल्लेख गरे । कम्युनिष्टहरुलाई विजय यात्राबाट कम्युनिष्टहरुले नै बद्मासी गरे मात्रै रोक्न सकिने बताउँदै प्रचण्डले गुटबन्दी र जनताको बीचमा जान कहिले पनि छोड्न नहुने उल्लेख गरे ।
कास्की २ मा हुन लागेको उपनिर्वाचनको प्रसङ्गमा उनले विद्याको लागि मात्र नभई सिंगो पार्टीको लागि उपनिर्वाचन महत्वपूर्ण रहेको सुनाए । उपनिर्वाचनले पार्टी एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यो अधिकारको सदुपयोग गर्न समेत कार्यकर्तालाई आग्रह गरे । ‘उपनिर्वाचनबाट देशभरिका गुटवाद, फुटवाद विरुद्धको एकता पनि अन्त्य हुने छ,’ उनले भने । पार्टी र राष्ट्रलाई नै उपनिर्वाचनले एकताबद्ध गर्ने उनको भनाई छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले विद्याको पछाडि पार्टी मात्र नभई सिंगो राष्ट्र नै लागेको र यो अवसर निकै कम मात्र भेटिने बताए । उपनिर्वाचनका लागि घर–घर, टोल टोलमा पुगेर मतदानतासँग भोट माग्न समेत उनले कार्यकर्तालाई निर्देशन दिए । नेकपाका कास्की अध्यक्ष कृष्ण थापाले अघिल्लो चुनावको मतान्तरमा ५ हजार बढी मत थपेर चुनाव जित्ने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस