२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

विगतमा संधि गर्दा कमजोरी गर्नेहरुले माफि माग्नु पर्छ -उपेन्द्र यादब


२२४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३१, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कालापानी, लिपुलेक र लिम्पियाधुरामा विवाद रहेको विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वि. सं. २०७१ मा पनि स्वीकार गरेको स्मरण गराएका छन् ।

    भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा संविधानको अनुसूची- ३ मा राख्ने संविधान संशोधनको समर्थन गर्दै उनले भारतसँग गरिएको महाकाली सन्धि पनि सच्याउनुपर्ने बताएका छन् ।

    पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका यादवले भने, ‘नेपाल-भारतको अधिकांश सिमांकन गर्ने कार्य सम्पन्न भएको छ । महाकाली र सुस्ताको विषय टुंगो लगाउन बाँकी रहेको छ । यी क्षेत्रमा विवाद रहेको कुरा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २०७१ सालमा नेपाल आउँदा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा स्वीकार गरिएको छ ।’

    त्यतिबेला विवादीत विषय परराष्ट्र सचिवको तहमा छलफल गरेर हल गर्ने भनिएकोमा त्यो हुन नसकेकोप्रति यादवले असन्तुष्टि जनाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधे, ‘विवादका विषय परराष्ट्र सचिवद्वारा हल गर्ने भनिएको थियो । त्यसको प्रयास किन भएन ? त्यो प्रयास कहाँ पुग्यो प्रधानमन्त्रीजी ?’

    सुगौली सन्धिभन्दा पछाडि हटेर सन् १९९६ मा महाकाली सन्धि गरिएकोप्रति यादवले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । भारतसँग महाकाली सन्धि गराउन भूमिका खेल्ने नेता प्रधानमन्त्री रहेको स्मरण गराउँदै उनले भने, ‘महाकाली सम्झौता गर्दाखेरि महाकाली नदीको अधिकांश भाग दुई नदीको सीमा नदी भएको स्वीकार गर्दै भनिएको छ । महाकाली सन्धिले सुगौली सन्धिलाई पछाडि धकेलेको छ । त्यो र यो सन्धि गर्दा के गरेका थियौं भन्ने जवाफ दिनुपर्‍यो ।’ महाकाली सन्धिमा नेपालको अहित भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वीकार गरेको बताउँदै यादवले प्रधानमन्त्री लगायतका नेताहरूले संसदमा माफी माग्नुपर्ने पनि माग गरेका थिए ।

    संसदमा संविधान संशोधन विधेयक आएपछि नेपाल-भारत सीमा सम्बन्धि प्रमाण खोज्न मन्त्रिपरिषद्ले विज्ञ समूह गठन गरेकोमा पनि यादवले असहमति जनाए । उनले प्रमाण खोजेर दाबी पेश गरेको भए सही हुन्थ्यो भन्ने धारणा राखे । विज्ञ समितिमा मधेसी समुदायका व्यक्तिलाई नराखेकोमा पनि उनले आपत्ति जनाए ।

    वैदेशिक मुलुकहरूसँग कूटनीतिक रूपमा बलियो बन्नक लागि आन्तरिक एकता बलियो बनाउन पनि यादवले सरकारसँग आग्रह गरेका छन् । नेपालले भारत र चीनसँग राम्रो सम्बन्ध राख्नुपर्ने उनको धारणा थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार