काठमाडौं : कपिलवस्तुमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र वुद्धभुमि नगरपालिकाको ७ र १० वडा का १० जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० जनामध्ये ९ जना १८ देखि ३४ वर्षीय पुरुषहरु छन् । एक जनाको भनेर उमेर खुलेको छैन ।
नेपालमा हालसम्म संक्रमण देखिएका १२० जनामध्ये ३३ जना उपचारपछि निको भएर घर फर्केका छन् । अन्यको विभिन्न अस्पतालका आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस